शुक्लाफाँटामा तालिम लिँदै शेषचन्द्र

भवानी भट्ट

कञ्चनपुर — अढाइ वर्षको भाले हात्ती शेषचन्द्र गजको घाँटीमा बाँधेकाे मोटो डोरी (अग्रन) लाई ठूलो खम्बामा अड्काइएकाे छ । चार दिनदेखि शेषचन्द्र गजलाई बस्न समेत दिइएको छैन । घाँस तथा अन्य आहारा पनि बाँधेकै अवस्थामा दिइन्छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोष्टमा रहेको शेषचन्द्र गज नामको हात्तीलाई तालिम दिँदै हात्तीसारका कर्मचारी । तस्बिर सौजन्य : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ।

रातिमा समेत पहरा दिएर शेषचन्द्र गजलाई विभिन्न किसिमले आदेश मान्ने खालको बनाउन पहल भइरहेको छ ।एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै ल्याइएको शेषचन्द्र गजलाई सोमबारदेखि तालिम दिन थालिएको हो । तालिमको सुरुवातका बेला बयस्क हात्तीको साहारामा जंगलतर्फ लगिएको थियो । इच्छाअनुसार स्वतन्त्र रुपमा हिँडडुल गरिरहेका हात्तीलाई इशारा र निर्देशनका आधारमा हिँडाउनका लागि तालिम दिइन्छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोष्टमा तालिमको सुरुआतका लागि हात्ती चलाउने माहुते, फणित र पछुवाहरुले पूजाआजा गरेर बयस्क हात्तीको सहयोगमा डोरीले डोर्‍याउँदै शेगषचन्द्रलाई जंगलतर्फ लगेका थिए । हालसम्म आफ्नै इच्छाले हिँडिरहेको शेषचन्द्रलाई नियन्त्रित रुपमा हिँडाउन हात्तीसारको बयस्क हात्ती सुर्तीकलीको प्रयोग गरिएको थियो ।

हात्तीलाई तालिम दिनुभन्दा अघि एउटा खम्बा तयार पारिन्छ । त्यसलाई खमारा भनिन्छ । खम्बाको टुप्पोमा डोरी अल्झाउने खालको बनाइन्छ । डोरी अल्झिने उचाइँ र हात्तीको घाँटीको उचाइँ बराबर हुनुपर्छ । खम्बा गाडेको ठाउँमा पूजाआजा गरिन्छ । यसलाई खामेश्वरी पूजा पनि भनिन्छ । ‘जसले हात्तीलाई तालिम दिने हो, उसैले पूजा गर्नुपर्छ,’ हात्तीलाई तालिम दिन चितवनबाट आएका अवकाश प्राप्त नायबसुब्बा अमेरिकाप्रसाद चौधरीले भने, ‘तालिम सुरु भएदेखि माछा मासु खानु हुँदैन, अरुको जुठो पनि खानु हुँदैन, घर पनि जान पाइदैन, शुद्ध बस्नुपर्छ ।’

उनका अनुसार हात्तीलाई पूर्णरुपमा तालिम दिन कम्तीमा एक महिना लाग्छ । हात्तीलाई तालिम दिने वा हात्तीमा चढ्नेलाई बहकिया भनिन्छ । हात्तीलाई तालिम दिन चितवनबाट तीन जनाको टोली आएको छ । सुरूकाे दिन जंगल घुमाएर ल्याएपछि हात्तीलाई बिहान पूजा गरेको खम्बामा बाँधिन्छ । यसका साथै अगाडि र पछाडिका खुट्टा पनि बाँधिन्छ । घाँटीमा बाँधिने डोरीलाई अग्रन, अगाडीको खुट्टा बाँध्नेलाई छनुवा र पछाडिको खुट्टा बाँध्नेलाई बण्डा भनिन्छ । ‘जबसम्म बहकियाको भनेको टेर्दैन तबसम्म बस्न दिँइदैन र खम्बाबाट सारिँदैन, राति सुत्न पनि दिँइदैन,’ हात्तीसारका दरौगा शिवदत्त चौधरीले भने, ‘कम्तीमा एक हप्ता लाग्छ, त्यतिबेलासम्म खम्बामै बाँधेर सिकाइन्छ ।’ उनका अनुसार खानका लागि घाँस हाले पनि बस्न दिँइदैन । रातिमा सुत्न पनि दिँइदैन ।

