ऐतिहासिक तथा पर्यटकीयस्थल जितगढी ओझेलमा

सुदीप भण्डारी

बुटवल– बुटवलको मुख्य बजारबाट पारि तिनाउ किनारमा रहेको जितगढी २०८ वर्षअघि नेपालले अंग्रेजलाई पराजित गरेको ठाउँ हो । पश्चिमका कुमाउ, नालापानीलगायतका ठाउँमा नेपालीले विरता प्रदर्शन गरेका थिए । तर पनि अंग्रेजसँग पराजित हुनुपरेको थियो । बुटवलको जितगढीमा भने कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेजसँगको लडाइँमा विजयी हासिल गरेका थिए ।

ऐतिहासिक ठाउँ भएर पनि जितगढी अझै ओझेलमा छ । केही वर्ष अघिसम्म गुमनाम र जीर्ण रहेको जितगढी पछिल्लो समय केही आकर्षक देखिन्छ । तर पर्यटकीय चहलपहल भने हुन सकेको छैन । जितगगढीको केही दूरीमा रहेको मणिमुकुन्द सेन उद्यान अर्थात् फूलबारी पार्कमा वार्षिक आठ लाख जति पर्यटक घुम्न आउने गरेका छन् । तर जितगढी भने पुग्दैनन् ।

फूलबारी बुद्धजन्मस्थल लुम्बिनी पछि रुपन्देहीमा सबैभन्दा बढी पर्यटक आउने गन्तव्य हो । तिहारयता डेढ महिनामा मात्र शैक्षिक भ्रमणका लागि ५५ हजारजति विद्यार्थी फूलबारीमा आएको उद्यानका प्रमुख कार्याकारी अधिकृत अनन्तराज सिलवालले बताए । ‘विद्यालयको चिठी लिएर ५५ हजारजति नेपाली विद्यार्थी फूलबारी घुम्न आएका छन्,’ उनले भने, ‘बाँके, बर्दिया, दाङ र गोरखाबाट धेरै विद्यार्थी आएका छन् । पाल्पा, कास्की र स्याङ्जाबाट पनि विद्यार्थीहरू आइरहेका छन् ।’

५५ हजार विद्यार्थी फूलबारीमा घुम्न आउँदा त्यसको पाँच प्रतिशत जति पनि जितगढी पुगेको देखिँदैन । स्थानीय पाठ्यक्रममा उल्लेख भएकाले बुटवलबाट केही विद्यार्थीलाई जितगढी ल्याउने गरिएको छ । तर टाढा टाढाबाट फूलबारी भ्रमणमा आएका विद्यार्थीलाई जितगढी आकर्षित गर्न सकिएको छैन । फूलबारी आएकाबाहेक समूहगत भ्रमणमा हिँडेको दैनिक सयौं टोली तिनाउ पुल ओहोरदोहोर गर्छन् । तर राजमार्ग सामुन्ने रहेको जितगढी चिनाउन कुनै बोर्ड वा प्रतिक चिन्ह यात्रुले देख्न पाउँदैनन् ।

पर्यटन मामिलाका स्तम्भकार समेत रहेका कालिका मानवज्ञान माविका शिक्षक युवराज कँंडेलले जितगढीलाई चिनाउने दायित्व उपमहानगरसँगै पर्यटन व्यवसायीको भएको बताए । ‘पूर्वका मकवानपुरगढी, सिन्धुलीगढीको जति चर्चा छ, जितगढीको त्यतिचर्चा भएजस्तो लाग्दैन । यो प्रचार प्रसारको कमी हो,’ उनले भने, ‘फूलबारी शैक्षिक भ्रमणमा आएका विद्यार्थीलाई जितगढी जाने वातावरण बनाउने पहिलो काम उपमहानगरको हो । उपमहानगरले अपनत्व लिएको देखिएन र यहाँका पर्यटन व्यवसायीले जितगढीलाई प्याकेजमा राखेनन् ।’

