यस्तो छ रेकर्ड राख्न बनाइएको संसारकै लामो यात्रुवाहक रेल (तस्बिरहरू)

स्विट्जरल्यान्डले संसारकै लामो यात्रुवाहक रेल गुडाएर नयाँ रेकर्ड कायम गरेको छ। गत शनिबार स्विस रेलवेको १७५ औं वार्षिकोत्सवका अवसरमा गिनिज बुकमा रेकर्ड राख्न स्विट्जरल्यान्डमा संसारकै लामो यात्रुवाहक रेल गुडेको हो।

समाचार संस्था एपीका अनुसार १.९ किलोमिटर लामो उक्त रेलमा यात्रुहरू बस्न मिल्ने १०० वटा कोच थिए। जसमा ४ हजार ५ सय ५० जनाले बसेर यात्रा गर्न सक्थे।

गत  शनिबार उक्त रेलले स्विट्जरल्यान्डको हिमाली क्षेत्रमा एक घन्टा लगाएर २५ किलोमिटर लामो यात्रा पार गरेको छ। रेलले ४८ वटा पुल र २२ वटा सुरूङमार्ग पार गरेको थियो। सबैभन्दा लामो सुरूङमार्ग ६९८ मिटर लामो थियो।  रेलमा सात जना ड्राइभर र २१ जना प्राविधिकहरू थिए।

उक्त रेल बनाएको कम्पनी राइतियान रेलवेका सिइओ डाक्टर रेनाटो फासिआतीले स्विट्जरल्यान्डका हिमाली क्षेत्रमा रेलमा यात्रा गर्दाको सुन्दरता देखाउन पनि यो रेल बनाइएको बताएका छन्।

गिनिज बुकमा रेकर्ड दर्ता भएपछि अब उक्त रेलका डिब्बाहरू निकालेर नियमित रेलमा प्रयोग गरिने छन्।

सन् १९९१ मा बेल्जियममा १७३२.९ मिटर लामो र ७० कोच भएको रेल कुदाएर संसारको सबैभन्दा लामो यात्रुवाहक रेलको रेकर्ड राखेको थियो। उक्त रेल ६२.५ किलोमिटर गुडेको थियो।

सबै प्रकारका रेलहरूमा सबैभन्दा लामो रेलको रेकर्डचाहिँ अष्ट्रेलियाको नाममा छ। सन् २००१ मा अष्ट्रेलियामा ७.२४ किलोमिटर लामो मालवाहक रेल गुडेको थियो।


Facebook Comment


No ads found for this position