उनका अनुसार साँझपख हात्तीलाई लठ्ठीले घोच्दै गित गाइन्छ । दुई/तीन घण्टासम्म काउकुती नलागोस् भनेर काठले शरीरका विभिन्न भागमा दल्ने गरिन्छ । त्यतिबेला गाइने गीतलाई बृहनी भनिन्छ । उनका अनुसार बस्न र राति सुत्न दिएमा हात्ती सिकेको कुरा बिर्सन सक्छ । ‘त्यहीँ भएर भनेको नटेरेसम्म उसलाई बस्न पनि दिँइदैन । त्यतिबेला सुड पुग्ने ठाउँमा घाँस र अन्य आहारा राखिन्छ । तर हात्तीले धेरै खानेकुरा खाँदैन,’ शेषचन्द्रलाई तालिम दिइरहेका माहुते उग्रसेन सानाले भने ।

भनेको मान्ने र उठबस गर्न थालेपछि बयस्क हात्तीकै साहारामा उग्रसेनले शेषचन्द्र गजमाथि बसेर पनि तालिम दिनेछन् । सुर्तीकली र लवप्रसाद नामका बयस्क हात्ती पनि तालिममा प्रयाेग हुनेछन् ।

दुई हात्तीको बीचमा हालेर दायाँबायाँ गर्न नदिएर अगाडि लैजान दुवैतर्फ बयस्क हात्तीलाई हिँडाइन्छ । आवश्यक परे पछाडिबाट दाह्राबाला हात्ती प्रयोग गरेर धकेलिन्छ । ‘उकालो ओरालो र हिलाे-पानी सबै ठाउँमा हिँड्न सक्ने गरि तालिम दिइन्छ,’ चौधरीले भने, ‘तालिमका बेलामा निडर बनाउन आगो पनि देखाइन्छ ।’ उनका अनुसार अलिअलि सिकेपछि गाँउतर्फ र बजारमा हिँडाइन्छ । गाडी देखेर नडराओस् भनेर सडकमा समेत हिँडडुल गर्न सिकाइन्छ । दुई जनाको भार धान्न सक्ने भएपछि हात्तीमाथि गद्दी राखिन्छ ।

शेषचन्द्र गज नारायणकलीको दोस्रो सन्तान हो । ०७८ वैशाख २० मा चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा जन्मिएको यो हात्तीलाई गतवर्ष पुस १५ मा आमा नारायणलीसँगै यहाँ ल्याइएको हो । नारायणकली यहाँ ल्याइएपछि ०८० जेठमा थप एक छावा जन्मेको छ । पोथी छावाको नाम शुक्लाकली राखिएको छ ।

शुक्लाफाँटामा हात्तीलाई तालिम दिन थालिएको यो दोस्रो पटक हो । यसअघि शुक्लामै जन्मिएको नारायणप्रसादलाई ०६९ मा तालिम दिइएको थियो । नारायणप्रसादलाई अहिले १६ वर्ष भयो । हात्तीलाई दुईदेखि साढे तीन वर्षभित्रै तालिम दिइसक्नुपर्छ । त्यसपछि भने तालिम दिन निकै समस्या हुन्छ । अटेरी पनि हुन सक्छ ।

शुक्लाफाँटामा १० हात्तीको दरबन्दी भए पनि अहिले सानासहित आठ मात्रै छन् । दुई हात्तीको दरबन्दीमा पदपुर्तीका लागि चितवनबाटै ल्याउने तयारी भइरहेको निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्राईले बताए । उनले शुक्लामै हात्ती प्रजनन् केन्द्र स्थापनाबारे पनि तयारी भइरहेको बताए । त्यसपछि भने जहिल्यै चितवनबाट हात्ती ल्याउनुपर्ने बाध्यता अन्त्य हुने उनले बताए ।

निकुञ्जमा गस्तीसँगै पर्यटकलाई सफारीका लागि हात्ती चाहिन्छ । बर्खायाममा निकुञ्जभित्र हिलोका कारण सवारीसाधन जान सक्दैन । त्यतिबेला गस्तीका लागि भरपर्दो माध्यम नै हात्ती हो । यसबाहेक वन्यजन्तुको उद्धारदेखि स्थानान्तरणका लागि समेत हात्तीकै प्रयोग हुन्छ ।

गत वैशाखमा कञ्चनपुरकै बेलौरीमा एक महिलाको ज्यान लिने बाघलाई हात्तीकै प्रयोगबाट नियन्त्रणमा लिइएको थियो । दरबन्दी अनुसार हात्ती नहुँदा नियमित गस्तीदेखि वन्यजन्तुको उद्धार र पर्यटकका लागि सफारीमा समस्या हुने गरेको छ । अहिले हात्तीसारसँगै निकुञ्जको मालुबेला र शुक्लाफाँटा पोष्टमा हात्ती राखिएको छ ।


Facebook Comment


No ads found for this position