अन्तरिक्षमा बाँदर पठाउँदै

कात्तिक, काठमाडौं । चिनिया अन्तरिक्ष स्टेसन तियांगोंगको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ । उक्त स्टेसन पूर्ण रुपमा सञ्चालनमा आएसँगै चीनले त्यहाँ शून्य गुरुत्वाकर्षणमा जीवन विज्ञानको अनुसन्धान गर्ने योजना बनाइरहेको छ ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार अन्तरिक्षमा प्रजननको सम्भावनाबारे अध्ययन गर्नका लागि चीनले आफ्नो अन्तरिक्ष स्टेशनमा बाँदर पठाउने योजना बनाएको छ ।
बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेसले यो परियोजनाको नेतृत्व गरिरहेको छ ।
चीनको तियांगोंग स्पेस स्टेशनमा माइक्रोग्राभिटीमा अध्ययनका लागि आवश्यक वैज्ञानिक उपकरणहरु जडानको काम भैरहेको छ । सन् २०२३ को सुरुवातमा स्टेशनमा रहेको वेन्टियान मोड्यूलभित्र उक्त प्रयोग गर्ने योजना बनाइएको छ ।
चाइनिज एकेडेमी अफ साइन्सेसका एक शोधकर्ता झांग लूका अनुसार मुसा तथा अफ्रिकी लंगूर बाँदरमा गरिने उक्त अनुसन्धानका क्रममा ती जीवहरुले अन्तरिक्षमा कसरी प्रजनन गर्दछन् भन्ने हेरिनेछ । यसले माइक्रोग्राभिटी तथा अन्तरिक्षको वातावरणमा जीवहरुको अनुकुलनलाई बुझ्न सहयोग गर्ने बताइएको छ ।