पर्यटनदेखि विमानस्थलसम्म
अच्युतप्रसाद पौडेल ‘चिन्तन’
सबैको मुखमा सुनिन्छः पर्यटन, टुरिस्ट, पर्यटक, टुरिजम आदि । टुरिजम वास्तवमा फ्रेन्च शब्द हो । १९ औं शताब्दीदेखि यस शब्दले बढी प्रश्रय पायो । पर्यटक भनौं वा टुरिस्ट शब्द ल्याटिन भाषा हो । कुनै काम वा उद्देश्यले मुलुकभित्र वा बाहिर घुम्न जाने व्यक्ति वा समूह भनेको पर्यटक हो । पर्यटक आन्तरिक र बाह्य दुई थरीका हुन्छन् । पर्यटन भन्नु र पर्यटक भन्नु पर्याय हुन् । डब्लुटिओको परिभाषाअनुसार स्वदेश वा अर्को देशमा बिदा, बिजनेस वा कुनै मिसनले भ्रमण गर्नेलाई पर्यटक भनिन्छ । समयावधि भने १ देखि १ सय दिनसम्मको बसाइ उद्देश्य राखी भ्रमण गर्नेलाई पर्यटक भनिन्छ ।
भ्रमणको क्रम वि.सं. १९०६ मा श्री ३ जंगबहादुर राणाको बेलायत यात्रा, उनको टिममा ५० औं जना यात्रु रहेका, पछिल्लो समय भारत–नेपाल, बेलायतमा दूतहरूको आदान–प्रदान भएको पाइए पनि वि.सं. २००७ सम्म नेपालले बाह्य क्षेत्रमा ठूलो प्रगति हासिल गरेको देखिँदैन । वि.सं. २००८ मा नेपाल विश्व पर्यटन संघको सदस्य बनेको र वि.सं. २०१४ मा पर्यटन बोर्ड, वि.सं. २०१६ मा पर्यटन निर्देशनालय, वि.सं. २०१८ मा पर्यटन विभाग, वि.सं. २०२८ मा पर्यटन विकास समिति, वि.सं २०३३ मा पर्यटन मन्त्रालय, वि.सं. २०३५ मा पर्यटन ऐन, वि.सं २०५२ मा पर्यटन नीति आउनुले सांगठनिक स्वरूपको इतिहास तय हुँदै आएको देखिन्छ ।
मुलुकको चौधौँ योजनाको अन्त्यसम्म विदेशी पर्यटक आगमनको संख्या १२ लाख पुर्याउने, विदेशी पर्यटकको बसाइ अवधि सरदर १५ दिन पुर्याउने, सरदर दैनिक खर्च ६० अमेरिकी डलर पुर्याउने लक्ष्य थियो । हिमाली, पहाडी र तराईका भौगोलिक विविधता, समुद्र सतहदेखि ७० मिटर मात्रको उचाइ पनि यहीँ रहेको र विश्वका दुर्लभ पाटे बाघ, काँडे भ्याकुर, धेरै प्रजातिका चरा, जीवित देवी कुमारी र असंख्य चाडपर्व, जात्राहरूले नेपाल र नेपालीको छुट्टै चिनारी दिएको छ ।
कसरी भित्रिन्छन् पर्यटक ?
धेरै पर्यटक भित्रिने काठमाडौँ एयरपोर्टबाटै हो । यसको पुरानो नाम गौचर मैदान हो, जहाँ गाईवस्तु चराइन्थ्यो । सन् १९४९ मा यो हवाई मैदानमा परिणत भयो । अहिले यो सुन तस्करीको मुख्य केन्द्र बनेको छ । यहाँ अवतरण भएको पहिलो विमान विच क्राफ्ट बोनान्जा हो । यहाँबाट उडेको पहिलो विमान सन् १९५० को फेब्रुअरी २०, हिमालय एभिएसनको डकोटा हो, जसले कोलकाताका लागि उडान भर्यो । सन् १९५५ मा राजा महेन्द्रले यहाँको औपचारिक उद्घाटन गरे । अहिले एकेडेमी, दलको पार्टी प्यालेस भएझैं यो विमानस्थल पनि दलको भर्तीकेन्द्र भएको छ । सन् १९६४ मा यसको नाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भयो । सन् १९६७ मा जर्मनीको लुफ्थान्सा एयरलाइन्सको बोइङ ७०७ जेट पहिले अवतरण भयो यहाँ । सन् १९७२ देखि मात्रै यो विमानस्थल व्यापारिक प्रयोजनमा आयो ।
