कर्णालीका ७९ पालिकामा चन्दननाथ पर्यटन बोर्ड

सागर परियार

जुम्ला– पर्यटकीय दृष्टिले जुम्लालाई विश्वमा चिनाउन कर्णालीका ७९ वटै पालिकामा चन्दननाथ पर्यटन बोर्ड गठन गरिएको छ । पर्यटन क्षेत्रबाट जुम्लालाई चिनाउन चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायतको संयोजकत्वमा ११ सदस्यीय पर्यटन बोर्ड गठन गरिएको नगरपालिका प्रवक्ता तथा वडा नं ४ का वडाध्यक्ष नवराज देवकोटाले बताए ।

उनका अनुसार बोर्डले जिल्लाको पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारलायतका काम गर्ने छ । बोर्डको सदस्यका उपमेयर रामदेवी खड्का, पर्यटन व्यवसायी नोर्बु लामा, सरोज शाही, तोरन कठायत, घनश्याम नगरकोटीसहित पर्यटनसँग सम्बन्धित कार्यालयहरुलाई सदस्यमा राखिएको छ । नगरपालिकाको वातावरण विज्ञ, डिभिजन वन कार्यालय, सामाजिक विकास कार्यालय, भौतिक पूर्वाधार कार्यालय सदस्यमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

धर्म साँस्कृतिक विज्ञ राख्नु पर्ने भए पनि हालसम्म राखिएको छैन् । पर्यटन केन्द्रित गतिविधि गर्न चालु आवमा चन्दननाथले ५ लाख रुपैयाँ विनियोजित गरेको छ । जुम्ला चिनाउने आधार नै पर्यटन भएकोले बोर्ड गठन गरेको मेयर कठायतले बताए । उनले भने,‘जुम्ला सम्भावना भएर पनि गरिब बन्यो । ओझेलमा पर्याे । राज्यको उपेक्षामा सदियाैंदेखि छ । पर्यटन क्षेत्रमा न्यून लगानी छ । त्यसैले चन्दननाथले पर्यटन प्रवर्द्धनलाई जोड दिएको हो ।’

उपमेयर खड्काले कृषि, पर्यटन, सांस्कृतिक, भाषा साहित्यसँग पर्यटनलाई जोडेर जिल्लाको विकासमा टेवा पुर्‍याउन सकिने बताईन् । नीतिगत रुपमै चन्दननाथअघि बढेको र पर्यटनसँग महिला र युवालाई जोडिने उनको भनाइ छ । पर्यटन प्रवर्द्धनका लागि जिल्लामा कुनै पालिकाले सुरसारै नगरेको अवस्थामा चन्दननाथले पर्यटन बोर्ड गठन गर्नु उदाहरणीय काम भएको पर्यटन व्यवसायी लामाले बताए । ठोस नीति, लगानी र संयन्त्र अभावले जिल्लामा सम्भावना भएर पनि अपेक्षित पर्यटक आउन सकेका छैनन् । जुम्लालाई चिनाउन । पर्यटन प्रवर्द्धन गर्न चन्दननाथ जुरमुराएको लामाको भनाइ छ ।

कर्णाली प्रदेशको जुम्ला कृषि, पर्यटन, भाषा, साहित्य, सभ्यता तथा परम्पराका हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला हो । प्राकृतिक पर्यटन, पर्यापर्यटन, ऐतिहासिक धार्मिक स्थलका साथै एग्रो टुरिजम प्रवर्द्धनबाटै जुम्ला समृद्ध बन्न सक्नेमा जोड दिइएको छ । स्थानीय उत्पादन, स्रोत र जनशक्तिलाई परिचालन गरी बढ्दो बेरोजगारी घटाउन, जीविकोपार्जनमा सुधार ल्याउन र आर्थिक समृद्धि हाँसिल गर्न जुम्लाका लागि पर्यटन क्षेत्र पहिलो आधार भएको स्थानीयले बताएका छन् ।

नेपाली भाषा साहित्यको उद्गम स्थल सिञ्जा, विराट दरबार, पाण्डुगुफा, गिडिदह, तातोपानी धारा, जुम्लामै पहिलो मार्सिधान रोपिएको गुरुफोक्टो, नेपालकै दोस्रो ठूलो स्तुपा, प्रसिद्द चन्दननाथ भैरबनाथ मन्दिरलगायत ऐतिहासिक मष्टो देवतालगायत पर्यटन गन्तव्य जुम्लामा रहेको छ । यहाँको स्याउ, सिमि, ओखर, कोदो फापर, चिनो कागुनोलगायतको कृषि उत्पादनलाई एग्रो टुरिजमसँग जोड्न सकेमा उत्पादन र रोजगारीमा वृद्धि हुन सक्ने आकलन गरिएको छ ।


Facebook Comment


No ads found for this position