यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण

गत वर्ष पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ।

दुर्घटना जाँच आयोगले बिहीबार मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ।

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको हो।

पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।

आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए।

प्रतिवेदन बुझ्ने क्रममा मन्त्री किरातीले आयोगको सुझावलाई कडाईका साथ कार्यान्वयन गर्न मन्त्रालयमातहतका निकाय र अधिकारीलाई निर्देशन दिएका छन्।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ जहाज पोखरास्थित सेती खोँचमा खसेर दुर्घटना भएको थियो।


Facebook Comment


No ads found for this position