चोभारस्थित मन्जुश्री पार्कमा ‘क्यानोपी जिपलाइन’ सञ्चालनमा

काठमाडौंको चोभारस्थित मन्जुश्री पार्कमा ‘क्यानोपी जिपलाइन’ सञ्चालनमा आएको छ। तीन चरण गरेर खेल्न पाइने जिपलाइनको कुल लम्बाई करिब ४ सय मिटर छ। सबै चरणको जिपलाइन खेल्न करिब १० मिनेट लाग्छ।

जिपलाइन खेल्दा गरिने अनुभूति अनुसार पहिलो चरणलाई  ‘एड्भेञ्चर’, दोस्रोलाई ‘डेयर डेभिल्स’ र तेस्रोलाई  ‘द फन’ नामाकरण गरिएको छ।

अभिनेत्री वर्षा राउतले शनिबार जिपलाइन उद्घाटन गरेकी हुन्।

जिपलाइनका क्रममा मन्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलविनायक मन्दिर, चोभारको गुम्बा, नवनिर्मित सुख्खा बन्दरगाह, चम्पादेवी र चन्द्रागिरी डाँडा, काठमाडौं तथा ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिनेछ। टेकअफ टावरबाटै सुन्दर हिमशृङ्खला देख्न सकिन्छ।

जेबी एड्भेन्चर प्रा.लि.ले पर्यटन विभाग र स्थानीय तहसँग स्वीकृति लिएपश्चात जिपलाइन सञ्चालनमा ल्याइएको कम्पनीका निर्देशक पञ्चलाल महर्जनले जानकारी दिए।

दैनिक ३ सयदेखि ३५० जनासम्मले जिपलाइन खेल्न सक्छन्। जिपलाइन हरेक दिन बिहान १० बजेदेखि साँझ ५:३० बजेसम्म सञ्चालन हुने उनको भनाइ छ। १ सय किलोग्राम तौल भएकासम्मले जिपलाइन खेल्न मिल्ने महर्जनले जानकारी दिए।

कति लाग्छ शुल्क?

कम्पनीले जिपलाइनको पूरै प्याकेज केही समयका लागि १२ सय रुपैयाँ प्रतिव्यक्ति उपलब्ध गराउनेछ। तर पूरै नगरेर एक स्टेप मात्रै जिपलाइन गर्ने हो भने ५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्नेछ।

टेण्डम (जोडी) जिपलाइनको मज्जा १ हजार ५ सय रुपैयाँमै लिन सकिन्छ। विद्यार्थी (परिचय पत्र सहित) र किर्तिपुर नगरपालिकाको वडा नम्बर ६ का स्थानीयले सबैखाले जिपलाइनमा २५ प्रतिशत छुट पाउनेछन्।

 


Facebook Comment


No ads found for this position