अबको गन्तव्य फोक्सुण्डो ताल (फोटो फिचर )
गेसे लोटोई छोग्लेक (छिरिङ लामा)
नेपालको सबैभन्दा गहिरो फोक्सुन्डो ताल हो । यो ताल समुन्द्र सतहबाट ३ हजार ६ सय १५ मीटरको उचाईमा रहेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्ने फोक्सुन्डो ताल बिहानदेखि बेलुकीसम्म फरक–फरक रंगमा हुने गर्दछ । छिनमा नीलो, छिनमै कालो र छिनमै सिन्दुरे बन्छ । काञ्जिरोवा हिमालको काखमा अवस्थित फोक्सुण्डो ताल जीव रहित ताल हो । ताल पवित्र छ त्यसैले तालमा नुहाउन, पौडी खेल्न र लुगा धुन पाइँदैन । शे–फोक्सुन्डो गाउँपालिका–८, डोल्पामा पर्ने तालको क्षेत्रफल ४ दशमलब ९५ वर्ग किमी छ । यसको अधिकतम लम्बाई ५ दशमलब ९३ किमि र अधिकतम चौंडाइ १ दशमलव ८० किमि छ भने गहिराइ १ सय ४५ मिटर । ताल २३ सेप्टेम्बर २००७ मा रामसार सूचीकृत भएको छ ।
आकाश निलो हुँदा तालको पानी पनि निलो देखिन्छ । बादल मडारिँदा ताल पनि कालै बन्छ । सूर्यास्तका बेला रंगीन रूप हुन्छ । आकाशको रंग अनुसार तालले आफ्नो रूप बदलिरहन्छ । त्यहाँ डुंगा चढ्ने सुविधा छैन । आँखा नझिम्क्याई हेरिरहन भने पाइन्छ । जति हेरे पनि आँखा थाक्दैनन् । आँखाभरि, मनभरि सजाइरहन मन लाग्छ । ताललाई छोडेर फर्कन मन लाग्दैन ।
वर्षैभरि फोक्सुण्डो यात्रा गर्न सकिन्छ । फागुनदेखि असारसम्म र असोजदेखि कात्र्तिकसम्म घुम्ने उत्तम सिजन हो । डोल्पाको सुलिगाडबाट दुई दिन एक बिहान पदयात्रा गरेपछि मात्र तालमा पाइला टेक्न सकिन्छ । ताल किनारामा रिग्म गाउँ, गुम्बा, चैत्य आदि छन् ।
तालको निकासबाट बग्ने खोलालाई फोक्सुण्डो खोला भनिन्छ । खोलामा चित्ताकर्षक छाँगो छ जसलाई फोक्सुण्डो झरना भनिन्छ । पदमार्गबाटै झरनासँग आँखा जुधाउन मिल्छ । फोक्सुण्डो खोला सुलिगाड पुगेपछि ठूली भेरीमा मिसिन्छ । सुलिगाडबाट २७ किमि पदमार्गमा ताल पुगिन्छ ।
रिग्म गाउँ
ताल किनाराको रिग्म गाउँ पदयात्रीहरूको बासस्थान हो । डोल्पा लोअर सर्किट, अपर डोल्पो र फोक्सुण्डो पदयात्रा गर्नेहरू रिग्ममा बास बस्छन् । गाउँमा ६५ घर छन् जहाँ ११ वटा होटल सञ्चालित छन् । ईतिहास हेर्दा १ हजार बर्ष भन्दा अगाडि स्थापित भएको गाउँ मानिन्छ । यो गाउँ एउटा सानो उपत्यकामा अवस्थित छ र गाउँको वरीपरी हरियो वनजङ्ल, विभिन्न आकृतिका चट्टान, हिमाल र अन्य वन पैदावार र जडीबुटीले भरिपुर्ण छ ।
गाउँमा भोटे समुदायका लामा, बुढा, बैजी र गुरूङको बसोबास छ । त्यहाँ आलु, फापर, गहुँ र तोरी उत्पादन हुन्छ । तरकारीमा आलु, काउली, बन्दा, गाजर, मुला, साग, चोती आदी फलाइन्छ । पशुपालनमा चौंरी, च्याङ्रा, बाख्रा र कुखुरा पालिन्छ ।
गाउँको उत्तरपश्चिममा काञ्जिरोवा हिमाल छ भने दक्षिणमा काङ ताईका तोङ हिमाल । गाउँमा गुम्बा, चैत्य र मानेहरू छन् । त्यहाँ भोटे जीवनशैलीको सौन्दर्य पाइन्छ । उनीहरूको संस्कृति र रितिथिति छ । लोसार उनीहरूको प्रमुख चाड हो । गाउँमा पुस–माघमा बाक्लो हिउँ पर्छ । हिउँ पर्नु अगाडि नै गाउँलेहरू बेंसीतिर झर्छन् ।
