१८ वर्षमा तीन हजार मात्रै पर्यटक

पर्यटक क्षेत्रमा विदेशी पर्यटक आकर्षित गर्न सकेको खण्डमा मुलुकको आर्थिक समृद्धि तथा जीविकोपार्जनमा सुधार हुने देखिएको छ । तर पनि रारा तालमा विदेशी पर्यटकको आगमनको अवस्था नाजुक रहेको छ । भ्रमण अवलोकनका लागि पर्याप्त पैसा खर्च गर्न सक्ने विदेशी पर्यटकलाई आकर्षित गर्न सक्ने योजना नबन्नु र पर्यटक मैत्री पूर्वाधार निर्माण नहुनु नै विदेशी पर्यटक न्यून हुनुको मुख्य कारण हुन् ।

विगत १८ वर्षको तथ्यांकलाई हेर्दा रारा तालमा २ हजार ९५२ जना मात्रै विदेशी पर्यटक भित्रिएका छन् । आर्थिक वर्ष २०६२/६३ देखि आव ०७९/८० सम्म १८ वर्षको अवधिमा रारा तालमा २९ सय ५२ जना विदेशी तथा सार्क मुलुकका पर्यटकले अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख राजु घिमिरेले जानकारी दिए । १८ वर्षमा न्यूनतम चारदेखि अधिकतम साढे चारसम्म विदेशी पर्यटकले अवलोकन गरेका छन् ।

कोभिडपछि विदेशी पर्यटकको आगमन घटेको छ । सरकारले रारा पर्यटन वर्ष २०७५ घोषणा गरेर व्यापक प्रचार गरेपनि पर्याप्त पूर्वाधार निर्माण र पर्यटन क्षेत्रमा लगानी नगर्दा अपेक्षित पर्यटक आउन सकेका छैनन् । रारामा वर्षौंपछि इन्टरनेटको समस्या समाधान भए पनि अन्य असुविधाहरू थुप्रै छन् । रारा पुगेर सबै कष्ट भुले पनि रारामा पर्यटक भित्र्याउन पूर्वाधारमा लगानी गर्नुपर्ने रारा पुग्ने हरेक पर्यटकको सुझाव छ । राराको गहिराइ १ सय ६७ फिट, लम्बाइ ५ किमि र चौडाइ ३ किमि रहेको छ ।


Facebook Comment


No ads found for this position