ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा नयाँ पदयात्रा मार्ग घोषणा
काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा नयाँ पदयात्रा मार्ग घोषणा गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच नयाँ पदयात्रा मार्ग घोषणा गरेका हुन् ।
सो अवसरमा गत ७ मंसिरदेखि भएको खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओखलढुंगा जिल्लाकै ३३५० मिटर उचाइमा रहेको थोलेदेम्बा डाँडामा भएको गल्फ खेल सर्भेक्षण सफल भएको वृत्तचित्र सार्वजनिक गरियो । खिजीदेम्बा गाउँपालिकाले नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालसँगको समन्वयमा वृत्तचित्र सार्वजनिक गरिएको बताइएको छ ।
पर्यटनमन्त्री किरातीले थोलेदेम्बा जस्ता ठाउँलाई पर्यटकीय क्षेत्र घोषणा गर्दै देशको आर्थिक हैसियत उठाउन नीतिगत र बजेट व्यवस्थापन गरेर अघि बढ्ने बताए । उनले खिजीचण्डेश्वरी विमानस्थल तत्काल सञ्चालन गर्न पहल लिने समेत बताए ।