चिसो बढ्दै गएपछि पर्यटक तान्दै तातोपानी

५२ पोखरी ५३ टाकुरीको नामले चिनिने रुकुम पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको जिल्ला हो । हिमाल, तालतलैया, गाउँले परिवेश, मगर भेषभूषा र संकृतिसँगै समथर चौरजहारी फाँट पनि रुकुमै छ जसका कारण जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकका लागि घुम्ने र रमाउने धेरै ठाउँ छन् । यसमध्य चिसो मौसमको लागि निकै आकर्षणको केन्द्र भन्दै गएको रुकुम पूर्व सिस्ने गाउँपालिका पोखरामा रहेको तातोपानी पनि एक हो । पछिल्लो समय तातोपानी मुहानको आवश्यक संरक्षणदेखि प्रसार–प्रसारका पनि केही गतिविधि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।
चिसो समयमा पनि प्राकृतिक सुन्दरताकाबीच तातो पानीमा नुहाउन पाउनुनै सबैभन्दा मुख्य कुरा हो । त्यसकारण नै चिसो समयमा यस तातोपानी मुहानमा गएर स्थानीयहरूदेखि अन्य व्यक्तिहरू त्यहाँ गएर नुहाउने गरेका छन् । धेरै वर्ष पहिलेदेखि नै यहाँ तातोपानीको मुहान रहेको भए पनि अहिले सानीभेरीको छेउमा सानो तलाउ नै बनेको छ । बिशेषगरी हरेक वर्ष माघ १ गतेका दिन बिहानै गएर उक्त तातोपानीमा नुहाउने गरेका छन् । त्यहाँ गएर नुहाउनेहरूको भीड नै लाग्ने गरेको छ ।
बिहानै उठेर कसैसँग नबोली स्नान गरेमा उक्त व्यक्तिले गरेका सबै पापहरू पखालिने र शरीरका बिकार पनि हराएर जाने विश्वासका रहेका कारण नुहाउन आउने मानिसको भीड नै लाग्ने गरेको स्थानीय लक्षिराम घर्ती बताउँछन् । यसबाहेक तातोपानीमा नुहाएमा ढाड दुख्ने, जिउ चिलाउने जस्ता समस्या निको हुने विश्वासले जिल्लाका विभिन्न ठाउँ र अन्य जिल्लाबाट समेत मानिस जाडोयाममा यहाँ आउने गरेको गरेका छन । “लगभग ५० देखि ६० डिग्रीसम्म तापक्रम रहेको यो पानीमा चामल राखेमा भातसमेत पाक्ने गरेको छ,” स्थानीय तथा पर्यटन पत्रकार समूह रुकुमका अध्यक्ष महेश केसीले भने, “तातोपानीको मुहान नजिकै पुग्दा नुनको गन्ध आउने भएकाले यहाँ नुन खानी हुन सक्ने धेरैले अनुमान गरिएको छ ।” तातोपानी मुहानको शिरमा पाथीभरा मन्दिरसमेत छ । त्यसकारण पनि मन्दिरको मुनी रहेको तातोपानीमा नुहाउँदा पाथीभरा देबीले आफूले चिताएको कुरा पुग्ने जनबिश्वास छ । प्रत्येक वर्ष श्रावणपूर्णिमाको दिन त्यस मन्दिरमा स्थानीयहरूले पूजाआजासमेत गर्दै आएका छन् ।
जिल्लाको पोखरासँगै जिल्ला अन्य विभिन्न आधा दर्जन ठाउँहरूमा पनि तातोपानी रहेका छन । तर, सदरमुकाम नजिक पर्ने भएका कारण पोखराको तापोपानी सबैभन्दा चर्चित र प्रचार–प्रसार बढी छ । रुकुम पूर्वमा पर्ने रन्मामैकोटको झार्लुङ र हुकाम डिम्मुरगैरामा समेत तातोपानीका मुहानहरू छन् ।
त्यस्तै सिस्ने गाउँपालिकाको खारा लगायतका अन्य ठाउँहरूमा पनि रहेको जिल्ला समन्वय समिति रुकुमद्वारा प्रकाशित तातोपानी र पर्यटन नामको ब्रोसरमा उल्लेख गरिएको छ । जिल्ला बिभिन्न ठाउँमा तातोपानी मुहान भएपनि प्रभावकारी ढंगबाट सरोकारवाला निकायहरूले संरक्षण र प्रचारप्रसारको काम हुन नसकेको स्थानीयहरूले गुणासो गरेका छन् ।