चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने
सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुराँ एण्ड बार एशोसिएसन नेपालको सहआयोजनामा पुस १० देखि १४ गतेसम्म मैनाहाचौरमा महोत्सव गर्न लागेको शुक्रबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुनसकेको थिएन । पछिल्लो समय सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिए । महोत्सवले अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटन विकासमा सहयोग पुर्याएको उनले बताउ ।
साविकको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्तीपोलो हटाइएको छ । अधिकारकर्मीहरूले प्रश्न उठाउन थालेपछि व्यवसायीहरूले उक्त तीन प्रतियोगिता हटाएका हुन् ।
पाँच दिनसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत हात्ती शृङ्गार प्रतियोगिता, हात्ती वनभोज र डुङ्गा दौड प्रतियोगितालाई यथावत राखिएको छ । महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तक्र्रिया कार्यक्रम राखिएको छ । स्थानीय कला, संस्कृतिको संरक्षण गर्दै कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने महोत्सवमार्फत लक्ष्य राखिएको छ ।