यसको कुल यात्रु क्षमता ९२ लाख हो र सन् २०१८ सम्ममा ७२ लाख यात्रुले सेवा लिएको तथ्यांक छ । कोभिडमा यो थला पर्यो । पंक्तिकार यो क्षेत्रको भुक्तभोगी हो र पुरानो बानेश्वर, भीमसेनगोला हुँदै हालको एयरपोर्टबाट सीधै काँडाघारी निस्केर भक्तपुरको यात्रा तय गरिन्थ्यो । ०३४–३५ सालतिर कोटेश्वरको बस्ती उठाइयो, विमानस्थलको क्षेत्र व्यापक भयो र त्यहाँका बासिन्दा नयाँ बस्ती वा हालको कपनतिर विस्थापित भए । हाल देशमा तीन नेपालीसहित तीनवटा वायुसेवाका कम्पनीहरूले अन्तर्राष्ट्रिय उडान भर्ने गरेका छन् यहाँबाट । आन्तरिकतर्फ दुईतर्फी दैनिक २ सय ७० वटासम्म उडानमार्फत १४ हजार बढी यात्रुले सेवा लिँदै छन् । यसै वर्षको दसैँदेखि ७३ वर्षको इतिहासमा विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ भनिएको छ ।
पर्यटन विस्तारकै लागि वायु सेवा निगमले अहिले तीनवटा विमान किन्ने भन्दै छ, तर उसलाई अहिले नै ४८ अर्बको ऋणभार छ । उडान नियमित र भरपर्दो छैन, भाडादर महँगो छ, टिकटमा पनि भ्याट लागेको छ, निजी विमान नाफा नआउने भए चल्न मान्दैनन्, सरकारी प्रायः घाटामै छन्, दुर्गममा ठूलाहरू आएको मौका पारी बिरामी हुनुपरेको छ, सुत्केरीको हालत पनि त्यस्तै छ । एसियाको ढोका भनिएको थाइल्यान्डको थाई एयर र हाम्रो एनए एकैपल्ट आएका हुन्, तर थाई एयर संसारभरि चराझैं लगातार उडिरहन्छ, यहाँ विमानहरूको अनुगमन गर्ने अन्तर्राष्ट्रिय संस्था आइकाओले कालोसूचीमा राखेको छ । एक दशक भयो, त्यसमा सुधार छैन ।
देशमा राजनीति नमिसिएको ठाउँ भेटिन्न । ठूला पूर्वाधार, परियोजनामा राजनीति छ, मेलम्चीको पानीमा पनि । जलवायुको संकट छ भन्दै क्षतिपूर्तिका लागि युएईमा नेताहरूले रोइलो देखाएर आए, वातावरण प्रदूषणमा सहयोगी हुने बारामा अर्को विमानस्थल बनाउन पाइएन भनेर रोइलो गर्दै छन् ती, २४ लाख बढीको रुख नै कटान हुन्छ त्यहाँ एयरपोर्ट बनेमा । देशका युवाजति खाडी भासिए, यहाँ बनेका विमानस्थलहरूमा मुसा कुदिरहेका छन् । सम्भाव्यता अध्ययनबिना नै विमानस्थल बन्ने गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकै क्रममा विमान दुर्घटना भयो, दर्जनौँ यात्रुको अवसान भयो । विमानस्थल बन्ने होडबाजी नै छ, देशभर ५३ विमानस्थलमध्ये २० वटा त सञ्चालनमै छैनन् ।
चलेको विमानस्थलबाट पनि दुई–चार जना यात्रु लिएर विमान उडेको अवस्था पनि छ । विमानस्थलसम्म पहिले त सडककै पहुँच छैन, विराटनगर विमानस्थलको ४० किमि दूरीमा धरानमा विमानस्थल बनाउने नेताहरूको प्रतिस्पर्धा छ । बागलुङमा ५० सालदेखि जहाज चलेको छैन, बलेवा विमानस्थल मर्मत भन्दै दुई वर्षअघि ९ करोड बजेट खर्च भयो, यता जहाजहरू पनि नचल्दै जीर्ण बन्ने गरेका छन्, रेल ल्याएर घुम्टो ओढाएर राखेको जस्तै छ यो पनि । कञ्चनपुरको विमानस्थलमा वस्तु चरेको पंक्तिकारले प्रत्यक्ष देखेको छ । आन्तरिकमा बुद्ध, यति, श्रीलगायतका १५ विमानले यात्रु ओसारपसार गरे पनि सधैँ यात्रु पर्याप्त छैनन्, धनगढी–काठमाडौँको टिकट काठमाडौँ–दिल्लीभन्दा महँगोमा यात्रा गरेको पंक्तिकारकै अनुभव छ, त्यो पनि भनेको बेला टिकट नपाएर तलबाटै आतेजाते धेरैपल्ट गरिएको हो ।
