मर्दी जाने पदयात्रीबाट एक महिनामै १२ लाख प्रवेश शुल्क संकलन
![](https://www.ghumphir.com/wp-content/uploads/2016/07/mardi-himal-.jpg)
मंसिर, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले मर्दी, खुमैं र कोर्चाङमा आउने पदयात्रीबाट एक महिनामै १२ लाख रुपैयाँ प्रवेश शुल्क उठाएको छ । गाउँपालिकाले कात्तिक १७ गतेबाट स्वदेशी तथा विदेशीबाट प्रवेश शुल्क उठाउन सुरु गरेको थियो ।
गाउँ कार्यपालिका सदस्य राम गुरुङका अनुसार मंसिर १ गते मर्दी र खुमैं दुवैमा सर्वाधिक पदयात्री पुगेका थिए । उनले मर्दीमा त्यस दिन ५६० जना स्वदेशी र ३९ जना विदेशी पदयात्री पुगेको जानकारी दिए । ‘खुमैंमा पनि त्यो दिन २५० जना नेपाली पदयात्री एकैदिन पुगेको रेकर्ड छ’, गुरुङले भने ।
पालिकाभित्र पदयात्रा गर्न आउने विदेशी पदयात्रीसँग ५ सय र नेपाली पदयात्रीसँग १ सय रुपैयाँ प्रवेश शुल्क उठाइन्छ । माछापुच्छ्रे गाउँपालिकाको माछापुच्छ्रे मोडल ट्रेल (मर्दी हिमाल पदमार्ग), ग्रेट माछापुच्छ्रे ट्रेल (खुमैं–कोर्चाङ पदमार्ग) र तारा–हिलटप पदमार्ग पछिल्लो समय पदयात्रीको रोजाइमा पर्दै आएको छ ।
गाउँपालिकाभित्र रहेका पदमार्गमा शुल्क उठाउने निर्णय हालैको गाउँसभाले गरेको थियो । प्रवेश शुल्क उठान गाउँसभाबाट आर्थिक ऐन २०८० पारित गरिएको छ । मर्दी हिमालमा वर्षमा करिब ३५ हजार पदयात्री पुग्ने गरेको गाउँपालिकाको अनुमान छ । त्यसमध्ये मर्दी पुग्ने विदेशी पदयात्रीको संख्या अनुमानित ७ हजार छ ।
संकलित रकमबाट ठाउँठाउँमा फोहोर संकलन गर्ने डस्टबिन, पर्यटक सूचना केन्द्र र पर्यटक प्रहरीको व्यवस्थापन गर्ने गाउँपालिकाको योजना छ ।
‘पछिल्लो समय नेपालीहरु ट्रेकिङ सुरु गरेका छन् । तर, उनीहरुको ट्रेकिङ होइन म्याराथन हो । कोभन्दा को अगाडि पुग्ने प्रतिस्पर्धाजस्तै छ,’ उनले भने, ‘त्यसमाथि वनजंगलमा स्पिकर बजाउँदै हिँडेर डिस्टर्ब गरिरहेका छन् । त्यसलाई व्यवस्थापन गर्न पनि सूचना केन्द्र र पर्यटक प्रहरी चाहिन्छ ।’
तर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले भवन बनाउन अनुमति नदिँदा उक्त योजना अगाडि बढाउन नसकेको बताए ।
पर्यटन व्यवसायी रुष्ट
गाउँपालिकाले पदयात्राीसँग शुल्क उठाउन थालेपछि पर्यटन व्यवसायी भने रुष्ट छन् । विभिन्न बहानामा शुल्क उठाउँदा पर्यटक घटेको भन्दै उनीहरुले शुक्रबार गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिले गाउँपालिकालाई बुझाएको ध्याणाकर्षण पत्रमा विभिन्न शीर्षकमा कर तिर्नुपर्दा पर्यटक घटेको उल्लेख गरिएको छ ।
पालिकाले प्रवेश शुल्क उठाउँदा पर्यटन व्यवसायी तथा मर्दी क्षेत्रका पर्यटकसँग सरोकार भएका सबै गतिविधिमा नकारात्मक असर परेको समितिको जिकिर छ ।
‘कर प्रणाली लागू हुनुभन्दा अगाडि दैनिक औसत २५० आन्तरिक र १५० विदेशी पर्यटक आवागमन गरेको,’ पत्रमा भनिएको छ, ‘पछि पर्यटक आवागमन दिनानुदिन घट्दै गएको साथै होटल बुकिङ पनि रद्ध भएका छन् ।’
मर्दीलगायतका पदयात्रामा आउने विदेशी पर्यटकसँग पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले संयुक्त रुपमा पदयात्रा सूचना प्रणाली (टिम्स) बापत विदेशी पर्यटकसँग शुल्क लिन्छ ।
टिम्सबापत सार्क देशका पर्यटकले १ हजार र सार्कबाहिरका विदेशी पर्यटकले २ हजार रूपैयाँ लिने गरेको छ ।
यस्तै, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पनि यहाँका पदमार्गमा प्रवेश शुल्कको नाममा रकम असुल्दै आइरहेको छ । एक्यापले सार्क देशका पर्यटकसँग १ हजार रुपैयाँ र सार्क बाहिरका विदेशी पर्यटकसँग ३ हजार रूपैयाँका दरले प्रवेश शुल्क लिँदै आएको छ ।
अहिले गाउँपालिकाले पनि प्रवेश शुल्क लिँदा पदयात्रीहरु तेहरो करको मारमा परेको पर्यटन व्यवसायीहरुको भनाइ छ ।