दुई रात रिग्म गाउँमा बसेर फोक्सुण्डोको सौन्दर्यपान गर्नु उत्तम हुन्छ । गाउँमा बिजुली सुविधा छैन, सौर्य ऊर्जाको उज्यालो छ । गाउँमा इन्टर्नेटको सुविधा छ । मोबाइल फोन चल्छ । रिग्ममा केही होटल र होमस्टेहरु छन् । त्यसो त सडकमार्गबाट सुलिगाड पुगेर पदयात्रा गर्दा होस् या जुफालसम्म उडेर यात्रा गर्दा सबैतिर मध्यम खालका होटल पाइन्छ । त्यसैले ‘टि हाउस ट्रेकिङ’ सम्भव छ ।
रिग्म गाउँबाट दुई दिनको पदयात्रामा प्रसिद्ध शे–गुम्बा पुगिन्छ भने तीन दिन हिँडेमा बगला भञ्ज्याङ र नुमला भञ्ज्याङ पार गरेर धो–तराप भ्याली (४,२०० मिटर) पुगिन्छ ।
थासुङ छोलिङ गुम्बा
फोक्सुण्डो ताल किनारमा पन्ध्रौं शताब्दीमा टेतोन छेवाङ छुल्ठिमले बनाएको थासुङ छोलिङ गुम्बा छ । हिमाली भेगमा यस्ता धेरै प्राचीन गुम्बा छन् । डोल्पा, मुस्ताङ, हुम्ला, जुम्ला, बागलुङ, मुगु, कास्की, लमजुङ, संखुवासभा, काभ्रे, सिन्धुपाल्चोक चितवन र काठमाडौं लगायतका जिल्लाहरुमा बोन्पो धर्मावलम्बीहरूको उल्लेख्य बसोबास छ । डोल्पामा मात्र साना–ठूला गरी तीन दर्जन भन्दा बढी बोन गुम्बा छन् । त्यसैले डोल्पालाई ‘ल्यान्ड अफ बोन’ भनिन्छ । गुम्बामा बौद्ध धर्मावलम्वीहरु यहां आएर पूजा पाठ गर्ने गर्छन् । बर्षमा एक पटक भने ठूलै पूजा हुन्छन् त्यसको नाम माटी पूजा भन्छन् । त्यस बेलामा लामाहरु माक्स डान्स गर्ने गर्दछन् ।
बोन धर्मका संस्थापक तोम्वा शेन्राव मिवो धर्म प्रचार गर्न नेपाल आएको पाइन्छ । त्यसैले प्राचीन समयदेखि नै नेपालमा बोन धर्मको अभ्यास भएको पाइन्छ । नेपालको हिमाली भेकका कतिपय प्राचीन गुम्बा, माने र चैत्यहरू जीर्ण छन् । तिनको संरक्षणमा राज्यले लगानी गर्नुपर्छ ।
बोन धर्म
डोल्पामा युङडुङ् बोन धर्मावलम्बीको बसोबास छ । बोन धर्मका प्रर्वतक तोन्पा शेन्राव मिवो हुन् जुन धर्म १८ हजार ३८ वर्षअघि सुरू भएको थियो । समय क्रममा पृथ्वीमा एक हजार आठ जना बुद्धको जन्म हुन्छ भन्ने बोन ग्रन्थहरूमा उल्लेख छ । तोन्पा शेन्राव आठौं बुद्ध हुन् । उनी स्याङ्स्युङ राज्यको होल्मो लुङरिङ भन्ने ठाउँमा पिता ग्याल्बोन थोकार र माता योछि ग्याल्सेमाका पुत्रका रूपमा जन्मिएका थिए ।
जनहितका लागि उनले प्रतिपादन गरेको प्रज्ञा र करूणायुक्त मार्गलाई बोन धर्म भनिन्छ । उनका दिव्योपदेश संग्रह गरिएका १ सय ४० पुस्तक छन् जसलाई ‘काङग्युर’ भनिन्छ । यसबाहेक धर्म गुरुबाट करिब तीन सय शास्त्र रचिएका छन्, तिनलाई ‘कातेन’ भनिन्छ ।
बोन धर्म अभ्यास गर्ने धर्मावलम्बीहरूलाई बोन्पो भनिन्छ । अन्य बौद्धमार्गीहरू माने घुमाउँदा ‘ओम माने पेमे हुँ’ भन्छन् भने, बोन धर्मावलम्बीहरू ‘ओम मा ट्रि मु ये सा ले दु’ भन्छन् । बोन्पोहरू मा ट्रि, गुम्बा र चैत्यलाई देब्रे पारेर घुम्छन् ।
खाना र बास
पदमार्गमा सबैतिर खाना र बास सुविधा पाइन्छ । माथि ताल किनाराको रिग्म गाउँमा ११ वटा होटल छन् जहाँ सादा खानाको ४ सय रुपैयाँ पर्छ भने डबल बेड भएको कोठाको १ हजार रूपैयाँ । पाहुनाँहरुलाई आफ्नो भान्छा कोठामा राखेर पारीवारीक वातावरण खाना खाने प्रचलन रहेको छ ।
कसरी पुग्ने ?
