मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै

मुस्ताङमा रहेको प्रशिद्ध तीर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ । पछिल्लो पटक गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन् ।
लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान गौतम बुद्धको मूर्ति तयार भएको छ भने सोही आकारकै भगवान विष्णुको मूर्ति पनि राख्न लागिएको छ । त्यस्तै मुक्तिनाथ क्षेत्रमै अन्तर्राष्ट्रिय स्तरको बुटिक रिसोर्ट लो मुस्ताङ हिमालय रिसोर्ट पनि लामाकै लगानीमा तयार भएको छ ।
तयार भएको गौतम बुद्धको मूर्ति र रिसोर्टको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी शुक्रबार उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै नयाँ बन्ने विष्णु भगवानको मूर्ति निर्माणको शिलान्यास पनि राष्ट्रपति भण्डारीले सोही दिन गर्ने कार्यक्रम तय भएको लामाले जानकारी दिए ।
मुक्तिनाथ भगवान विष्णुको जन्मस्थान रहेको भनाइ छ । स्कन्द पुराणमा उल्लेख भए अनुसार करिव ८ सय वर्ष पहिले यहाँ साधुहरुले मन्दिर स्थापना गरेका थिए । हिन्दु र बौद्धमार्गीको साझा तीर्थस्तल रहेको मुक्तिनाथ क्षेत्रमा विभिन्न गुम्बाहरु पनि छन् ।
परम्परागत धार्मिक संरचनाको संरक्षण र सम्बर्दन गर्ने गरी मुक्तिनाथ विकास गुरु योजना छ । सोही गरु योजनाको महत्वपूर्ण संरचना बुद्ध मूर्तिको स्थापना र विष्णु भगवानको मूर्ति शिलान्याशमा आफू संलग्न हुन पाउँदा खुसी लागको सोनामको भनाइ छ ।

बुद्ध मूर्ति

मुक्तिनाथ क्षेत्रको समुचित विकासका लागि तय गरिएको गुरु योजनाको एक अंशका रुपमा ३५ फिट अग्लो पत्थरको मूर्ति बनाइएको हो । पाटन औद्योगिक क्षेत्रमा तयार गरिएको मूर्ति मुक्तिनाथमा स्थापना गरिएको लामाले बताए । मूर्र्ति आसपास क्षेत्रमा ध्यान योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुने गरी पार्क तथा अन्य संरचना पनि बनाइएको छ । पाँच स्तुप र ११ ढुंगेधारा पनि त्यहाँ बनेका छन् ।
“पाहुनालाई बुद्धमूर्ति आराधनाका लागि मात्र होइन ध्यान योग दृश्यावलोकनको स्वर्गीय आनन्द अनुभूत गर्ने गरी यो संरचना तयार गरेका हौ,” लामाले भने ।
सन् २०१३ देखि यो परियोजनामा जुटेका लामाले आफ्ना श्रीमती र छोरा छोरी समेतको करिव ६ करोड रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरको लामाले बताए । मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवामा यी संरचना बनेका छन् । समुद्री सतहबाट करिव ३ हजार सात सय मिटरको उचाइमा बनेका संरचना आसपासबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दुष्यावलोकन गर्न सकिन्छ ।

भगवान विष्णुको मूर्ति निर्माण हुँदै

गुरुयोजना अनुरुप भगवान विष्णुको पनि ढुंगाकै ठूलो मूर्ति बनाउन लागिएको छ । यो मूर्ति स्थापनाका लागि गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले पनि ५० लाख रुपैयाँ सहायता गर्ने लामाले जानकारी दिए । ३५ फिट अग्लो विष्णु मूर्ति र सम्बन्धित अन्य संरचना निर्माणका लागि करिव ९ करोड रुपैयाँ लाग्ने आंकलन गरिएको छ । विष्णु्को मूर्ति पनि पाटन औद्योगिक क्षेत्रमै निर्माण गरी त्यहाँ पुर्‍याइने लामाले बताए । यो परियोजनाका लागि भने गैरआवासीय नेपाली लगायत अन्य दाताको सहायता पनि स्वीकार गरिने उनको भनाइ छ ।

पर्यटकलाई सुविधासम्पन्न बुटिक होटल

सामाजिक सेवाको दुई परियोजनाबाहेक मुक्तिनाथ क्षेत्रको विकासका लागि सोनामले धार्मिक तथा अन्य पर्यटक समेतलाई लक्षित गरी सुविधा सम्पन्न ‘लो मुस्ताङ हिमालय रिसोर्ट’ पनि निर्माण गरेका छन् ।
“कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो छ । तर स्तरीय र होटल संरचनाको अभाव रहेकाले त्यहाँ स्तरीय होटल बनाइएको हो” लामाले भने ।
बुटिक अवधारणामा बनेको होटल करिव १ सय रोपनी क्षेत्रफलमा पैmलिएको छ । चारै दिशामा हिमाल अवलोकन गर्न सकिने रानीपौवा हाइटमा रहेको होटल क्षेत्रमै करिव ५ सय बोटको स्याउ फार्म पनि छ । निलगिरि धौलागिरि जस्ता मनमोहक हिमालको घेराभित्र रहे जस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना स्पा देखि घोडा चढी सुविधा उपलब्ध हुने लामाले जानकारी दिए ।
मुक्तिनाथ नजिकैको गाउँ थुराङमा जन्मिएका लामाले आफ्नै मातृभूमिको विकासका लागि पूर्वाधार थप्न लागि परेको बताए । स्थानीय समुदायसँग भाडामा जग्गा लिएर रिसोर्ट निर्माण गरिएको बताउँदै लामाले निश्चित अवधिपछि उक्त रिसोर्ट समुदायलाई नै हस्तान्तरण गरिने जानकारी दिए ।
अमेरिकामा २७ वर्ष विभिन्न व्यवसाय गरेका लामा गैरआवासीय नेपाली संघमा १३ वर्ष आवद्ध रहेका थिए । काठमाडौको ठमेलमा १ सय बेड क्षमताको होटल लो मुस्ताङ पनि सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको लामाले जानकारी दिए ।


Facebook Comment


No ads found for this position