देश चिनाउने फोटो पुस्तक

काठमाडौँ — आसन्न चुनावका लागि राजनीतिक दलका नेतादेखि कार्यकर्ताहरूको दौडधुप चलिरहेको छ । सत्ता र शक्तिकेन्द्रित गरेर शासनको बागडोर चलाउने दाबीसहित घोषणापत्र जारी भइरहेका छन् । यिनै माहोललाई नियाल्दै फोटो पत्रकार भरतबन्धु थापा भने आग्रह गर्छन्, ‘एकचोटि नेपाल घुमी माटो छोएर मुलुक बुझौं अनि मात्र बोलौं ।’ भौगोलिक अवस्थिति, संस्कृति र जनजीवनलाई तस्बिरमा उतार्दै मुलुकका सबैजसो जिल्ला छिचोलेका थापा घुमन्ते फोटोग्राफरका रूपमा चिनिन्छन् ।

उनले पूर्वदेखि सुदूरपश्चिमसम्मको भूगोल, जनजीवन र त्यहाँको वास्तविकतालाई नजिकबाट नियालेका छन् । राजधानीमा बसेको सत्ता र राजनीतिले देखेको नेपालभन्दा कैयौं गुणा फरक अर्कै ‘नेपाल’ रहेको उनी सुनाउँछन् । ‘सुनेको भन्दा देखेको राम्रो, देखेको भन्दा भोगेको राम्रो हामीले भन्छौं,’ उनी भन्छन्, ‘सोचेको र हेरेको नेपाल एकदमै फरक छ ।’ प्रज्ञा प्रतिष्ठानको अनुसन्धान परियोजनाअन्तर्गत थापाको पछिल्लो पुस्तक ‘नेपाल इन इमेजेज’ गत भदौमा सार्वजनिक भएको थियो । सातै प्रदेशका विविधता समेटिएको उक्त पुस्तकमा ओलाङचुङ्गोलादेखि सुदूरपश्चिमको कालापानीसम्म तथा सगरमाथादेखि जानकी मन्दिरसम्मका तस्बिर र तिनका विवरण समावेश छन् । गत वर्ष मात्र प्रतिष्ठानबाट नै प्रकाशित ‘तस्बिरमा नेपाल’ पुस्तकलाई नै अंग्रेजीमा अनुवाद गरिएको हो । पाँच सयभन्दा बढी रंगीन तस्बिरहरू पुस्तकमा छन् । पुस्तकमा प्रदेशलाई सात खण्डमा विभाजन गरी तिनलाई चिनाउने दृश्य सामग्रीहरूलाई अलग–अलग रूपमा प्रस्तुत गरिएका छन् । थापा पुस्तकलाई नेपाल चिनाउने आँखीझ्यालका रूपमा लिन्छन् । उनले पूर्वी पहाडी जिल्लादेखि तराई, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलाई क्यामरामा कैद गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल ईन ईमीजेज पुस्तक विमोचन गर्दै

‘पुस्तकमा संग्रहित तस्बिरहरू नेपाल चिनाउने दस्तावेज हुन्,’ उनी प्रस्ट्याउँछन् । नेपाल चिनारी दिने थापाका यसअघि ‘मध्यपुर थिमि’, ‘एक्सप्लोर फार वेस्ट’, ‘गन्तव्य कर्णाली’, ‘वेस्टर्न नेपाल’, ‘वाइल्ड वेस्ट नेपाल’ लगायतका पुस्तकहरू सार्वजनिक भइसकेका छन् । प्रतिष्ठानसँगको सहकार्यमा पुस्तक प्रकाशित गर्दा उनको मुलुक चिनाउने तस्बिर संग्रहको रहर पूरा भएको छ ।

प्रत्येक स्थानका तस्बिरहरू उनले लामो समयदेखि संग्रह गरेर राखेका थिए । प्रतिष्ठानसँग पुस्तक प्रकाशनबारे सहमति भएपछि २० प्रतिशत तस्बिरहरू मात्र उनले पछि खिचेका थिए । ८० प्रतिशत तस्बिर आफूसँग भएको संग्रहबाटै पुस्तकमा समावेश गरिएको उनले बताए । ‘तस्बिरमा नेपाल मेरो ठूलो सपना थियो’, उनले थपे, ‘प्रतिष्ठानले अफरै गर्ला भनेर त सोचेको थिइनँ । यसमा मिहिनेतको फल त आएन तर मेरो सोच पुस्तकमा छन् । म एकदमै खुसी छु ।’

