लुम्बिनी मागी खाने भाँडो होइन, पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्नूस्ः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन्।

आईतबार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै कोषका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्ने निर्देशन दिएका हुन्।

उनले लुम्बिनी जस्तो पवित्र स्थलको काम इमान्दारिताका गर्न आग्रह गरे। मन्त्री किराँतीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब भने योजना अनुसारको काम चाहिने बताए।

‘लुम्बिनी विकास कोषको रिपोर्टमा म सन्तोष छैन। मन्त्री भएर होइन लुम्बिनी विकास कोषको अध्यक्ष भएर बोल्दैछु। विश्व सम्पदा बौद्धधाम मात्रै नभएर गौतम बुद्धको जन्मस्थल फोहोर छ भनेर चीनमा सुनेको थिएँ। लुम्बिनीमा गाउँहरु ल्याएर चराइन्छ रे त्यहाँ गाईको गोबर मात्रै छ भन्छन्। गौतम बुद्ध भगवान होइनन् भगवान फोहोरमा बस्नुहुन्छ’, उनले भने, ‘यति ठूलो जिम्मेवारीमा राज्यले पत्याएर लुम्बिनी विकास कोषमा काम गर्न पठाएको छ। लुम्बिनी विकास गर्न बजेट छ, कार्यक्रम छ तर काम किन छैन?’

उनले नेपालको संविधान कानून अनुसार संरचनाहरु निर्माण भएको भन्दै संरचनाहरुमा कर्मचारी भएर पनि काम किन नभएको? भन्दै प्रश्न गरे। उनले लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डर अनुसार सात दिन, एक महिना, तीन महिना,६ महिना र एक वर्षमा के गर्ने भन्ने कार्ययोजना बनाउन निर्देशन दिए।

‘लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डर अनुसार कार्ययोजना चाहिन्छ। दायाँबायाँ केही छैन। सात दिन, एक महिना, तीन महिना, ६ महिना र एक वर्षमा के गर्ने भन्ने क्यालेण्डर अनुसार कार्ययोजना चाहियो’, उनले भने, ‘लुम्बिनीलाई विकास गर्ने नाममा मागी खाने भाडो बनाउनु भएन। विश्वमा सबैभन्दा बढी बौद्धधर्मसँग सम्बन्धित धर्मालम्बीहरु रहेका छन्। गौतम बुद्ध बौद्ध धर्मलम्वीहरुको नाभी हो । ढुकढुकी हो। हाम्रो चाहीँ मागी खाने भाँडो हो त?’

उनले गौतम बुद्धको जन्मथलो लुम्बिनी मागि खाने भाँडो नभएर बौद्ध धर्मलम्वीहरुको नाभी तथा ढुकढुकी भएको बताए। मन्त्री किराँतीले कर्मचारीहरुलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गरे। उनले नेपालले गौरवका साथ विश्वमा गौतम बुद्धको नाम बेच्ने, पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको बताए।

‘कर्मचारीहरुले पवित्र थलोमा बसेर अपवित्र कर्म गर्नु हुँदैन। हामीले गौरवका साथ विकासमा गौतम बुद्धको नाम बेच्ने,पवित्र थलो लुम्बिनी भन्ने लुम्बिनीमा नै अपवित्र काम गर्ने?’, उनले सोधे, ‘लुम्बिनी विकास कोषका कर्मचारी माथि विश्वको आँखा रहेको छ । त्यसकारण कर्मचारीहरु गम्भीर हुनुहोला।’

उनले लुम्बिनी विकास कोषको काम भएन भनेर कर्मचारी सरुवा गरेर रमिता नदेखाउने स्पष्ट पारे। उनले कर्मचारी सरूवा तथा थर्काउने पुरानो प्रवृत्ति भएको भन्दै वर्तमान सरकार कर्मचारीहरुबाट क्यालेण्डर अनुसार कामको परिणाम ल्याउने बताए।

मन्त्री किराँतीले कर्मचारीहरुले जस्केला वा झ्यालबाट छिरेर काम गर्ने कोशिस नगर्न आग्रह गरे। उनले आफू देशको हीत विपरित हुने कुनैपनि क्रियाकलापसँग सम्झौता नगर्ने दाबी गरे।

‘हामी कोही कर्मचारी सरूवा गरेर रमिता देखाउने छैनौं। तर काम चाहियो। कर्मचारी थर्काएर केही बुझ्न नपाई सरुवा गर्ने पुराना प्रवृत्ति हो। हामी पुरानो प्रवृत्ति दोहोर्‍याउनेवाला छैनौं’, उनले भने, ‘हामीलाई काम चाहियो। तर क्यालेण्डरको आधारमा रिजल्ट ल्याउन सकिएन भने अन्य धेरै तिर बल नगर्नु होला। जस्केला वा झ्यालबाट छिर्ने कोशिस नगर्नुस्।’

आफूसँग कामबाहेक कुनै पनि स्वार्थ नभएको बताए।

‘वडा अध्यक्ष पनि हुदिनँ भन्ने थियो। मन्त्री भएँ पद गए जान्छ तर सम्झौता देशको हीत विपरित हुने क्रियाकलापसँग हुँदैन’, उनले भने, ‘सरकारले नीतिमा कहाँ सहयोग गर्नु पर्ने हो। यहाँ भन्नुस्। हामी नीतिमा सहयोग गर्न तयार छौं। आफूसँग कुनै स्वार्थ छैन। म आफैँ फाइल बोकेर जानु नपरोस्।’ साभार सेतोपाटी


Facebook Comment


No ads found for this position