पर्यटक आगमनको एकै वर्षमा दोब्बर सख्या बनाउने उद्घोष: प्रधानमन्त्री दाहाल

काठमाडौं– सरकारले पर्यटक आगमनको वार्षिक लक्ष्य १० लाखभन्दा बढाउन नसकेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले भने एकै वर्षमा सख्या दोब्बर बनाउने उद्घोष गरेका छन् ।

सरकार गठन भएको वर्ष दिन पुगेको अवसरमा गत साता सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले भने, ‘अहिलेसुन्दा अपत्यारिलो लाग्ला, तर क्षेत्रगत तयारी र योजनाबाट अर्को वर्ष हामी पर्यटकको संख्या झण्डै दोब्बर बनाउँछौं ।’

यो वर्ष अर्थात् सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । अहिलेसम्मको तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक आएका थिए । प्रधानमन्त्री दाहालले भनेजस्तो पर्यटक आगमन दोब्बर अर्थात् २० लाख पुर्याउन असम्भव नरहेको तर सजिलो पनि नभएको यस क्षेत्रका व्यवसायीहरु बताउँछन् ।

होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले संख्या दोब्बर बनाउन सरकारले सडक पूर्वाधारदेखि प्रचारप्रसार र राष्ट्रिय नीति प्रष्ट बनाउनुपर्ने बताए । उनले भने, ‘हामीले ३५ लाख पर्यटकलाई वार्षिक सेवा दिन सक्ने पूर्वाधार बनाएका छौं । पर्यटक आगमन बढाउन भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्छ ।’ यसका लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिनुपर्ने उनको भनाइ छ ।

प्रचारप्रसार, कनेक्टिभिटी, सडक तथा पूर्वाधारमा सुधार गरे २० लाख पर्यटक भित्र्याउने लक्ष्य महत्वाकांक्षी नभएको पर्यटन व्यवसायी वसन्त मिश्रले बताए । उनले भने, ‘यसका लागि सरकारले सडक पूर्वाधारमा सुधार र अहिले बनेका विमानस्थलबाट तेश्रो देशमा उडान गर्नुपर्छ । दुई छिमेकी मुलुक चीन र भारतका साथै अन्य मुलुकमा मार्केटिङ बढाउनुपर्छ ।’

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालका अनुसार धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटकीय गन्तव्यको रुपमा नेपालले विश्वमा पहिचान बनाएको अवस्था र माइस टुरिजमका लागि पनि उत्तिकै सम्भावना रहेकाले वार्षिक २० लाखको संख्यामा पर्यटक ल्याउन नसकिने भन्ने छैन । उनले भने, ‘हामीले यस वर्ष प्रयास नै नगरी १० लाख पर्यटक आएका छन् । सरकारका सबै निकायदेखि देशविदेशमा रहेका संघसंस्था परिचालन गर्न सके दोब्बर गर्न सकिने आधार छ ।’

उनका अनुसार आन्तरिकदेखि बाह्य पर्यटकको विकासमा सरकारका तीनै तहले कुनै न कुनै ढंगले काम गरिरहेका छन् । यता बाह्य पर्यटकको हकमा भने प्राकृतिक सम्पदा तथा सहासिक, माइस पर्यटकको पनि पर्याप्त सम्भावना विकास भएको छ । यहाँ अन्तर्राष्ट्रिय स्तरका सभा–सम्मेलन गर्न सकिन्छ । त्यसका लागि विमानस्थलदेखि पर्यटकीय गन्तव्यसम्म पुग्ने पूर्वाधार भने राम्रो बनाउनुपर्छ । यसका लागि सबै पक्षसँगको समन्वयमा काम भइरहेको छ । आयोगले पर्यटकका लागि आगामी दिनमा सबै क्षेत्रमा एकैखाले सेवा शुल्क र पर्यटनमैत्री विकास गर्ने योजनाका साथ नीतिगत काम गरिरहेको छ ।

पोखरा र भैरहवामा थपिएका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्ने, विदेशस्थित नेपाली दूतावस र नियोगलाई पर्यटन प्रवद्र्धनमा परिचालन गर्ने, पर्यटन र लगानीमा गैरआवासीय नेपालीलाई समेत परिचालन गरी एक नेपाली एक पर्यटक ल्याउन सक्ने अवधारण विकास गर्ने तयारी रहेको सदस्य फुयालले बताए । सरकारका सबै संयन्त्र र पूर्वाधार चुस्त बनाउन सकेको खण्डमा पर्यटनमैत्री वातावरण बन्ने र पर्यटक बढ्ने उनको भनाइ छ ।

‘यी सबै क्षेत्रमा सुधार गर्न सकेको खण्डमा पर्यटक आगमन दोब्बर गर्न सकिने आधार छ,’ उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले प्रचारप्रसारमा जोड दिन सके आगामी वर्ष पर्यटक संख्या दोब्बर बनाउन सकिने बताए । उनले भने, ‘थपिएका दुई अन्तर्राष्ट्रिय विमानस्थल र पर्यटन पूर्वाधारको विकासका आधारमा पर्यटक आगमन दोब्बर बनाउन सकिने अवस्था छ ।’ स्थलमार्गबाट आएका पर्यटकको तथ्यांक पनि समावेश गर्ने व्यवस्था गरे संख्या दोब्बर बनाउन असम्भव नभएको उनको भनाइ छ । ‘सरकारले पर्यटक आगमन वृद्धि गर्न नेपाल भ्रमण दशकको रुपमा समेत मनाउने घोषणा गरिसकेको छ । त्यहीअनुसार कार्ययोजना बनाएर काम गरिनेछ ।’

सरकारी तथ्यांकअनुसार अहिले मुलुकभर डिलक्ससहितका पाँचतारे होटलको संख्या १ सय ७३ पुगेको छ । यसैगरी तारे स्तरबाहेक डिलक्स-लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटक स्तरीय होटल, लज तथा रिसोर्टको संख्या १ हजार २ सय २८ छ । ८ सय ५७ तारेस्तरका होटलमा रहेका बेडको संख्या १६ हजार ३ सय ३५ छ । तारेस्तरका होटलबाहेक पर्यटक स्तरीय डिलक्स-लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका बेडको संख्या ३७ हजार ३० पुगेको छ ।

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तेश्रो मुलुकमा उडान भर्न सकेको खण्डमा, स्रोत बजारमा प्रचारप्रसार बढाउन सके र पर्यटकीय क्षेत्रमा पुग्ने सडक मार्ग सुधार गर्न सके पर्यटक आगमन बढ्न असम्भव नभएको सरोकारवालाहरुको बुझाइ छ ।साभार :दीपेन्द्र थापा /कारोबार


Facebook Comment


No ads found for this position