सिमानाबाटै फर्कदैं पर्यटक
मुकेश चौधरी
धनगढी– भारतीय मुद्रा नेपालमा नचल्ने भएपछि पर्यटनका लागि आएका भारतीय नागरिकहरू सिमानाबाटै फर्किने गरेका छन् ।नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँ भन्दा माथिको भारतीय रुपैयाँलाई नचलाउने निर्णय गरेकोले भारतीय रुपैयाँमा भुक्तानी हुन नसक्ने भएको भन्दै भारतीयहरु सिमानाबाटै फर्किने गरेका छन् । कतिपय भारतीय नागरिकहरू त्रिनगर नाकामा रहेको पर्यटक सूचना केन्द्र पुगेर फर्किने गरेका छन् भने कतिपय भारतीय सिमानाबाटै ५ सयको भारतीय नोट नचल्ने जानकारी पाएर फर्किने गरेको नेपाली व्यवसायीहरूले बताएका छन् ।
कैलाली होटल व्यवसायी संघका अध्यक्ष केशव पाण्डेयले सिमानामा पुगिसकेका भारतीय नागरिक नेपालमा भारतीय रुपैयाँ नचल्ने भएपछि फर्किने गरेको बताए । भारतीय रुपैयाँको बैंकिङ कारोबार नहुने भएकोले होटलमा आएर बसेका भारतीय पर्यटकबाट भुक्तानी लिन कठिन हुने उनी बताउँछन् । उनले भारतीय बैंकको क्रेडिट कार्डबाट दैनिक १५ हजार रुपैयाँसम्म साँट्न मिल्ने भएकोले एक दिन बस्ने भारतीय नागरिकबाट मात्रै भुक्तानी लिन सक्ने अवस्था रहेको बताए ।
‘प्रायः भारतीय नागरिकहरु एक दिनका लागि मात्रै नेपाल आउने गरेका छन्,’ उनले भने, ‘क्रेडिट कार्डबाट १५ हजार रुपैयाँसम्म साँट्न मिल्ने भएकोले एक दिनको भुक्तानी गर्न उनीहरुलाई खासै समस्या पर्दैन । एक दिन भन्दाबढी बस्ने भए भारतीय रुपैयाँ नचलेर हामीलाई भुक्तानी पाउन कठिन हुन्छ ।’ होटलमा बसिसकेपछि भुक्तानी गर्न कैयौं पटक समस्या हुने गरेको अध्यक्ष पाण्डेयले बताए ।
उनले प्रायः भारतीय नागरिक धनगढीसम्म मात्रै आउने गरेको बताए । ‘केही मात्रै चिसापानी, खानी डाँडासम्म आउँछन्,’ उनले भने, ‘केही धनगढी आएर प्लेनमा काठमाडौं जाने गरी आउँछन् । उनीहरु तीन/चार दिन काठमाडौं बसेर धनगढी हुँदै सिधै भारत फर्किन्छन् ।’ सिमानामा रहेका पर्यटक हेल्प डेस्कका अनुसार दैनिक २५ देखि ३० जना भारतीय नागरिक पर्यटकको रूपमा भित्रिने गरेका छन् ।
तीमध्ये प्रायः भारतीय क्यासिनोमा जानका लागि आउने गर्छन् । पर्यटन प्याकेज लिएर भ्रमणका लागि एकदमै कम भारतीय आउने गरेको अध्यक्ष पाण्डेयले बताए । भारतीयहरू बिदामा धनगढीलगायतका सीमावर्ती नेपाली बजारमा किनमेलको लागि आउने गरेका थिए । तर भारतीय नोट नचल्ने भएपछि धनगढीमा भारतीय नागरिक आउन छोडेका छन् । यसले नेपालको व्यापार व्यवसाय र होटल व्यवासयमा ठूलो असर परेको अध्यक्ष पाण्डेयले बताए ।
भारत सरकारले एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउँदा भारतले नेपाल राष्ट्र बैंकबाट ती नोटहरु फिर्ता नलिएकोले राष्ट्र बैंकले १ सय रुपैयाँसम्मको भारतीय नोटलाई मात्रै लिगल टेन्डर मानेको नेपाल राष्ट्र बैंकका प्रवक्ता अस्मिता गोर्खालीले बताइन् । उनले ठूलो रकम नेपाललाई क्षति भएकाले ५ सय, एक हजार र दुई हजारको भारतीय नोटको टेन्डर रिकोनाइज नगरिएको बताइन् ।
उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय गभर्नरबीच नेपाल–भारत क्वीआर कोडबाट भुक्तानी प्रणालीको लागि सम्झौता भइसकेको बताइन् । प्रवक्ता गोर्खालीले कुनै पनि भारतीय बैंकको एपबाट भारतीय नागरिकले नेपाली कुनै पनि बैंकको क्वीआरकोड स्क्यान गरी भुक्तानी गर्न सक्ने र नेपालीले समेत नेपालका बैंकहरुको एपबाट भारतमा गई भारतीय बैंकको क्वीआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने बताइन् ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले प्रदेशमा पर्यटक भित्र्याउनका लागि त्रिनगर नाका महत्वपूर्ण रहेको बताए । उनले भारतीय पर्यटकको माध्यमबाट सुदूरपश्चिमको पर्यटन बढ्ने सम्भावना भएकोले प्रदेश सरकारले भारतको उत्तर प्रदेश, उत्तराखण्ड र उत्तर प्रदेशबाट पर्यटक ल्याउन जोड गरिरहेको जिकिर गरे । त्यसका लागि नाकालाई व्यवस्थित गर्ने र पर्यटक मैत्री भन्सार नाका बनाउनेतर्फ प्रदेश सरकार केन्द्रित भएको उनको भनाइ छ ।
पर्यटक आएपछि उनीहरुले गरेको खर्चको सहज भुक्तानी व्यवस्था मिलाउन संघीय सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । मन्त्री धामीले पर्यटक भित्र्याउने र पर्यटन गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने विषयमा प्रदेश सरकारले योजना बनाएर कार्यान्वयन गरिरहेको बताए । उनले भारतीय पर्यटक धनगढी बाहेकका पर्यटन गन्तव्यमा नगएको देखिएकोले यसका समस्याहरू अध्ययन गरी समाधान गरिने बताए ।