पर्यटकीय क्षेत्र रामग्राममा चहलपहल बढ्यो

बुटवल– रामग्राम स्तुपा क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासको लागि दूरदर्शी परियोजनाको शुभारम्भ गरिएपछि चहलपहल बढेको छ । लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजनामा परियोजना शुभारम्भ गरिएपछि चहलपहल बढेको हो । मंगलबार भएको शुभारम्भ कार्यक्रम लुम्बिनीमा बर्षेनी हुने बुद्ध जयन्ती समारोहको झल्को दिने खालको थियो । स्तुपामा पहिलो पटक भव्य कार्यक्रम भएको रामग्राम नगरपालिकाका मेयर धनपत यादवले बताए ।

‘गत बुद्ध जयन्तीमा पनि प्रधानमन्त्री आउनुभएको थियो । त्यस बेला हाम्रै नगरपालिकाको कार्यक्रम थियो । अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम भएको पहिलो हो,’उनले भने,‘यो कार्यक्रमपछि अब सरकारले यहाँको गुरुयोजना अगाडि बढाउने काममा तीब्रता दिनुपर्छ । अर्को तर्फ रामग्रामलाई विश्वसम्पदा सूचीमा सुचिकृत गराउन आवश्यक छ ।’ नगरप्रमुख यादबले लुम्बिनीमा विदेशी पर्यटक आउँदा रामग्रामबारे पनि जानकारी गराउनुपर्ने बताए ।

रामग्रामको पर्यटकीय विकासको लागि लुम्बिनीबाट यातायातको सिधा पहुँच आवश्यक भएको नेपाल एशोसिएन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) नवलपरासी पश्चिमका अध्यक्ष भोला पराजुलीले बताए । ‘रामग्रामलाई बुद्ध सर्किटसँग जोड्दै गर्दा यातायातको पनि सहज र सिधा पहुँच हुनुपर्छ,’ उनले भने,‘लुम्बिनीको वृहत विकासको लागि रामग्राम जस्ता बुद्धस्थलमा यातायातको सुविधालाई पनि प्राथमिकतामा राख्यो भने यो ठाउँको छिटो प्रवद्र्धन हुन सक्छ ।’

पराजुलीले प्रधानमन्त्री सहभागी कार्यक्रमले रामग्रामको बृहत्तर विकासको ढोका खुलेको उल्लेख गरे । ‘यसले एउटा बृहत्तर विकासको ढोका खुल्यो भन्ने हाम्रो बुझाइ छ । सांस्कृतिक तथा पर्यटकीय हिसाबले अब रामग्रामको एउटा खुड्किलो अगाडि बढ्यो भन्ने लाग्छ,’ उनले भने,‘रामग्रामलाई बुद्ध सर्किटसँग जोड्ने अभियानमा उच्च प्राथमिकता दिएको खण्डमा अहिले भएको कार्यक्रमले सार्थकता पाउँछ नभए पुरानै ताल हुन्छ ।’

रामग्राममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आथित्यतामा भएको समारोहमा पर्यटन मन्त्री सुदन किराँती, पतन्जलि योग पिठका अध्यक्ष आचार्य बालकृष्ण, भारतीय जनता पार्टीका सांसद राम माधवलगायत सहभागी थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले अब रामग्रामको विश्वव्यापी रूपमा प्रचारप्रचार हुने आशा व्यक्त गरे । ‘रामग्राम अगाडि उभिएर विश्वशान्तिको लागि भनेर आज मलाई प्रमुख अथितिको रूपमा दीप प्रज्वलन गर्ने जो अवसर प्राप्त भयो,’उनले भने ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले रामग्रामलाई नयाँ तरिकाले ब्राण्डीङ गर्नुपर्ने बताए । गौतमबुद्धको अस्तु धातु रहेको स्थान रामग्राम स्तुपा लुम्बिनी विकास कोषअन्तर्गत रहेको छ । बुद्धस्थलको रूपमा रहेको रामग्राम स्तुपामा अरु बेला कमै मात्र चहलपहल हुने गरे पनि शिलान्यास हुने भएपछि भने चहलपहल बढेको थियो ।


Facebook Comment


No ads found for this position