पर्यटनक्षेत्रमा लगानी गर्न आग्रह : अर्थमन्त्री डा. महत

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताएका हुन् ।

उनले भने,‘जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका उत्कृष्ट गन्तव्यको रूपमा विकास हुन्छ ।’ यी क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल पाइने भए पनि यी क्षेत्रमा मात्रै लगानी गर्न सरकारले प्रोत्साहन नगर्ने बताए । यी चार क्षेत्र लगानीका मुख्य आकर्षण रहेको छ । यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्दा उत्कृष्ट प्रतिफल प्राप्त हुन उनको भनाइ छ ।

नेपालको ५० प्रतिशतभन्दा धेरै क्षेत्रफल उच्च पहाडी क्षेत्रअन्तर्गत पर्छ भने २० प्रतिशत क्षेत्रफल समथर भूभाग छ । यसबाहेक बाँकी क्षेत्र हिमालय पर्ने अर्थमन्त्रीको भनाइ थियो । यी क्षेत्रमा लगानी गरेर आफ्नो अन्य साथीलाई समेत नेपालबारे जानकारी दिन अर्थमन्त्री महतले आग्रह गरेका छन् । उनले भने, ‘जलविद्युत क्षेत्रमा नेपालले फड्को मारेको र भारतले १० हजार मेगावाट खरिद गर्ने सम्झौता गरेको अवस्थामा अन्य वस्तुहरुको निर्यातमा पनि निजी क्षेत्रले ध्यान दिनुपर्छ ।’

नेपालबारे अस्थिर राजनीतिक व्यवस्था रहेको गलत प्रचार भइरहेकोमा आपत्ति जनाउँदै मन्त्री महतले नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको दाबी गरे । नेपाल दक्षिण एसियाकै उत्कृष्ट लगानी गन्तव्य बन्न सक्ने उनको भनाइ थियो । आगामी दिनमा व्यावसायिक वातावरण थप मजबुत बन्ने र नेपाल–भारत व्यावसायिक सम्मेलनमा सहभागी सबै भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न उनले आग्रह गरे । मन्त्री महतले वैशाखमा लगानी सम्मेलनको आयोजना गर्न लागेको र लगानी सम्बन्धी सबै कानुन, नीति नियम सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विदेशी लगानीलाई सहज गर्न पुराना कानुनहरुलाई परिमार्जन गर्दै लैजाने र लगानी मैत्री वातावरणको विकास गर्ने उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि भारतीय लगानीकर्ताहरुलाई ऊर्जा र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरे । नेपालमा ऊर्जा र पर्यटनमा पर्याप्त सम्भावना रहेको भन्दै लगानी गर्न आग्रह गरे । ‘पछिल्लो समय थपिएका भैरहवा र पोखरा विमानस्थलले कनेक्टिभिटी बलियो बनाएको छ,’ उनले भने,‘त्यसको उपयोग गरेर पर्यटन उद्योगमा लगानी थप्न सकिन्छ । नेपालमा माइस टुरिजम,सहासिक पर्यटन र केवलकारको बलियो सम्भावना छ ।’

सरकारले यही वैशाखमा आयोजना गर्न गइरहेको लगानी सम्मेलनमा समेत सक्रिय सहभागिताका लागि भारतीय लगानी कर्तालाई उनले आह्वान गरेका छन् । पछिल्लो समय नेपाल र भारतबीच १० हजार मेगावाटसम्म नेपालको विद्युत भारतीय बजारमा लाने सम्झौताले पनि नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि आकर्षण बढेको ढकालको भनाइ थियो ।


Facebook Comment


No ads found for this position