पर्यटन प्रवर्द्धन गर्न निर्माण गरिएका भ्यूटावर उपलब्धिविहीन

अमरराज आचार्य

दाङ– जिल्लामा निर्माण गरिएका भ्युटावर उपलब्धिविहीन हुँदै गएका छन् । तीन वर्षअघि बंगलाचुली गाउँपालिका–२ धिमधिमे लेकमा भ्यूटावर निर्माण गरियो । प्रदेश सरकारको करिब एक करोड २६ लाख रूपैयाँ खर्च गरेर तीन तले भ्युटावरसँगै चार वटा शौचालय, पानीका ट्यांकी लगायतका संरचना निर्माण गरिए । तर ती संरचनाको संरक्षण भएन ।

अहिले त्यहाँ बनाइएका कुनै पनि शौचालय काम नलाग्ने अवस्थामा रहेको बंगलाचुली गाउँपालिका–२ का अध्यक्ष मैते पुन बताउँछन् । बस्तीदेखि टाढा रहेको र संरक्षणमा कसैले चासो नदिँदा आलमुनियमका ढोका तथा खानेपानीको ट्यांकी फोडेर फालेको बताउँँछन् । भ्युटावरलगायत संरचना निर्माण भए पनि त्यसको संरक्षण र उपलब्धिका लागि नसोच्दा करोडाैं रूपैयाँ खर्च गरेर निर्माण भएको भ्युटावर उपलब्धिविहीन जस्तै भएको वडाध्यक्ष पुन बताउँछन् ।

भ्युटावर निर्माणस्थलमा बनाइएका संरक्षण तोडफोड हुन थालेपछि धिमधिमे भ्युटावर संरक्षण समिति बनाएर संरक्षणमा लागेको उनी बताउँछन् । वडाध्यक्ष पुनले भने, ‘हामी जनप्रतिनिधि हुनुभन्दा पहिले भ्युटावर निर्माणस्थलमा बनेका संरचण तोडफोड भएका थिए । तर म जनप्रतिनिधिका रूपमा आइसकेपछि अहिले संरक्षण समिति गठन गरेर संरक्षणमा लागेको छु ।’

उनले भ्युटावरस्थलमा पार्क निर्माण गरेर थोरै भए पनि आम्दानी गर्ने र त्यही पैसाबाट संरक्षण र विकास गर्ने गरी लागे पनि बजेट अभावका कारण काम हुन नसकेको वडाध्यक्ष पुनले बताए । त्यसैगरी सोही वर्ष बंगलाचुली गाउँपालिका–८ को हासीपुरस्थित रानीथुम्की पहाडमा पनि तीन तले भ्युटावर निर्माण गरियो ।

प्रदेश सरकारको करिब ६० लाख रूपैयाँमा जंगलको बीचको अग्लो पहाडमा निर्माण गरिएको भ्युटावरबाट सफा मौसम भएको समयमा नेपालको उत्तरतर्फका हिम श्रृंखलासँगै उत्तरमा भारतसम्मको भू–भाग देख्न सकिने स्थानीय बताउँछन् । तर त्यहाँसम्म पुग्न बाटो नै राम्रो नहुँदा खासै मानिस नआउने गरेको स्थानीय वीरबहादुर गाहामगर बताउँछन् ।

‘पर्यटनप्रवर्द्धनका दृष्टिले भ्युटावर निर्माण गरिनु ठिकै हो, तर स्थानीय आवश्यकतालाई ध्यान नदिँदा अहिले भ्युटावर प्रयोगविहीन जस्तै भएको छ,’ स्थानीय गाहामगरले भने, ‘भ्युटावरभन्दा पहिले राम्रो बाटो, घुम्नलाई पार्क, पिउनलाई पानीको व्यवस्था गरिदिएको भए सायद मानिस आउँथे होला ।’ वडाध्यक्ष झवीन्द्र गाहामगर पनि भ्युटावर निर्माणसँगै त्यससँग आवश्यक पार्क, खानेपानी, बाटोलगायतका पूर्वाधार निर्माण हुन नसक्दा भ्युटावर निर्माणले सार्थकता पाउन नसकेको बताए ।

