लुम्बिनीमा आन्तरिक पर्यटकको आगमन न्यून

सुदीप भण्डारी

बुटवल– लुम्बिनीमा आन्तरिक पर्यटकको आगमन न्यून रहेको छ । गत नोभेम्बरमा नेपालबाटै ८५ हजार ८५७ जना पर्यटक लुम्बिनी आएका थिए । जबकि कोभिड अघि सन २०१९ को नोभेम्बरमा १ लाख २७ हजार आन्तरिक पर्यटक आएका थिए । चार वर्षअघिको तुलनामा अझै ४२ हजार पर्यटक कम देखिएको छ ।

अक्टोबर महिना लुम्बिनी भ्रमणको लागि मुख्य सिजनमध्येको एक हो । सन् २०१९ को वर्षभर कुल ११ लाख ७० हजार आन्तरिक पर्यटक लुम्बिनी आएका थिए । यो वर्ष ६ लाखको आसपासमा मात्र पर्यटक आउने सम्भावना देखिएको छ । गत नोभेम्बरसम्म अर्थात् ११ महिनाको अवधिमा ५ लाख ४६ हजार ८६३ आन्तरिक पर्यटक लुम्बिनी आइसकेका छन् । डिसेम्बरमा थपिने पर्यटकको संख्या जोड्दा ६ लाख भन्दा केही बढी हुन सक्छ ।

सन् २०१९ को डिसेम्बरमा चीनमा कोरोना संक्रमण देखा परेको थियो । २०२० को सुरुवातसँगै यसको विश्वाव्यापी प्रभाव पर्‍याे । २०२१ सम्म कोभिडको प्रभावले लुम्बिनीसहित मुलुकको समग्र पर्यटन क्षेत्र कमजोर बनेको थियो । कोरोना प्रभाव हराएपछि २०२२ बाट जनजीवन पुरानै अवस्थामा फर्किएको थियो । तर लुम्बिनीको पर्यटन क्षेत्र अझै पहिलेको लयमा फर्किन सकेको छैन । लुम्बिनीमा पर्यटन आगमन लयमा फर्किन नसक्नुको मुख्य कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकको दुरावस्थालाई लिइएको छ ।

बुटवल नारायणगढ सडकलाई चार लेनमा विस्तार गर्न २०७५ चैतमा शिलान्यास भएको थियो । सम्झौता अनुसार तीन वर्षमा सम्पन्न हुनुपर्ने काम पटक–पटक म्याद थप हुँदा समेत सकिएको छैन । बुटवल नारायणगढ सडकको अव्यवस्थाले लुम्बिनी आउने पर्यटकमा समेत असर परेको छ । होटल संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले सडकको कारणले धेरै आन्तरिक पर्यटक आउन नचाहेको बताए ।

‘लुम्बिनीमा धेरै आन्तरिक पर्यटक आउने भनेको काठमाडौं र पूर्वबाट हो । सडक दुरावस्थाका कारण एकदम कम आउनुभएको छ,’ उनले भने, ‘जति पर्यटक आउनुभएको छ, उहाँहरूले अब बाटो नबनुन्जेल हामी आउनै सक्दैनौं भन्नुभएको छ ।’ नोभेम्बर महिनामा लुम्बिनीका पर्यटन व्यवसायीको मुख्य श्रोत आन्तरिक पर्यटक भएको ज्ञवालीले बताए । लुम्बिनीमा आन्तरिक पर्यटन बढ्न नसक्नुको कारण मुलुकमा देखा परेको आर्थिक मन्दी पनि रहेको छ ।

संस्कृति तथा पर्यटनविद डा. गितु गिरिले आर्थिक क्षेत्र चलायमान नहुँदा र मानिसहरूको क्रयशक्ति घटेको कारण आन्तरिक पर्यटक नबढेको बताइन् । ‘आर्थिक मन्दीका कारण बजार चलायमान छैन । चलायमान नहुँदा जनताको आम्दानी भएन, क्रय शक्ति घट्यो,’उनले भनिन्,‘आम्दानी कम भएपछि खर्च बचाउन खोज्छ । खर्च बचाउन खोज्दा घुम्ने क्रम कम भएको हो ।’ गिरिले बुटवल नारायणगढ सडक पनि लुम्बिनीमा आन्तरिक पर्यटक घटाउने मुख्य कारण भएको बताइन् । त्यस बाहेक लुम्बिनीमा पर्यटकीय वातावरण नबनेको उनको भनाइ छ ।

होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले बुटवल नारायणगढ सडक समयमा विस्तार नहुँदा मुलुकको समग्र पर्यटकीय वातावरण बिथोलिएको बताए । ‘नारायणगढबाट बुटवल आउन दुई घण्टा लाग्नेमा अहिले ५ घण्टा लाग्छ । यात्रा गर्न निकै सकस छ । यस्तो सडकमा कामै नपरी मान्छे हिड्न खोज्दैन,’ उनले भने,‘लुम्बिनी आउन चाहने पर्यटकलाई त असहज गराएकै छ । त्यस बाहेक पश्चिमका थुप्रै पर्यटकीय स्थललाई समेत असर पारेको छ ।’

बुटवलको न्यू इरा होटलका सञ्चालकसमेत रहेका नेपालले राष्ट्रिय आवश्यकताको यो सडकलाई सम्पन्न गर्न कत्ती पनि ढिला गर्न नहुने र रातदिन काम गरेर भएपनि छिटो विस्तार सक्नुपर्ने बताए । बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटक भने कोभिडअघि भन्दा बढेका छन् । भारतीय पर्यटक बढ्नु एवं आन्तरिक र तेस्रो मुलुकका पर्यटक नबढ्नुमा सडकको अवस्था नै मुख्य कारण देखिएको छ ।

सन् २०१९ मा लुम्बिनीमा भारतीय पर्यटकको आगमन दुई लाख ६ हजार रहेको थियो । यो वर्ष नोभेम्बरसम्म २ लाख १९ हजार १६१ भारतीय लुम्बिनी आइसकेका छन् । सीमावर्ती भारतीय पर्यटकलाई बुटवल नारायणगढ सडक समस्याले असर पार्दैन । तर आन्तरिकसँगै तेस्रो मुलुकका धेरै पर्यटकले बुटवल नारायणगढ सडकको प्रयोगकर्ता पनि हुन्छन् । सोही कारण लुम्बिनीमा तेस्रो मुलुकका पर्यटक आगमन पनि लयमा फर्केको छैन ।


Facebook Comment


No ads found for this position