वि.सं. २०२३ फागुन १७ गते युवराज वीरेन्द्रले भैरहवा विमानस्थलको उद्घाटन गरे । डेढ वर्षअघिदेखि यो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएको छ, पहिले भारतीय सहयोगमा बनेको हो यो । ०७१ माघमा प्रम सुशील कोइरालाबाट उद्घाटित यो विमानस्थल ०७४ पुसमै बनिसक्नुपर्ने थियो, ०७९ असारमा मात्रै पूरा भयो, पाँच वर्षपछि । एडिबीको ऋण सहयोगमा निर्मित यो विमानस्थल चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनबाट बनेको हो । सुरु लगानी अनुमान ६ अर्ब २२ करोड हो, जग्गा मुआब्जामै २३ अर्ब खर्चियो, सम्पन्न हुँदा ८ अर्ब ८२ करोड लाग्यो । यसका वरिपरि धेरै होटल छन्, बजार थापेर बसेका तिनले नै ४० अर्ब बढी खर्चिए रे, समग्रमा त्यस आसपासको ६० अर्ब लगानी डुब्न लाग्यो, विमानस्थल सञ्चालनमा आएन भन्दै अहिले यो पंक्ति तयार गरुन्जेल नारा, जुलुस, धर्ना सबै थरी छ, मानौँ हाम्रो लोभतन्त्रमा नमागी, धर्ना नदिएसम्म केही पाइँदैन ।
साँच्चै उद्घाटनको डेढ वर्षमा ४ सय २४ मात्र उडान हुनु र विमानस्थलकै आम्दानी नगन्य हुनु, एनएले हप्ताको एक उडान मात्रै राख्नु, उद्यमी–व्यवसायी थला पर्ने संकेत हो भन्दै मंसिर २५ देखि त अन्तर्राष्ट्रिय उडान नै नगर्ने व्यवसायीहरूको चेतावनी थियो । व्यापक धर्ना, विरोध प्रदर्शन छ, विमानस्थल धर्ना गर्नुअघि उद्यमी–व्यवसायी प्रतिनिधिहरूले श्री ३ का हजुरमा जाहेरीपन गरेका रे, तर बाध्य भई आन्दोलनमा आउनुपरेको भन्दै छन् ती । देशमा संघीयता, गणतन्त्र आएदेखि कुनै उद्यमी–व्यवसायी सुरक्षित नभएका धेरै केस त सर्वविदितै छ ।
आइकाओ भन्छ, नेपालको हवाई यात्रा सुरक्षित हुनुपर्छ । १० वर्ष भयो आइकाओले समय दिएको, अल्टिमेटम नै हो यो । सन् २०१३ देखि नै उसले भनेको छ, हवाई उडानको विश्वव्यापी मान्यता, मापदण्ड र तिनको सुरक्षा, इयुले त युरोप उडान निषेध नै गरेको छ, कालोसूचीबाट हटेको छैन, हाम्रो सुरक्षा चासो कम छ, उडानमा अनियमितता छ, सुरक्षा प्रणाली भरपर्दो छैन, निजी कम्पनी पनि दोषी छन्, नियमन गर्ने निकाय हवाई उड्डयन प्राधिकरण नै गम्भीर छैन । पहिले यो हवाई विभाग थियो, अब स्वतन्त्र भनिएको प्राधिकरण बनेको पनि दशकौँ भइसक्यो, नियमन गतिलो भएन, उडानसम्बन्धी कमजोर नीति र उडानको योग्यतामै प्रश्न खडा भइरहेको अवस्था छ, कालोसूचीबाट हट्ला भन्ने अनुमान थियो, तर सकेन । सानो देश सिंगापुरको अन्तर्राष्ट्रिय चाँगी विमानस्थल र यहाँका गगनचुम्बी महलहरूले विश्वकै मन खिचेको छ । छिमेकी हङकङ सहर र न्युयोर्कको म्यानहटनभन्दा कम छैन सिंगापुर, जहाँ पानीको आफ्नो स्रोत छैन, गरे के हुँदैन ? इजरायल कृषिमा कति अब्बल छ ।
अमेरिकामा चरासरि हवाईजहाज उडिरहन्छन् । तर कीर्तिमानी आरोही, अक्सिजनबिना नै १० पटकसम्म सगरमाथा आरोहण गर्र्ने सोलुका हिममानव आङरिता शेर्पालगायत पर्यटन मन्त्रीकै हवाई दुर्घटनाबाट मृत्यु हुने देश हो हाम्रो, हवाई दुर्घटना सबै बताउँदा दर्जनौँ आलेख तयार हुन्छन्, यति भनौँ महाभूकम्पभन्दा कम छैन यो । प्राकृतिक घटना र मानव निर्मित घटनाले देश स्वाहा हुँदै छ भन्दा अत्युक्ति हुन्न ।
