भैंसी गोठ बन्यो पर्यटकीय क्षेत्र

धिरन खत्री

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने भैंसी गोठ ‘घोडेपानी’ पर्यटकीय क्षेत्रमा परिणत भएको छ । सडक नहुँदा पोखराबाट मुस्ताङ जाने आउनेलाई लक्षित गरेर स्थानीयले भैंसी राख्ने गोठमा चिया पसल राख्ने गरेकोमा अहिले सो क्षेत्र पर्यटकीय क्षेत्रमा परिणत भएको हो ।

तिनै गोठहरू राखिएका चिया पसलमा अहिले विशाल पर्यटकीय बस्ती बसेको छ । घोडेपानी पर्यटकीय सम्भावना र अवसरका कारण छोटो समयमै विकसित र उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको हो । २०२८ सालमा भैंसी गोठ लिएर आएका ज्ञानबहादुर गर्वुजा पछिल्लो समय होटल मालिक बनेका छन् । भैंसी गोठलाई विस्थापित गर्दै ज्ञानबहादुर गर्वुजाले २०४८ सालदेखि सानो होटल सञ्चालन गरेर मुस्ताङ जाने आउने पर्यटक र बटुवालाई खाना, चिया नास्ता खुवाउने गर्थे ।

विस्तारै विदेशी र स्वदेशी पर्यटकको आगमन बढेसँगै आम्दानीलाई ठूला होटल निर्माणमा लगानी गरेको नाईस भ्यू होटलका सञ्चालक गर्वुजाले बताए । म्याग्दी घोडेपानी र त्यसको शिखरमा तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित रहेको पुनहिलबाट आँखैअघि १५ बढी हिमश्रृखला, म्याग्दी, पर्वत, कास्कीलगायतका जिल्लाको सुन्दर गाउँ सहर अवलोकन गर्न सकिन्छ । जंगलकोबीचमा रहेको घोडेपानी आन्तरिक र विदेशी पर्यटक दुवैका लागि उत्तिकै आकर्षक गन्तव्य हो ।

घोडेपानी पुग्ने अधिकांश पर्यटकको अन्तिम गन्तव्य पुनहिल हो । यो क्षेत्र अहिले म्याग्दीको मात्रै नभई अन्नपूर्ण फेरोको फन्को मार्न आउने पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको छ । मनोरम हिम श्रृखलाको अवलोकन गर्न सकिने यस क्षेत्रमा पहिले तीर्थयात्री र नुन बोक्नेहरू उल्लेरीमा बास बसेर घोडेपानी हुँदै शिख र घारमा बास बस्न पुग्थे । घोडेपानीको शिरमा दर्जनौं हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने डाँडो थियो ।

जसलाई स्थानीय समेत रहेका मेजर टेकबहादुर पुनले ‘पुनहिल’ नामाकरण गरेका थिए । स्थानीयबासीले पछि उनै पुनको स्मृतिमा पुनहिलमा भ्यू टावर निर्माण गरेका हुन् । घोडेपानी पुग्ने पर्यटकको पुनहिल नपुगी नहुने गन्तव्य बनेको छ । पर्यटक आगमन हुन थालेको छोटो समयमै यहाँको विकासले फड्को मारेको अन्नपूर्ण गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताए । सुरुवातका चिया पसलहरू अहिले प्रायः सबै सुविधा सम्पन्न होटलमा रूपान्तरण भएका छन् ।

पोखरा–बागलुङ–बेनी सडक नबन्दासम्म मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीहरूको गोरेटो बाटो पर्ने यस क्षेत्रमा अहिले २६ वटा सुविधा सम्पन्न होटलहरु खुलेका छन् । एक दिनमा एक हजार जनाभन्दा बढी बास बस्न सक्छन् । हरेक वर्ष पर्यटकको आगमन बढेसँगै होटल व्यवसायीले क्षमता विस्तार गर्दै लगेका छन् । सुरुवातमा विदेशी पर्यटकहरू मात्रै आउने गरे पनि पछिल्लो समय भने आन्तरिक पर्यटक पनि उत्तिकै संख्यामा आउने गरेको होटल सञ्चालन गरेका गर्वुजाले बताए ।

अन्नपूर्ण संरक्षण आयोजनाले समेटिएपछि यस क्षेत्रको बारेमा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमा थप सहयोग पुगेको थियो । घोडेपानीका होटलमा पुग्न सडक सुविधा, होटलमा चाहना अनुसारका परिकार, सुविधा सम्पन्न कोठा, इन्टरनेटलगायतका सुविधा उपलब्ध छ । पहाडको टाकुरामा अवस्थित घोडेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल देख्न पाउनु अर्को विशेषता हो । पर्यटकहरूको लागि होटल व्यवस्थापन उपसमितिकै पहलमा झन्डै एक करोड रुपैयाँको हाराहारीमा लगानी गरी पदमार्ग निर्माण गरिएको छ ।

घोडेपानीमा बास बसेका पर्यटकहरू करिब एक घण्टाको पैदल यात्रापछि पुनहिलमा पुगेर मनोरम हिमश्रृखलाको अवलोकन गर्ने गर्छन् । वरिपरि जंगलको बीचमा रहेको अग्लो डाँडामा बनाइएको भ्यू टावरबाट एकै नजरमा सेताम्मे हिमश्रृखलाको अवलोकन गर्दा पर्यटकहरू लोभिएर फर्कने गरेका छन् । वसन्त ऋतुमा घोडेपानी सेरोफेरो ढकमक्क फुलेका गुराँसे रगिन बन्छ । जंगललाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो नै लाग्ने गर्छ ।

नेपालमा पाइने ३२ प्रजातिका लालीगुराँसमध्ये घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलाबीलगायत आठ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । घोडेपानी पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिनामा दैनिक एकसय देखि पाँच सय जनासम्म विदेशी पर्यटक भित्रने गर्छन् । पर्यटकीय नगरी पोखरादेखि नयाँ पुल हुँदै एकै दिनमा घोडेपानी पुग्न सकिन्छ । त्यस्तै कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाडाँ भएर घोडेपानी पुग्न सकिन्छ । यहाँ यातायातमार्फत पनि पुग्न सकिन्छ ।


Facebook Comment


No ads found for this position