जाऔं हैं बन्दीपुर अभियान सुरु

पुस, चितवन । कोभिड महामारी अगाडिको जस्तै आन्तरिक पर्यटकको संख्या बढाउन तनहुँको बन्दीपुर गाउँपालिकाले जाऔं हैं बन्दीपुर अभियान सुरु गरेको छ ।

बन्दीपुर गाउँपालिकाको नेतृत्वमा पालिकाका होटल व्यवसायी, पर्यटन व्यवसायी, उद्योगीहरुसहितको टोली बन्दीपुरमा आन्तरिक पर्यटकलाई निम्तो बाँड्ने अभियान लिएर मुख्य शहरी क्षेत्रमा पुगेका छन् ।

गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार ठूला शहरबाट आन्तरिक पर्यटकलाई बन्दीपुर भित्र्याउन जाऔं हैं बन्दीपुर अभियान देशका प्रमुख शहरमा केन्द्रित गरिएको छ । सो टोली चितवन हुँदै रूपन्देहीको बुटवल भैरहवाबाट अभियान सुरु गर्न हिँडेको पालिका अध्यक्ष थापाले बताए ।

‘बन्दीपुरमा कोभिड महामारी अघिसम्म वर्षमा डेढ लाख जनासम्म पर्यटक बर्षमा आउँथे, कोभिड पछि त्यो क्रम घटेर ५० हजारमा झर्‍यो, अहिले फेरि पुरानै अवस्थामा फर्काउन पालिकाको अगुवाइमा अभियान चलाएका छौं’ अध्यक्ष थापाले भने, ‘देशका प्रमुख शहर काठमाडौं, पोखरा, चितवन, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, विराटनगर लगायतका मुख्य शहरमा प्रचारप्रसार र अन्तर्क्रिया छलफल गर्दै हिँड्छौं ।’

यो बर्षभरि नै देशका प्रमुख शहरमा पुगेर बन्दीपुरका बारेमा प्रचारप्रसार गर्ने, विभिन्न अभियान चलाउने योजना गाउँपालिकाले बनाएको छ ।

अभियान लिएर शहर पसेको सो टोलीले बिहीबार बुटबलमा पर्यटन व्यवसायी, उद्योगी, होटल व्यवसायी तथा सरोकारवालासँग अन्तर्क्रिया गर्ने जनाएको छ । बुटवलबाट पाल्पा हुँदै पोखरासम्म पुगेर पहिलो चरणको भेटघाट तथा अन्तर्क्रिया गर्नुका साथै बन्दीपुर घुम्न निम्तो दिइने पालिका अध्यक्ष थापाले बताए ।

पोखरा, चितवन तथा काठमाडौंको बीच भागमा रहेको पर्यटकीय प्रमुख गन्तब्य बन्दीपुरलाई पहाडकी रानीको उपमा दिने गरिएको छ । पृथ्वी राजमार्गको डुम्रे बजारबाट ९ किलोमिटर उकालो बाटो गएपछि पुग्न सकिने बन्दीपुरबाट ४५ किलोमिटर लामो हिमालयको सुन्दर रेन्ज देखिने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बताए ।

‘तराईका जिल्लामा उखरमउलो गर्मी हुँदा शितल चिसो हावा चल्ने र जाडोमा तराईमा हुस्सु कुहिरो लाग्दा विहानै पहारिलो घाम लाग्ने बन्दीपुर आफैंमा अनुपम छ’, प्रधानले भने, ‘स्थानीय खाना, जातीय संस्कृतिको संगमका लागि पनि बन्दीपुर उत्तिकै महत्वपूर्ण छ ।’

विगतमा ठोरी हुँदै भारतदेखि तिब्बतसम्म हुने व्यापारको प्रमुख केन्द्रका रूपमा रहेको बन्दीपुरमा भक्तपुरे प्राचीनकला संस्कृति देख्न सकिने प्रधानले बताए । आउने नेपाली नयाँ बर्षका अवसरमा बन्दीपुरमा वृहत सांस्कृतिक कार्यक्रम गरी नयाँ बर्ष मनाउन यसपटक बन्दीपुर जाने भन्ने अभियानलाई तीब्र पारिने गाउँपालिका अध्यक्ष थापाले बताए । उनले महानगरका बैठकहरु बन्दीपुरमा गर्नका लागि अनुरोध गरिने बताए ।

बन्दीपुरका पर्यटन व्यवसायी बयस गुरूङले मुग्लिन डुम्रेको सडक अबको एक महिनाभित्र मर्मत सकिने भन्दै बन्दीपुर आउने पर्यटकलाई सहज हुने बताए । जाऔं है बन्दीपुर अभियानलाई लक्षित गरेर होटल लगायतका क्षेत्रमा विषेश अफर र प्याकेजहरु घोषणा गरिने उनले बताए ।

गाउँपालिकाले बर्षभरि नै चलाउने यो अभियानबाट १ लाखभन्दा बढी पर्यटकलाई बन्दीपुर भि¥याउने योजना छ । गाउँपालिकाले विभिन्न पर्यटकीय केन्द्रहरुको जानकारी दिन डिजिटल क्यूआर बोर्डको समेत व्यवस्था गरेको छ ।

ती पर्यटकीय केन्द्रमा पुगेर क्यूआर स्क्यान गर्दा त्यसका बारेमा पूर्ण विवरणसहितको जानकारी पर्यटकलाई हुने पालिका अध्यक्ष थापाले बताए ।

बन्दीपुरमा साना ठूला गरेर ६६ वटा होटल छन् । एक पाँच तारे होटल र केवलकार निर्माणको अन्तिम चरणमा छ । बन्दीपुर क्षेत्रीय होटल संघ बन्दीपुर इकाइ अध्यक्ष संगीता प्रधानले बन्दीपुरमा एक रातमा होटलमा ५ सय होमस्टेमा ४ सय जना बस्न सक्ने क्षमता रहेको बताइन् ।


Facebook Comment


No ads found for this position