९ महिनाको अवधिमा पर्यटक आगमन ९ लाख नाघे

मंसिर, काठमाडौं । नेपालमा सन् २०२३ को ९ महिनाको अवधिमा पर्यटक आगमन ९ लाख नाघेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा कुल ९ लाख १८ हजार ३०८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

पछिल्लो दुई महिनायता मासिक १ लाख भन्दा माथि पर्यटक आगमन हुँदा समग्र आगमन संख्यामा उत्साहजनक वृद्धि भएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार नोभेम्बरमा मात्र १ लाख ८ हजार ६३० जना पर्यटकले नेपाल भ्रमण गरे । यसअघि अक्टोवर महिनामा १ लाख १७ हजार ३०६ जनाले नेपाल भ्रमण गरेका थिए ।

नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बर २०२३ मा सबैभन्दा धेरै भारतीय पर्यटक छन् । भारतबाट एक महिनामा २४ हजार ४४३ जनाले नेपाल भ्रमण गरेका छन् । दोस्रो स्थानमा अमेरिकी पर्यटक छन् । अमेरिकी पर्यटकको संख्या ११ हजार ४६१ जना रहेको छ । तेस्रो स्थानमा चिनियाँ नागरिक छन् । उनीहरुको संख्या ७ हजार ६०१ जना रहेको छ ।

यस्तै बेलायतबाट ६ हजार १३८, अष्ट्रेलियाबाट ५ हजार ६०, थाइल्याण्डबाट ३ हजार ९६२, बंगलादेशबाट ३ हजार ७६१, जर्मनीबाट ३ हजार ५१२, श्रीलंकाबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ जना पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । पछिल्लो तथ्यांकले सो लक्ष्य भेट्ने आंकलन गरिएको छ ।


Facebook Comment


No ads found for this position