भक्तपुरको नलिनचोकमा हेलिपोर्ट तयार

पुस, काठमाडौं । भक्तपुरको नलिनचोकमा हेलिपोर्ट तयार भएको छ । आर्थिक वर्ष २०७९/८० मा २५ करोड रूपैयाँ बजेट छुट्याएर यो हेलिपोर्टका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले काम थालेको थियो ।

हेलिपोर्टको अहिले मैदानको काम सम्पन्न भई परीक्षण उडान समेत सम्पन्न गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । हेलिपोर्टको कालोपत्रे मैदान निर्माण सम्पन्न गरी परीक्षण उडान भएको उनले बताए ।

परीक्षण उडानको प्रतिवेदन आइसकेपछि यहाँ व्यावसायिक उडानको बाटो खुल्ने उनले जानकारी दिए । अब यहाँ टर्मिनल भवन तथा टावरहरुसमेतका संरचना निर्माणाधीन अवस्थामा रहेको समेत उनले बताए ।

प्राधिकरणले हेलिपोर्टका लागि १५ करोड र टर्मिनल भवनसहितका संरचना बनाउन १० करोड रुपैयाँ विनियोजन गरेको थियो । यो हेलिपोर्ट बनाउन गत वर्ष साउनमा ठेक्का लागेको हो ।

प्रवक्ता झाका अनुसार यस हेलिपोर्टमा अधिकतम २६ वटासम्म हेलिकप्टर बिसान गर्न सक्ने क्षमता रहेको छ । नेपालमा अहिले झण्डै तीन दर्जनको हाराहारीमा हेलिकप्टर रहेका छन् । यी मध्ये सबै काठमाडौंमा मात्र बिसौनी गरेर भने चल्दैनन् । पर्यटकीय सिजनमा लुक्ला केन्द्रित हुने हेलिकप्टरहरु सिमिकोट र पोखरामा समेत बढी उड्ने गर्छन् ।

नेपालमा पर्यटकको सुविधा, भीआईपी उडान, आकस्मिक स्वास्थ्य समस्या, प्राकृतिक विपत्ति र विकास निर्माणको सामग्री ओसार–पसारमा हेलिकप्टरको प्रयोग भइरहेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिकामा नलिनचोकको ३३ रोपनी क्षेत्रफलमा प्राधिकरणले यी संरचना बनाइरहेको छ । यहाँ इन्धन ट्याङ्की, फायर फाइटिङ सुविधा, हेलिकप्टर कम्पनीका कार्यालय, मर्मतसम्भारका लागि ह्याङ्गरसहितका सुविधा बन्ने प्राधिकरणले यसअघि नै बताएको थियो । यो क्षेत्रमा पहिला देखि नै प्राधिकरणको जग्गा थियो । सोही जग्गामा हेलिपोर्ट बनाइएको हो ।

त्रिभुवन विमानस्थलको चाप घटाउने अपेक्षा

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान तथा सञ्चार उपकरणमा हुने व्यस्तता कम गर्ने उद्देश्यसहित भक्तपुरको नलिनचोकमा हेलिपोर्ट बनाउन थालेको हो । यो सञ्चालनमा आइसकेपछि यात्रुले हेलिकप्टर चढ्न समेत सोही स्थानमा पुग्नु पर्नेछ ।

यसले केहीहदसम्म काठमाडौंको चाप घढाउन सहयोग पुग्ने झा बताउँछन् । तर, यहाँको ट्राफिक व्यवस्थापन भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै टावरबाट हुने छ । हेलिपोर्टका लागि छुट्टै कर्मचारी खटाएर राखिएपनि एउटै सञ्चार सञ्जालबाट हेलिपोर्ट सञ्चालन गर्ने तयारी छ । यसले सञ्चार प्रणालीमा हुने चाप भने कम नहुने भएको छ ।

के भन्छन् व्यवसायी ?

वायुसेवा सञ्चालक संघका सचिव तथा मनाङ एयरका सेफ्टी म्यानेजर राजु न्यौपानेका अनुसार विमानस्थल भन्दा पर हेलिकप्टरहरुका लागि छुट्टै बिसौनी बन्दा हेलिकप्टर सञ्चालनमा सहज हुने बताउँछन् ।

अहिले त्रिभुवन विमानस्थल भित्र ठूला–साना जहाजसँगै हेलि बिसौनी समेत रहेको छ । नलिनचोकको परीक्षण उडानको प्रतिवेदन र प्राधिकरणले दिने निर्देशनका आधारमा कम्पनीहरु स्थानान्तरणका लागि समेत तयार रहेको उनले जानकारी दिए ।


Facebook Comment


No ads found for this position