वडाध्यक्ष गाहामगरले भने, ‘भ्युटावरसँगै मानिसलाई आकर्षण गर्ने पार्क, आउनलाई राम्रो बाटो, खानेपानी, बसोबासको व्यवस्थालगायतका पूर्वाधार निर्माण गर्नुपर्ने रहेछ, तर त्यो अनुसारको काम नहुँदा अहिले उपलब्धि खासै देखिन सकेको छैन ।’ उनले पछिल्लो समय भ्युटावरसँगै हासीपुरमा मगर होमस्टेका रूपमा विकास गरेर आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गर्नतर्फ लागेको बताए । यी दुई प्रतिनिधिमूलक भ्युटावर हुन् । पर्यटन प्रवर्द्धन गर्न भन्दै करोडौँ रूपैयाँ खर्चेर दाङका तीनवटा स्थानीय तहमा ६ वटा भ्यूटावर निर्माण गरिएका छन् ।

तीन भ्युटावरमध्ये बंगलाचुली गाउँपालिका–५ मा रहेको बंगलाचुली भ्युटावर र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा रहेको भ्युटावर चढ्न र हेर्न केही मानिस जाने गरे पनि अन्य भ्युटावर प्रयोगविहीन जस्तै अवस्थामा छन् । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखे पनि बाटो, पानीलगायतका आवश्यक पूर्वाधार निर्माण नहुँदा मानिसको रोजाइमा पर्न सकेका छैनन् । न त स्थानीयबासीले भ्युटावरप्रति चासो राख्ने र संरक्षण गर्ने गरेका छन् ।

बंगलाचुली गाउँपालिका अन्तर्गत वडा नं. २, ५ र ८ मा निर्माण गरिएका तीन वटा भ्युटावरको लागत दुई करोड रहेको छ । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा निर्माण गरिएको भ्युटावरको लागत २५ लाख रूपैयाँ रहेको छ । भ्युटावरले छिल्लीकोटको आकर्षण बढाउने काम गरे पनि भ्युटावरलाई आयआर्जनसँग जोड्न नसकेको छिल्लीकोट कालिकामालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुन बताउँछन् ।

‘छिल्लीकोटमा अधिकांश मन्दिरमा पूजापाठसँगै घुमफिरका लागि मानिस आउने गर्नुहुन्छ,’ अध्यक्ष पुनले भने, ‘त्यसमध्ये कतिपय मानिस भ्युटावरमा पनि चढ्ने गर्नुहुन्छ ।’ त्यसैगरी लमही नगरपालिका–५ को अजम्बरी सामुदायिक वन हाताभित्र झन्डै साढे दुई करोड रूपैयाँ खर्च गरेर पाँच तले भ्युटावर खडा गरिएको छ ।

तत्कालीन स्थानीय निकायको बजेटबाट निर्माण सुरु भएको भ्युटावर निर्माणको काम थालेको आठ वर्ष बितिसक्यो तर अहिलेसम्म निर्माण हुन नसकेको अजम्बरी सामुदायिक वन समूहका अध्यक्ष पवन रिजाल बताउँछन् । ‘भ्युटावर निर्माणको काम सुरु भएको आठ वर्ष बितिसकेको छ, तर अहिलेसम्म निर्माणकै अवस्थामा रहेको छ,’ वन समूहका अध्यक्ष रिजालले भने, ‘उद्घाटन नै नभएपछि आम्दानी हुने कुरै भएन ।’

तुलसीपुर उपमहानरपालिका–११, सुकौरास्थित प्राचीन थारु राजा दंगीशरणको दरबार क्षेत्रमा झन्डै ५० लाख रूपैयाँ खर्च गरेर पर्यटनप्रवर्द्धनका लागि भ्युटावर निर्माण गरिएको छ । तत्कालीन सांसद बुद्धिराम भण्डारीको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट २० लाख रूपैयाँ र प्रदेश सरकारको बजेटबाट उक्त भ्युटावर बने पनि भ्युटावरलाई आय आर्जनसँग जोडेर गतिविधि अघि बढाउन नसक्दा ठूलो रकम खर्च भए पनि आम्दानीको स्रोत भने बन्न नसकेको नागरिकको गुनासो छ ।

भ्यूटावर निर्माणको काम अझै केही बाँकी रहेको छ । स्थानीयबासीको माग र आवश्यकता विनै बनेका भ्युटावरको उचित संरक्षण र प्रवर्द्धन समेत हुन सकेको छैन । पर्यटन प्रवर्द्धन गर्ने कुनै ठोस योजना बिना नै संघ, प्रदेश र स्थानीय तहले करोडौँ रूपैयाँ खर्च गर्दा पनि उपलब्धि भने खासै देखिन सकेको छैन । जसले गर्दा पछिल्लो समय जिल्लाका विभिन्न ठाउँमा निर्माण भएका भ्युटावर सुनसान छन् ।


Facebook Comment


No ads found for this position