कुशेमा पूर्वाधारका कामहरु सुरु

देशका १०० उत्कृष्ट पर्यटकीय गन्तव्य मध्ये जाजरकोटको कुशे पनि समेटिएसँगै पूर्वाधारका कामहरु सुरु हुन थालेका छन् ।
कुशेपाटनबाट पश्चिम नेपालका अधिकांश हिमचुचुराहरुको अवलोकनका साथै रारा र शे फोक्सुण्डोसम्माको रुट कार्यम हुने भएपछि यहाँका स्थानीयबासीहरु खुसी भएका छन् । कुशे पाटन तथा हिमालमा जानका लागि चार ठाउँबाट पदमार्ग निर्माणको काम सुरु गर्न लागिंएको छ ।
उत्तर पूर्वको कुशे र बारेकोटबाट, पश्चिमको जुनिचाँदे, टिकाचौरबाट पदमार्ग निर्माणका लागि पहल सुरु भएको छ । त्यस्तै पाटन तथा हिमालको माथिल्लो भागमा यात्रा गर्नका लागि अर्को पदमार्ग निर्माणको गुरु योजना रहेको छ । हाई अल्टिच्युटमा विभिन्न गतिविधि गर्नका लागि त्यहाँ पदमार्ग निर्माण गर्न लागिएको छ । जैविक विविधताको अवलोकनदेखि दृश्यावलोकन, विभिन्न खेल खेल्नका लागि हाईअल्टिच्युटमै सडक निर्माणको कामलाई बढी प्राथमिकता दिएर काम गरिने पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।
विभिन्न विषयमा अध्ययन गर्ने अध्ययताका लागि वातावरण अनुकुलको व्यवस्थापन गर्न होटल व्यवस्थापनदेखि विभिन्न अनुकुलताका कामहरु समेत एकै साथ सुरु हुने उनले बताए । कुशे चाखुरेबाट फोक्सुण्डो जाने पदमार्गका साथै चौधारीबाट रारा जोड्ने अर्को पदमार्गका लागि आवश्यक बजेटका साथै कार्ययोजना निर्माण भएको छ । कुशेमुसे पाटनमा तथा हिमालमा ३४ वटा चर्चित पाटन तथा तालतलैया रहेको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।
यही पाटनको बीचबाट जुम्ला जोड्नका लागि सुरुङ मार्गको सम्भाव्यता अध्ययन कार्यसमेत जारी रहेको छ । शेफोक्सुण्डोदेखि रारासँग जोडिएको यो उच्च भाग पश्चिम नेपालको सबै ठाउँमा देख्न सकिने उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्न सकिनेमा सरोकारवाला निकाय सहमत भएका छन् ।
यही हिमालबाट पग्लिएको हिउँबाट नलगाड नदी बग्ने गर्दछ । नलगाड नदीको सफा कन्चन पानीबाट निर्माण हुन लागेको जलशययुक्त नलगाड जलविद्युत आयोजनाको ड्याम समेत यहाँको उत्कृष्ट पर्यटन प्रवद्धनका लागि उपयुक्त स्थल बन्ने भएको छ । त्यस्तै भेरी नदीमा जलयात्रा समेत चर्चित रहँदै आएको छ ।
राज्यको बजेट समानुपातिक रुपमा परिचालन नहुँदा ठूलो सम्भावना हुँदा हुँदै पछि कर्णालीका अधिकांश भूगोलहरु पछि परेको भन्दै समय समयमा चर्को आलोचना हँुदै आएको छ ।


Facebook Comment


No ads found for this position