थापाका लागि देश झल्काउने उनका तस्बिरहरू संग्रहित पुस्तक सबैभन्दा ठूलो सम्पत्ति हुन् । ती तस्बिरमा देशको माटो, सौन्दर्य, जनता, तिनका संस्कृति, सभ्यता, जीवनशैली, पीडा, संघर्ष र दुःखलाई उनले सम्हालेर राखेका छन् । फोटो पत्रकार र फोटोग्राफरका रुपमा उनले कर्णालीको दुःख, माथिल्लो डोल्पाको संघर्षसँगै रारा, खप्तडदेखि बडिमालिकासम्मको प्राकृतिक मनोरम सौन्दर्यलाई सँगै बोकेर राजधानी ल्याइपुर्‍याएका छन् । उनका अधिकांश तस्बिरहरू धार्मिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक पक्षका सौन्दर्य, सुख, सम्भावना र आशाहरूमा केन्द्रित छन् । यात्राका क्रममा उनले भोगेका र देखेका दुखान्तका कथा अनगिन्ती छन् ।

उनले कर्णालीको दुःख, माथिल्लो डोल्पाको संघर्षसँगै रारा, खप्तडदेखि बडिमालिकासम्मको प्राकृतिक मनोरम सौन्दर्यलाई तस्बिरमा ल्याएका छन् । अधिकांश तस्बिर धार्मिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक पक्षका सौन्दर्य, सुख, सम्भावना र आशाहरूमा केन्द्रित छन् ।
तस्बिरमा नेपाल पुस्तक सहित लेखक

भौगोलिक हिसाबले सुन्दर भएर पनि यातायातको पहुँचमा असुविधाका कारण हुम्ला, माथिल्लो डोल्पालगायत कर्णाली र सुदूरपश्चिमको जनजीवन निकै कष्टकर छ । माथिल्लो डोल्पामा यार्चा टिप्न गएका मान्छेको तस्बिर खिच्ने क्रममा लेक लागेर मर्ने स्थितिमा पुगेको उनले नजिकबाट नियाले । उनले चार/पाँच वर्षको बच्चा लिएर यार्चा टिपिरहेकी महिलाको संघर्षलाई देखे । भन्छन्, ‘म तस्बिरमा दुःखपीडा देखाउन चाहन्न, सम्भावना देखाउँछु । रोग, भोक र अशिक्षा होइन त्यो ठाउँको सुन्दरता देखाएर त्यहाँ सम्भावना खोजी मेरा तस्बिरहरूले गरोस् भन्ने म चाहन्छु ।’

खप्तडदेखि बडिमालिकाको यात्रामा २० घण्टा हिँडेर पानी खाएर कैयौं रात गोठमा सुतेको उनले बताए । हुम्लामा डोरीमा झुन्डिएर हिँडे । कर्णालीको २१ दिनको यात्रामा तीन/चार दिन नै सम्पर्कविहीन भए । उनको गुनासो छ, ‘कर्णालीको दुःख देखाएर सत्ता र पहुँचवादीहरूले व्यापार नगरोस् । कर्णाली पैसा नभएर विकट भएको होइन । सबै छ तर व्यवस्थापन हुन सकेन ।’ मुलुकको भौगोलिक अवस्था हेर्न आफ्ना तस्बिर पर्याप्त रहेको उनी सुनाउँछन् ।

नेपाल इन ईमीजेज पुस्तकमा समावेश गरीएका केही तस्बिरहरु

पाथिभरा मन्दिर परिसर, ताप्लेजुङ
विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्धार नाम्चे बजार
जानकी मन्दिर,जनकपुर
भक्तपुर नगर
मनाङकोको भिमथाङमा काठको पुल पार गर्दै स्थानिय
मनास्लु पदमार्गमागको लार्के पास गर्दै पर्यटक
उत्तरी गोरखाको सामागाँउमा नृत्य नाच्दै
शान्ति स्तुपा, कास्की
कागवेनी , मुस्ताङ
लोमाङथाङको दोस्रो ठुलो पर्व याथुडङमनाउदै स्थानिय,मुस्ताङ
स्वर्गद्धरी, प्युठान
रारा ताल, मुगु
रारा ताल, मुगु
हुम्लाका लिमाटाङमा पाखी बुन्दै स्थानिय
पन्चकोशी तिर्थ स्थलमा पर्ने दैलेखका पादुका
सेती नदीमा माछा मार्दै स्थानिय
चाँदनी दोधारा पुल
खप्तड ताल
खप्तडमा ध्यान गर्दै
राउटे समुदाय
राउटे समुदाय
स्थानिय
स्थानिय
घट्टमा अन्नपिस्दै

Photoes From : www.photobanknepal.com


Facebook Comment


No ads found for this position