धनकुटाको रानी ताल ओझेलमा

विकास घिमिरे

धनकुटा– पर्यटकीय सम्भावना रहेको धनकुटाको चौबिसे गाउँपालिकाका रहेको रानी ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । बाह्रै महिना चिसो र शान्त मौसम रहने चौबिसे गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्र भए पनि रानी ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।

धनकुटाको चौबिसे गाउँपालिकामा–६, स्थित राजा रानी बजार छेउमा रहेको रानी ताल आन्तरिक तथा बाह्य पर्यटकको अवलोकन र मनोरञ्जनका लागि उपयूक्त भए पनि यो ताल ओझेलमा रहेको छ । आन्तरिक तथा बह्य पर्यटकलाई तालसम्म आकर्षित गर्न अहिले मोटर बोट सञ्चालनमा ल्याइएको छ । २२ लाख रुपैयाँको लगानीमा मोटर बोट सञ्चालनमा ल्याइएको हो । त्यसले केही भए पनि यहाँ आउने पर्यटकलाई मनोरञ्जनको सुविधा प्रधान गरेको रानी ताल संरक्षण समितिका सदस्य सुकपाल चेम्जोङले बताए ।

मोटर बोट चढ्न प्रतिव्यक्ति दूई सय ५० रुपैयाँ शूल्क लिने गरिएको समेत चेम्जोङले जानकारी दिए । पूर्वकै पर्यटकीय क्षेत्र भेडे टार आएका आन्तरिक तथा बाह्य पर्यटक राजा रानीमा पुग्ने गरेका र प्रचारप्रसारमा समेत सहयोग मिलेकै समयमा विश्वव्यापी रूपमा फैलिएको कोरोनाको कारण थलिएको पर्यटनफेरि उकास्ने र प्रचारप्रसारको लागि काम भई रहेको संरक्षण समितिका कोषाध्यक्ष काजीमान लिम्बूले जानकारी दिए ।

राजा रानीसहित चौबिसे गाउँपालिका भित्र रहेका सबै पर्यटकीय क्षेत्रको विकास र पर्यटकीय क्षेत्रलाई जोड्नका लागि गाउँपालिकाको तर्फबाट योजनाबद्ध रूपमा काम भई रहेको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिए । त्यस्तै चौबिसे गाउँपालिकाले ताल किनार व्यवस्थित बनाउने काम गरिरहेको जनाएको छ । प्रदेश र संघीय सरकारको सहयोगमा गाउँपालिकाले बजेट विनियोजन गरेर ताललगायत यस क्षेत्रको पर्यटकको लागि आकर्षक बनाउने काम गरिरहेको गाउँपालिका अध्यक्ष चेम्जोङले बताए ।


Facebook Comment


No ads found for this position