उपत्यकाबाहिर जाने सवारी नयाँ बसपार्कबाट मात्र

काठमाडौँ — अब लामा, मध्यम तथा छोटा दूरीका सवारी नयाँ बसर्पाकबाट मात्र सञ्चालन हुने भएका छन् । काठमाडौं महानगरपालिकाले यो नियम लागू गरेसँगै लामा तथा छोटा दूरीका सवारी बसर्पाकबाट सञ्चालन हुने भएका हुन् । यातायात व्यवसायीले अव्यवस्थित यात्रालाई महानगरले व्यवस्थित गर्न खोजेको भन्दै यसमा समर्थन जनाएका छन् ।

अब लामा तथा छोटा दूरीका सवारीमा देखिएको समस्या बिस्तारै समाधान हुँदै जाने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बताए । ‘महानगरले अव्यस्थित टिकट काउन्टर हटाउन थालिसकेको छ,’ उनले भने, ‘बिहीबार गठित कार्यदलले काठमाडौंको कुन–कुन ठाउँमा यात्रु ओराल्ने/चढाउने भन्नेबारे आइतबार अनुगमन गरेर निर्णय गर्नेछ ।’ टिकट काउन्टर बसपार्कमा मात्र रहने, तोकिएको ठाउँमा मात्र बुकिङ कार्यालय खोल्ने र प्रविधिको प्रयोग बढाएर अनलाइनमार्फत टिकट काट्ने व्यवस्था गरिने बताइएको छ ।

केही यातायात व्यवसायीले महानगरको निर्णयको विरोध गरे पनि अन्य सबै सकारात्मक रहेको काठमाडौं महानगरका ट्राफिक विज्ञ जगतमान श्रेष्ठको भनाइ छ । ‘केही यातायात व्यवसायीले आफ्नै बसपार्क बनाएर त्यसलाई वैधानिकता दिन खोजिरहेका छन्,’ उनले भने, ‘तर महानगरले उनीहरूको नक्सापास गर्ने छैन ।’ शुक्रबार ५० प्रतिशत हाराहारी सवारी नयाँ बसपार्कबाट विभिन्न जिल्लाका लागि छुटिसकेको श्रेष्ठले जनाए । ‘शनिबार यो संख्या बढेर ८० प्रतिशतसम्म पुग्ने अनुमान छ,’ उनले भने, ‘यातायात सम्बद्ध तीन वटै मजदुर संगठन र दुई वटा ठूला यातायात व्यवसायी संघ यस विषयमा सकारात्मक छन् ।’

कुन–कुन ठाउँबाट यात्रु चढाउने र ओराल्ने भन्ने विषयमा ठाउँ तोकिनसकिएको उनको भनाइ छ । ट्राफिक व्यवस्थापन र ठगी नियन्त्रणका लागि महानगरले यस्तो नीति लिएको उनले सुनाए । ‘काठमाडौंबाट कतै जाँदा एक हजार भाडा भएको ठाउँमा बिचौलियाले २५ सय रुपैयाँसम्म लिने गरेको भेटिएको छ,’ उनले भने, ‘तर व्यवसायीको हातमा ८ सय मात्र पर्छ, महानगरको नीतिले बिचौलियाको ठग्ने प्रवृत्ति पनि नियन्त्रण हुनेछ ।’

महानगरको यस्तो नीतिले सर्वसाधारणदेखि व्यवसायीसम्मलाई सहयोग पुग्ने उनको भनाइ छ । महानगरले बिहीबार श्रेष्ठकै संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले यात्रुहरू बीचमा चढाउने, उतार्ने विषयमा उपयुक्त स्थान तोक्नेछ । उपयुक्त स्थानमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना गर्ने जनाइएको छ ।


Facebook Comment


No ads found for this position