यो सिजनमा फूलबारीमा आएका ५५ हजार विद्यार्थीमध्ये १० हजारलाई जितगढी लैजान सकेको भए ऐतिहासिक किल्लाको राम्रो प्रचार र प्रवद्र्धन हुने कंँडेलको भनाइ छ । उनले फूलबारीमा भ्रमणमा आएका विद्यार्थीलाई जितगढीबारे पनि ब्रोसर उपलब्ध गराएर छोटो समय बुटवलका पर्यटकीय स्थलको ब्रिफिङ गर्न सक्नुपर्ने धारणा राखे । नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाट्टा) लुम्बिनीकी अध्यक्ष रचना पन्तले फूलबारी आएका विद्यार्थीलाई लैजान सकेमा जितगढीको सानो खर्चमा ठूलो प्रवद्र्धन हुने उल्लेख गरिन् ।

‘फूलबारी पनि जितगढीसँगै इतिहास जोडिएको ठाउँ हो । फूलबारीमा जितगढी यहाँ छ भन्ने खालको बोर्ड राख्नुपर्छ,’ उनले भनिन्, ‘उपमहानगरपालिका र फूलबारीको समिति लागिपरेमा जितगढीमा पनि भ्रमणमा आएका विद्यार्थीलाई आकर्षित गर्न सकिन्छ । त्यसो गर्न सकेमा जितगढीको प्रवर्द्धनका लागि न महँगो योजना बनाउनुपर्छ, न ठूलो पैसा लाग्छ, न असम्भव छ ।’

मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबारी) का अध्यक्ष माधव नेपालले जितगढीको पनि प्रवद्र्धन गर्ने प्रयास आफूहरूले गरिरहेको बताए । ‘बुटवल आएका पर्यटक जितगढी नपुगे अधुरो हुन्छ भन्ने लागेको छ । फूलबारी आएका पर्यटकलाई कसरी त्यहाँ पु¥याउने भन्नेबारेमा हामी छलफल गर्दैछौं,’ उनले भने, ‘सम्बन्धित पक्षसँग छलफल गरेर त्यो वातावरण निर्माण गर्न हामी होमवर्क गर्छौं ।’

बुटवल–१ का वडाध्यक्ष नरेन्द्र बस्नेतले जितगढीमा पछिल्लो समय विद्यार्थीको आगमन केही बढेको तर सोंचेजस्तो प्रवद्र्धन हुन नसकेको बताए । ‘विद्यार्थीहरू फ्लो केही बढेको छ । अझै प्रवद्र्धन जरुरी छ । टाढासम्म प्रसार हुन सकेको छैन,’ उनले भने ।

सेनाले उपमहानगरलाई हस्तान्तरण गर्दै
नेपाली सेनाले आज (शुक्रबार) बुटवल उपमहानगरपालिकालाई जितगढी हस्तान्तरण गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम छ ।

बुटवल उपमहानगरपालिका–१ मा रहेको जितगढी किल्लाको पुनर्निर्माण तथा संरक्षण पश्चात् नेपाली सेनाको गरुड दल गणले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि किल्ला बुटवल उपमहानगरपालिकाको मातहतमा आउने छ । किल्लाको संरक्षण र पुनर्निर्माण पश्चात् नेपाली सेनाले हस्तान्तरण गरेपछि उपमहानगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाउने बुटवलका मेयर खेलराज पाण्डेले बताए ।

‘यो किल्ला हामी मातहतमा आएपछि किल्लाको संरक्षणका साथसाथै यसलाई पर्यटकीय गन्तव्य र नेपाल अंग्रेज युद्धको अध्ययन गर्ने थलोका रूपमा विकास गर्नेछौं,’ उनले भने, ‘यहीँ नजिकै युद्ध संग्रहालय निर्माण सम्पन्न भएको छ र त्यसको सञ्चालन गर्ने र पुरानो बुटवललाई पुनः चलायमान बनाउने योजना छ ।’

किल्ला क्षेत्रमा नेपाली सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको र युद्धचित्रका साथसाथै पर्यटकीय थलोका रूपमा विकास गर्नका लागि आवश्यक काम पूरा गरेको नेपाली सेना गरुड दल गणका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपानेले जानकारी दिए । जितगढीमा वि.सं १८७२ वैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो । सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजयउत्सव मनाउँदै आएको छ ।


Facebook Comment


No ads found for this position