लुम्बिनीमा भारतीय पर्यटक आगमन उच्च
सुदीप भण्डारी
बुटवल– लुम्बिनीमा भारतीय पर्यटकको आवागमन बढेको छ भने तेस्रो मुलुकका पर्यटक घटेका छन् । सन् २०१९ को सेप्टेम्बरमा लुम्बिनीमा ८ हजार ३ सय ४१ भारतीय पर्यटक आएका थिए । तर यो वर्षको सेप्टेम्बरमा भारतबाट १५ हजार ४ सय ८ पर्यटक लुम्बिनी भित्रिएका छन् । सेप्टेम्बरमा मात्र नभई २०२३ को नौ महिनालाई हेर्दा भारतीय पर्यटक आगमन दर कोभिडअगाडिको समयभन्दा उच्च देखिएको छ ।
२०२३ जनवरीदेखि सेप्टेम्बरसम्म लुम्बिनीमा १ लाख ६७ हजार ४ सय भारतीय पर्यटक आएका लुम्बिनी विकास कोषले जनाएको छ । कोभिडअघि सन् २०१९ को नौ महिनामा १ लाख २७ हजार ९६ भारतीय पर्यटक आएका थिए । चार वर्षअघिको तुलनामा चालु आबको सेप्टेम्बरसम्म ४० हजार बढी भारतीय पर्यटक लुम्बिनी आएका छन् । लुम्बिनीमा भारतीय पर्यटकको आगमन दर अहिलेसम्मकै उच्च रहेको तथ्यांकले देखाएको छ ।
अघिल्लो वर्षको बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएका थिए । त्यसयता लुम्बिनीमा भारतीय पर्यटकको आवागमन बढेको हो । गत माघमा भारतका प्रख्यात रामकथा वाचक मोरारी बापुको प्रवचन कार्यक्रम भएको थियो । भारतीय प्रधानमन्त्रीको भ्रमण र मोरारी बापुको आगमनका साथै भारतको आर्थिक प्रगतिका कारण पनि छिमेकी मुलुकका पर्यटक आगमन दर बढेको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरि राईले बताए ।
‘भारतीय प्रधानमन्त्री मोदी आउनुभयो, कथा वाचक बापु पनि आउनुभयो । त्यसबेला भारतीय मिडियामा लुम्बिनीबारे राम्रो कभरेज भयो,’ उनले भने, ‘सोही कारण भारतको अर्थतन्त्र पनि राम्रो भयो । रसिया र युक्रेन युद्धको बेलामा पनि भारतले राम्रोसँग प्रगति गरेको छ । विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुक पनि भएकाले भारतमा घुम्ने क्रम बढको छ ।’ भिसा र पासपोर्ट नचाहिने नेपाल भारतीय पर्यटकहरूका लागि नजिकको गन्तव्य हो ।
सीमा नाकाबाट नजिक भएकाले पनि लुम्बिनी घुम्न आउने भारतीयको संख्या धेरै भएको राईको भनाइ छ । लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढे पनि पर्यटन क्षेत्रले फाइदा लिन नसकेको व्यवसायीहरूको गुनासो छ । अधिकांश भारतीय पर्यटक आएर फर्किहाल्ने खालका रहेको व्यवसायीहरूले बताएका छन् । जसबाट लुम्बिनीले फाइदा लिन नसकेको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।
‘तथ्यांकमा हेर्दा भारतीय पर्यटकको आगमन धेरै नै देखिन्छ । तर उनीहरू आएजस्तो गतिविधि बढेको छैन,’ उनले भने, ‘भारतीयहरू आएर पर्सा चौराहभन्दा यतै बस राख्छन् । त्यहीँबाट आफ्नो हिसाबले इरिक्सा र भ्यानमा मायादेवी मन्दिर गएर फर्किहाल्छन् । बस्ने गरी आउने भारतीयहरू एकदम कम छन् ।’ भारतीयहरूले आफ्नै मुलुकका गाइड लिएर आउने र उनीहरूले लुम्बिनीबारे सही ब्रिफिङ पनि नगर्ने ज्ञवालीको भनाइ छ ।
‘उनीहरूका गाइडले सही ब्रिफिङ पनि गर्दैनन्, हामीले उत्पादन गरेका गाइडहरू बेलहियामा राखेर नेपाल भित्रिएका पर्यटकलाई यहाँका पर्यटकीय स्थल र महत्त्वबारे सम्झाउन सक्नुपर्छ,’ उनले भने, ‘लुम्बिनी मात्र होइन, वरिपरि रामग्राम, देवदह, कपिलवस्तु छ भनेर बुझाउनुपर्छ । यसमा पर्यटन मन्त्रालयले नीतिगत व्यवस्था गर्नुपर्छ ।’
लुम्बिनीमा भारतीय पर्यटक आगमन दर बढेपछि सन २०१९ को तुलनामा नेपाली र तेस्रो मुलुकका पर्यटकको आगमनदर कमजोर रहेको छ । सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्मको नौ महिनामा राहदानी वाहक १ लाख ९ हजार पर्यटक लुम्बिनी आएका थिए । यो वर्ष सेप्टेम्बरसम्म ४५ हजार ९ सय ४८ विदेशी पर्यटक लुम्बिनी आएका छन् । सन् २०२३ को सेप्टेम्मबरमा मात्र ५ हजार ४ सय ६ पर्यटक भारतबाहेकका देशबाट विदेशी पर्यटक लुम्बिनी आएका छन् ।
चार वर्षअघि सन २०१९ को सेप्टेम्बरमा ८ हजार ६ सय २७ विदेशी पर्यटक आएका थिए । कोभिडअघिको तुलनामा आन्तरिक पर्यटकको आगमन दर पनि निकै कम छ । सन् २०१९ को सेप्टेम्बर महिनासम्म मुलुकभित्रैबाट ८ लाख १८ हजार ३ सय ३८ जना लुम्बिनी घुम्न आएका थिए । तर, यो वर्षको नौ महिनामा त्यसको करिब आधा ४ लाख २० हजार आन्तरिक पर्यटक आएको लुम्बिनी विकास कोषले जनाएको छ ।
बुटवल नारायणगढ सडक विस्तारका क्रममा भएको अस्तव्यस्तताले पनि भारतीयको तुलनामा नेपाली र तेस्रो मुलुकका पर्यटकहरूको आगमनदर कम भएको हो । बुटवल नारायणगढ सडक विस्तार छिटो सक्न र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान थप्न सके मात्रै लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको आगमन बढ्ने उनीहरूको भनाइ छ ।