नयाँ वर्षमा घुमघामका लागि देशभरका ८० प्रतिशत होटल बुकिङ

आउँदो सोमबार अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन। नयाँ वर्ष मनाउन पर्यटकीय गन्तव्यहरूमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल सुरू भइसकेको छ।

नयाँ वर्षमा घुमघामका लागि देशभरका होटल बुकिङ हुन थालेका छन्। विशेषगरी पोखरा, बन्दीपुर, चितवन, काठमाडौं, धुलिखेल, सुकुटे, नगरकोट, भक्तपुरको रानीकोट लगायत ठाउँका होटलमा धेरै बुकिङ भइरहेको व्यवसायीहरूले बताएका छन्।

कोरोनापछि यसपालि विदेशी पर्यटकको संख्या पनि बढेको छ। विदेशीसँगै स्वदेशी पर्यटकहरू पनि घुमफिरका लागि विभिन्न गन्तव्यमा पुग्ने हुँदा होटलमा अग्रिम बुकिङ सुरू भइसकेको होटल संघ नेपालले जनाएको छ।

संघका महासचिव साजन शाक्यका अनुसार पर्यटकीय गन्तव्यका होटलहरूमा अहिलेसम्म ८० देखि ९० प्रतिशतसम्म बुकिङ भइसकेको छ। ‘काठमाडौं, पोखरा, सौराहा, धुलिखेल, नगरकोट लगायतका गन्तव्यका कतिपय होटलहरू बुकिङ भइसकेका छन्, केहीमा सीमित कोठाहरू बाँकी छन्,’ उनले भने, ‘यसपालि स्वदेशी र विदेशी पर्यटकको संख्या राम्रै बढेको छ।’

अघिल्ला वर्षहरूको तुलनामा यसपालि अंग्रेजी नयाँ वर्षका लागि बुकिङ उत्साहजनक रहेको उनले बताए।

‘यसअघि कोरोनाको त्रासकाबीच पर्यटक आगमन पनि कम थियो। जसकारण होटलमा बाक्लो चहलपहल थिएन,’ उनले भने, ‘तर यसपटक विदेशी पर्यटक आगमन पनि बढेको छ। अन्य समयमै पनि होटलको अकुपेन्सी उत्साहजनक नै छ।’नयाँ वर्ष विशेष बनाउन र पर्यटकको आकर्षण बढाउन गन्तव्यहरूमा विभिन्न कार्यक्रमहरू समेत सुरू भइसकेको छ।

पोखरामा स्वदेशी तथा विदेशी पर्यटकका लागि लक्षित गरी बिहीबारदेखि सडक महोत्सव आयोजना भइरहेको छ।हरेक वर्षको न्यू इयरमा रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान)ले सडक महोत्सव आयोजना गर्दै आइरहेको छ। ‘न्यू इयर इभ’का लागि पोखराका होटलहरू बुकिङ भइरहेका छन्।

क्षेत्रीय होटल संघ पोखराकाअनुसार हाल पोखरामा एक हजार २ सयभन्दा बढी होटल छन्। जसमा ४० हजारभन्दा बढी कोठा छन्।

त्यस्तै नयाँ वर्षमा घुम्न जाने गन्तव्यमा पर्छ- सौराहा। सौराहामा नयाँ वर्षका लागि होटल बुकिङमा उत्साहजनक रहेको जंगल सफारी सौराहाका सञ्चालक सुमन घिमिरेले बताए। यसअघिका नयाँ वर्षहरूमा पनि सौराहाका होटलहरू भरिभराउ हुन्थे।

तनहुँको बन्दीपुरमा पनि अंग्रेजी नयाँ वर्षमा ‘जाऔं हैं बन्दीपुर’ अभियान सुरू भइसकेको छ। न्यू इयर लक्षित विभिन्न कार्यक्रमहरू बनाएर बन्दीपुरमा पर्यटकको आकर्षण बढाउन बन्दीपुर गाउँपालिका र पर्यटन व्यवसायीहरू लागि परेका छन्।

गाउँपालिकाका अनुसार हाल बन्दीपुरमा दैनिक दुई हजार पर्यटक धान्न सक्ने पूर्वाधार छ। साना-ठूला गरी ७७ वटा होटल तथा रेस्टुरेन्ट र १२ वटा होमस्टे छन्।

दोलखाको चरिकोटमा नयाँ वर्षकै अवसर पारेर महोत्सव सुरू भएको छ। स्वदेशी पर्यटकलाई लक्षित गरी दोलखा उद्योग वाणिज्य संघले यही आज (शुक्रबार)बाट १० दिने महोत्सव सुरू गरेको छ। नयाँ वर्षको अघिल्लो दिन दिनभर र मध्यरातसम्म साथै महोत्सव अवधिभर अन्य दिनहरूमा साँझदेखि स्ट्रिट फुड फेस्टिभल हुनेछ।

यो फेस्टिभलको नारा ‘सडकमै खाउँ, सडकमै नाँचौं, सडकमै रमाऔं’ राखिएको छ। महोत्सवमा दोलखा जिल्लाका पर्यटकीय स्थलहरूको फोटो प्रर्दशनी साथै वृत्तचित्र प्रर्दशनी समेत गरिनेछ।

यसअवधिमा दोलखाका होटलहरूमा ३० प्रतिशत छुट दिइएको छ। काठमाडौंको ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ हुँदैछ। ठमेल पर्यटन विकास परिषद र विभिन्न संघसंस्थाहरूको सहकार्यमा सडक महोत्सव हुन लागेको हो। आगामी आइतबार साँझ साढे ५ बजे ठमेलको त्रिदेवी मार्गदेखि सडक महोत्सव सुरू हुनेछ।

इभमा स्वदेशी तथा विदेशी गरी एक लाख ८० हजार पर्यटकहरूको उपस्थिति हुने परिषदका अध्यक्ष भविश्वर शर्माले बताए। उनका अनुसार महोत्सवका लागि २२ लाख खर्च हुने अनुमान छ।सडक महोत्सवमा सांस्कृतिक कार्यक्रमहरू हुनेछन्। साथै स्थानीय तथा विभिन्न संघसंस्थाहरूको उत्पादन समेत सडकमै राखिनेछ।


Facebook Comment


No ads found for this position