अंग्रेजी नयाँ वर्ष मनाउन ८० प्रतिशत होटल बुकिङ

आउँदो आइतबार अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन। नयाँ वर्ष मनाउन पर्यटकीय गन्तव्यहरूमा आन्तरिकसँगै विदेशी पर्यटकको चहलपहल सुरू भइसकेको छ।

विशेषगरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोट लगायत पर्यटकीय गन्तव्यहरूका होटल तथा रिसोर्ट धमाधम बुकिङ भइरहेका छन्। कोरोनाले थलिएको पर्यटन उद्योग चलायमान बन्दैछ। क्रिसमस, अंग्रेजी नयाँ वर्ष लगायतले आन्तरिकसँगै विदेशी पर्यटकको संख्या बढाएको व्यवसायीहरू बताउँछन्।

आन्तरिक पर्यटकको रोजाइमा पर्ने पोखरामा नयाँ वर्षका लागि अहिले ५० प्रतिशत होटल बुकिङ भइसकेका छन्। बुकिङ गरिएका होटलहरूमा आन्तरिक पर्यटक र केही भारतीय पर्यटक रहेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

पोखरामा पछिल्ला केही वर्षयता साताको अन्तिम दुई दिन (शुक्रबार र शनिबार) आन्तरिक पर्यटकको घुँइचो लाग्ने गर्छ। त्यसमा पनि अंग्रेजी नयाँ वर्षका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुने हुँदा होटल बुकिङमा उत्साह देखिएको उनले बताए।

‘नयाँ वर्षका लागि पोखराका होटल बुकिङमा २० प्रतिशत छुट गराउन सबै होटललाई संघले पत्र पठाइसकेको छ,’ उनले सेतोपाटीसँग भने, ‘अन्य समयभन्दा नयाँ वर्षमा बढी पर्यटक आउने हुँदा हरेक वर्ष छुट दिइन्छ।’

कोरोना महामारीपछि यस वर्ष विगतको तुलनामा होटल बुकिङको ‘फ्लो’ ह्वात्तै बढेको उनले बताए।

उनका अनुसार क्रिसमस र नयाँ वर्षमा पोखरामा अन्य समयको तुलनामा पर्यटक बढ्छन्। पोखराको लेकसाइडमा मात्र सात सय होटल छन्। त्यस्तै साराङकोट, नौडाँडा, रूपाकोट, बेगनास ताल लगायतका ठाउँमा गरी बाह्र सयभन्दा बढी होटल सञ्चालनमा छन्। यिनमा ४० हजारभन्दा बढी बेड रहेको संघले जनाएको छ।

‘अहिलेसम्मको बुकिङ हेर्दा होटलहरूमा अकुपेन्सी धेरै राम्रो छ,’ सुवेदीले भने, ‘हामीले नयाँ वर्षका लागि शतप्रतिशत अकुपेन्सी हुने अपेक्षा गरेका छौं।’

त्यसो त डिसेम्बर र जनवरीलाई नेपाली पर्यटनको क्षेत्रमा अफ-सिजन मानिन्छ। तर पोखराको हकमा यो लागू नहुने उनको भनाइ छ। यहाँका पर्यटन व्यवसायीका लागि त डिसेम्बर महिना कमाइ गर्ने मुख्य महिना हो। क्रिसमस र नयाँ वर्षकै कारण पोखरामा डिसेम्बर अन्तिम साता आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्ने उनी बताउँछन्।

पुस १३ देखि १७ गतेसम्म पोखरामा २४ औं पोखरा सडक महोत्सव हुँदैछ। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले विगतका वर्षहरूमाजस्तै यसपालि पनि पर्यटन प्रवर्द्धनका लागि महोत्सव गर्न लागेको हो। महोत्सव लेकसाइडको ३ किलोमिटर क्षेत्रमा हुनेछ।

‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने उद्देश्यले हरेक वर्ष महोत्सव भइरहेको पोखरा रेवानका अध्यक्ष नरेश भट्टराईले बताए। सडक महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस (डुंगा दौड) र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र (डकुमेन्ट्री) प्रदर्शन हुनेछ। यी कार्यक्रमले गर्दा पनि पोखरा आन्तरिक पर्यटकले भरिभराउ हुने आशा रहेको संघका अध्यक्ष सुवेदीले बताए।

नयाँ वर्षको चहलपहलसँगै चितवन, सौराहाका पनि ८० प्रतिशत होटल बुक भइसकेका छन्। अग्रिम बुकिङ गर्नेको संख्या कम भए पनि नयाँ वर्षको दुई दिनअघि सौराहाका सबैजसो होटल पर्यटकले भरिने क्षेत्रीय होटल संघ, सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरे बताउँछन्।

उनका अनुसार कोभिडपछि यस वर्ष क्रिसमसमा पर्यटक संख्या बढ्यो। नयाँ वर्षका लागि होटल बुकिङ पनि बढेको छ।

‘सौराहा घुम्न आउनेमध्ये ९० प्रतिशत आन्तरिक पर्यटक हुन्छन्। उनीहरू दुई दिनअघि मात्र होटल बुक गर्छन्। त्यसकारण अन्तिमसम्म शतप्रतिशत होटल प्याक हुन्छन्। पोहोर-परारको तुलनामा यसपालि नयाँ वर्षमा उत्साह देखिएको छ,’ उनले भने।

हाल सौराहमा सात हजार मानिस बस्न मिल्ने क्षमताका डेढ सय वटाभन्दा धेरै होटल सञ्चालनमा छन्। कोरोनापछि ठूला होटलहरू राम्ररी सञ्चालनमा आउन सकेका छैनन्। मुग्लिन-नारायणगढ सडक अवरूद्ध भएका कारण पनि पछिल्लो समय पर्यटक संख्या बढ्न नसकेको उनी बताउँछन्।

‘सडक अवरूद्ध भएकाले यातायातमार्फत आउजाउ गर्न यात्रुलाई सास्ती छ। मौसमका कारण हवाइ उडानमा समस्या आइरहन्छ। यी दुई कुरा व्यवस्थापन गर्न सकियो भने चितवनमा पर्यटक बढाउन सकिन्छ,’ उनले भने।

काठमाडौं नजिकका पर्यटकीय गन्तव्य धुलिखेल र नगरकोटमा पनि अहिले होटल बुकिङ उत्साहजनक रहेको होटल संघ नेपाल (हान) ले जनाएको छ। अंग्रेजी नयाँ वर्षका लागि प्रायः पर्यटकीय गन्तव्यका होटलहरूमा शतप्रतिशत बुकिङ भएको हानका महासचिव साजन शाक्यले बताए।

‘नयाँ वर्षको अवसरमा शुक्रबारदेखि आइतबारसम्म होटलको बुकिङ शतप्रतिशत हुने देखिएको छ,’ उनले भने, ‘यो संख्यामा केही भारतीय पर्यटक पनि छन्।’

नयाँ वर्ष मनाउन काठमाडौंबाहिर जानेको संख्या बढी हुन्छ। त्यसैले काठमाडौंका होटल भने खासै बुकिङ नभएको उनले बताए। साभार सेतोपाटी


Facebook Comment


No ads found for this position