९२ दिनमै विश्वका १४ अग्ला हिमाल आरोहण गरी शेर्पा र क्रिस्टिनले बनाए कीर्तिमान
काठमाडौँ — सगरमाथासहित विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ९२ औं दिनमा आरोहण गर्दै नेपाली पर्वतारोही तेन्जिङ शेर्पा (लामा) र नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलाले नयाँ कीर्तिमान कायम गरेका गरेका छन् ।काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, उनकै कम्पनीमा गाइडका रुपमा कार्यरत तेन्जिङ र क्रिस्टिनले बिहीबार बिहान पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो हिमाल केटू आरोहण गरेका थिए ।
यसअघि निर्मल पुर्जाले विश्वकै १४ अग्ला हिमाल ६ महिना ६ दिनमा आरोहण गर्दै ‘सबैभन्दा छिटो आरोहणको कीर्तिमान’ बनाएका थिए । पुर्जाको कीर्तिमानलाई नेपाली आरोही तेन्जिङ शेर्पा र नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलाले ९२ औं दिनमा सकेर नयाँ कीर्तिमान बनाएका हुन् । ‘निर्मल पुर्जाको रेकर्ड संखुभासभाका तेन्जिङ र नर्वेकी आरोही क्रिस्टिनले तोडेकी छन्,’ सेभेन समिटका अध्यक्ष मिग्माले भने, ‘नेपाली मूलका निर्मल पुर्जाले नागरिकता त्यागिसकेकाले विश्वकै १४ वटा हिमाल सबैभन्दा चाँडो आरोहण गर्ने तेन्जिङ अब एक मात्र नेपाली भएका छन् ।’
विश्वकै १४ औं अग्लो हिमाल सिसापाङमा वैशाख १३ गते आरोहण गर्दै यी दुईले आरोहण यात्रा थालनी गरेका थिए । विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने करिब ४ दर्जन आरोहीमध्ये थोरै महिला छन् । जसमा ३७ वर्षीया क्रिस्टिन पनि परेकी छन् । आरोहणअघि उनी क्रस–कन्ट्री स्कीकी खेलाडी थिइन् । एजेन्सीहरुका अनुसार, हिमाल आरोहणमा उनी ८ वर्षयता मात्रै संलग्न भएकी हुन् । साभार कान्तिपुर