काठमाडौं–नेपालगञ्ज–जाजरकोट–डोल्पा सडक यात्रा बसमा । जाजरकोट–डोल्पा सदरमुकाम दुनै १ सय १८ किमि कच्ची सडक । कोहलपुरबाट छिन्चु–जाजरकोट–दुनै ३ सय ११ किमी । काठमाडौंबाट जाजरकोट भएर रूकुम (पश्चिम) को राडीज्यूला हुँदै तल्लुसम्म सोझै बस चल्छन् । तल्लुबाट जीप परिवर्तन गरेर सुलिगाड पुग्नुपर्छ । दुनै पुग्नु २ किमि वरै सुलिगाडबाट फोक्सुन्डो पदमार्ग सुरू हुन्छ । हवाईयात्रा गर्दा काठमाडौं–नेपालगञ्ज ५५ मिनेट । नेपालगञ्ज–जुफाल ३५ मिनेट हवाईयात्रा । काठ्माण्डौ—डोल्पा १ घण्टा हवाईयात्रा । जुफाल–सुलिगाड ८ किमि जीपमा । यात्रीहरु सुलिगाडबाट दुई दिनमा पनि आरमले फोक्सुण्डोत ताल पुग्न सकिन्छ ।
फोक्सुण्डोमा पर्यटकहरु किन आउँछन् ?
– फोक्सुण्डो ताल शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्दछ । शे फोक्सुन्डो राष्ट्रिय निकुन्ज नेपालको सबभन्दा ठूलो राष्ट्रिय निकुन्ज हो । ताल २३ सेप्टेम्बर २००७ मा रामसार साइटमा सूचीकृत भएको छ । ताल निर्जीव हो ।
-फोक्सुण्डो ताल नेपालको सवैभन्दा गहिरो र दोस्रो ठुलो ताल हो ।
-वोन धर्म विश्वमा प्राचीन धर्महरु मध्ये एक हो । फोक्सुन्डो क्षेत्रमा वोन धर्मावलम्बीको बसोबास छ । यो धर्मावलम्बीहरु माने, चैत्य वा गुम्बालाई दाहिने पारेर होइन, देब्रे पारेर घुम्छन् ।
-स्थानीय कला, भोटे संस्कृती, जीवनशैली, खानपिन र संस्कारको भरिपुर्ण रिग्म गाउँ ।
-विश्वमा प्रख्यात र मुल्यवान जडीबुटी यार्चागुम्बु धेरै र गुणस्तरीय पाउँने ठाउँ ।
– नेपालको सवैभन्दा ठुलो शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, यहाँको जैविक विविधता र विश्वमा दुर्लभ हिउँ चितुवाको अवलोकन गर्न ।
– १६७ मिटर लामो सौन्दर्यले भरिपुर्ण फोक्सुण्डो झरनासंग आँखा जुधाउन ।
– उत्तर पश्चिममा काञ्जिरोवा हिमाल दक्षिणमा काङ ताईका तोङ हिमाल अनि वरीपरी हरियो वनजङ्ल, विभिन्न आकृतिका चट्टान, हिमाल र अन्य वन पैदावार र जडीबुटीले सिंगारिएको सानो उपत्यकामा अवस्थित रिग्म गाउँ र वरीपरीको जैविक विविधता अवलोकन गर्न ।
– शे फोक्सुण्डो ताल वरिपरि अरु पनि सौन्दर्यमूलक साना तालहरु धेरै छन् ।
लेखक बोन बुद्धिस्ट महासंघका महासचिव हुन्