छिमेकी भारतमा ठूला नोट, नोट बन्दीको हल्ला छ, अवैध आयलाई सुनमा परिणत गर्ने कार्य भइरहेको अनुमान छ सबैतिर, यहाँ पनि । सुन तस्करीको असल ट्रान्जिट बनेको छ, काठमाडौँ एयरपोर्ट, कुनै बेला कसैले भनेका थिए, यहाँबाट हात्ती पनि छिर्न सक्छ भनेर । नभन्दै अहिलेसम्म यहाँबाट सयौँ क्विन्टल सुन छिरिसकेको छ । पंक्ति तयार गरिरहँदा टिआइएबाट साढे ६ केजी सुन बरामद भयो, भन्सारको मान्छे वा मेसिनले देखेर होइन, भन्सार नाका पार गरिसकेपछि मात्र । यो घटनाको अतीत पाँच दिनमा ३० केजी सुन बरामद भयो, त्यसअघि १४ केजी न्युरोडको सुन पसलमा बिजकबिनाको सुन भेटियो, साउनतिर विमानस्थल पार गरिसकेपछि क्विन्टल सुन भेटियो, पछि गाल्दा ६१ केजी तौल आयो रे । त्यसो त हाम्रा अरू नाका रसुवा गढी, गोर्खा, दोलखाको लामाबगर, सिन्धुपाल्चोकको तातोपानी पनि सुन आउने अब्बल नाकाहरू हुन्, दक्षिण नाका खुला भएकाले सुन जाने कहाँ हो बुझ्न समस्या छैन, बाँकी सबै वस्तु भने आउने उतैबाट हुन् ।
देशले पर्यटन दशक भन्दै छ, चालु वर्ष २०२३ मा पर्यटक आगमनको लक्ष्य १० लाखको संख्यामा ११ महिनामा ९ लाख पनि आइसकेकाले लक्ष्य भेटिनेमा शंका छैन, त्यसमा पनि अधिकांश हवाईमार्गबाटै आएका छन् । मूल सिजन नोभेम्बरमै धेरै भारतबाटै आए, दोस्रोमा परेको छ युएसए, तेस्रोमा चीन र चौथोमा परेको छ युके । क्रमशः परेका छन् अस्टेलिया, बंगलादेश, जर्मनी, श्रीलंका र फ्रान्स । थाइल्यान्डको हवाई मैदानको नाम केही दशकदेखि परिवर्तन भई स्वर्णभूमि भएको छ र हिन्दू देश नभए पनि आडैका होटलहरूका नाम कसैको रामगार्डेन छ त कतिको यस्तै–यस्तै । भनाइको अर्थ हाम्रो देश र भारतमा मात्रै पनि विश्वकै १ अर्ब १२ करोड जनसंख्या हिन्दूविशेषका छन् र हिन्दू र बुद्धको केन्द्रस्थल नेपालको आफ्नो गरिमा बचाउन सकेको भए यहाँ संसारका हिन्दू र बौद्धधर्मीहरूले जीवनमा एकपल्ट यात्रा, साधना गरे पनि हाम्रो पर्यटनको स्तर कति माथि उठ्छ र आर्थिक रूपान्तरणमा सहज हुन्छ भन्ने कुरा हाम्रा नेताहरूले बिर्सेका छन् ।
अर्काको लहैलहैमा विश्वकै एकमात्र हिन्दू गौरवको देश र संसारकै हिन्दूहरूको राजधानी नेपाललाई धर्मनिरपेक्ष भन्दै धर्ममाथि ठूलै प्रहार गरेका छन् । विश्व सभ्यताको जग हो यो देश नेपाल, जो हिजोअस्ति मात्र देखा परेसरहको व्यवहार गर्नु हुने थिएन । यो देश त सत्ययुगमै सत्यपुरीको नामले, त्रेतायुगमा तपोवनको नामले, द्वापरयुगमा मुक्तिपुरका नामले र अहिलेको कलियुगमा पनि ५ हजार १ सय २४ वर्षअघि न्यायले जनता संरक्षित हुन्छन् भन्ने मूल मान्यताअनुरूप न्यायेन पाल्यते इति नयपालः भई अपभ्रंश हुँदा नेपाल नाम रहन गएको हो । यसरी १७ करोड वर्षभन्दा पहिलेदेखि स्थापित देशले हिजोअस्ति उदाएकासँग भिक्षार्थी हुन सुहाउँछ कि आफैं आत्मनिर्भर हुने कहिले ? र कसले सोच्ने, अब ढिलो भएन त ? साभार कारोबार दैनिक