विश्वकपमा फुटबलकाे अन्तिम तयारी अवस्थामा किन हुदै छ विरोध ,पत्र लेखेर फिफाले भन्यो- फुटबलमा मात्र ध्यान दिनुस्

कात्तिक, काठमाडौं । विश्व पुटबलको सर्वोच्च निकाय फिफाले कतारमा हुने विश्वकपमा भाग लिने सबै ३२ टोलीलाई ‘फुटबलमा ध्यान केन्द्रित गर्ने’ समय आएको बताउँदै पत्र लेखेको छ ।

नोभेम्बर २० बाट कतारमा सुरु हुने विश्वकप फुटबल विभिन्न कारणले सुरूदेखि नै विवादित छ ।

कतारको समलिंगी कानून, मानवअधिकारको खराव अवस्था र आप्रवासी कामदारमाथिको व्यवहारका कारण आलोचना भइरहेको छ । यसबारे केही टिम र खेलाडीहरूले शान्तिपूर्ण विरोधको योजना बनाएका छन् ।

इङ्ल्यान्डका ह्यारी केन र युरोपेली टोलीका अन्य ९ कप्तानले ‘वान लभ’ आर्मब्यान्ड लगाउनेछन् ।

डेनमार्कले कतारको विरोध गर्न विश्वकपको लागि ‘टोन्ड-डाउन’ शर्ट लगाउनेछ । उनीहरूको किट प्रदायक हमेलले ‘हजारौंको ज्यान गुमाएको’ दाबी भइरहेको प्रतियोगितामा देखिने नचाहेको जनाएको छ ।

फ्रान्स साविक विजेता भए पनि पेरिस र अन्य फ्रान्सेली शहरहरूले सार्वजनिक क्षेत्रमा विश्वकप खेलहरू देखाउन अस्वीकार गरिरहेका छन् ।

अष्ट्रेलियाको टोलीले कतारलाई समलिंगी सम्बन्धबारेकाे कानून खारेज गर्न आग्रह गर्दै एउटा भिडियो सार्वजनिक गरेको छ ।

विभिन्न खालका गतिविधिहरु सार्वजनिक भइरहँदा अहिले भने विश्व फुटबलको सर्वोच्च निकायले सबै प्रतिस्पर्धी राष्ट्रहरूलाई पत्र लेखेको हो ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनो र महासचिव फात्मा समौराले हस्ताक्षर गरेको पत्रमा ‘अब फुटबलमा ध्यान केन्द्रित गर्न’ देशहरूलाई आह्वान गर्नुका साथै यसो भनिएको छ, ‘मूल, पृष्ठभूमि, धर्म, लिङ्ग, यौन झुकाव, वा राष्ट्रियताको परवाह नगरी सबैलाई स्वागत छ ।’

यस्तै पत्रमा थप भनिएको छ, ‘हामी सचेत छौं कि संसारभरि राजनीतिक प्रकृतिका धेरै चुनौती र कठिनाइहरू छन् ।’

रुसले युक्रेनमा आक्रमण गरेपछि रुसलाई फिफाले प्रतिबन्ध लगाएको लगायत अन्य मैदान बाहिरका मुद्दाहरू पनि छन् । यसबाहेक युक्रेन एफएले इरानलाई ‘व्यवस्थित मानवअधिकार उल्लंघन’ गरेको भन्दै विश्वकपबाट प्रतिबन्ध लगाउन माग गरेको छ । देशमा विरोध प्रदर्शनहरूले फिफाको ‘सिद्धान्त र मापदण्डहरू उल्लंघन हुन सक्छ’ भन्ने उनीहरुको विश्वास छ ।

विश्वकप पहिलो पटक जाडोमा सारिएको छ । कतारले सुरुमा गर्मीमा वातानुकूलित बन्द स्टेडियममा फाइनल आयोजना गर्ने प्रस्ताव राखेको थियो तर उक्त योजना अस्वीकार गरिएको थियो ।

कतारको विश्वकप आयोजकहरूले फुटबल हेर्नको लागि देश भ्रमण गर्ने ‘सबैलाई स्वागत छ’ भनेको छ र कसैलाई पनि भेदभाव नगरिने जनाएको छ ।

फिफा विश्वकपका लागि कतारमा ७ वटा नयाँ रंगशालाका साथै विमानस्थल, सडक र थप करिब १०० होटल निर्माण गरिएको छ । कतार सरकारले रंगशाला निर्माणका लागि मात्रै ३० हजार विदेशी कामदारहरू काममा लगाइएको बताएको छ । जसमध्ये अधिकांश बंगलादेश, भारत, नेपाल र फिलिपिन्सबाट आएका छन् ।

मानवअधिकारवादी समूहहरूले कतारमा विदेशी कामदारको उपचार र त्यहाँ मृत्यु हुनेको संख्याबारे गुनासो गरेका छन् ।

२०२१ फेब्रुअरीमा, गार्जियनले कतारले आफ्नो विश्वकप आयोजनाको अधिकार प्राप्त गरेपछि भारत, पाकिस्तान, नेपाल, बंगलादेश र श्रीलंकाका गरी ६ हजार ५ सय आप्रवासी कामदारको कतारमा मृत्यु भएको बताएको थियो ।

यो संख्या कतारमा रहेका सम्बन्धित देशका दूतावासहरूले उपलब्ध गराएको तथ्यांकमा आधारित छ ।

यद्यपि, कतार सरकारले कुल संख्या भ्रामक भएको बताएको छ, किनभने रेकर्ड गरिएका सबै मृत्युहरू विश्वकपसँग सम्बन्धित परियोजनाहरूमा काम गर्ने व्यक्तिहरू नभएको उसको दावी छ ।

कतारका अनुसार सन् २०१४ देखि २०२० को बीचको दुर्घटना रेकर्डमा विश्वकप स्टेडियम निर्माण क्षेत्रमाहरुमा ३७ जना मजदुरहरूको मृत्यु भएको थियो, जसमध्ये केवल तीन मात्र ‘कामसँग सम्बन्धित’ भएको जनाएको छ ।

बीबीसी अरेबिकले पनि प्रमाणहरू संकलन गरेको छ जसले कतारको सरकारले विदेशी कामदारहरूको मृत्युको रिपोर्ट कम गरेको देखाएको छ ।

इंग्ल्याण्डको फुटबल संघले विश्वकपका लागि ‘कुनै पनि निर्माण परियोजनासँग सम्बन्धित कुनै चोट वा मृत्यु’को लागि क्षतिपूर्तिको मागलाई समर्थन गरेको छ ।

बीबीसीबाट


Facebook Comment


No ads found for this position