भिजिट भिसामा विदेश जानेलाई हैरानी दिने काम बन्द गर्नु : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन्।
छलफलमा प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै तत्काल सहज वातावरण सिर्जना गर्न निर्देशन दिको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रचण्डले भने, ‘भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि सेटिङ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु। भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु गराउनु होला। जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला।’
प्रधानमन्त्रीले पालिकास्तरसम्म गएर वैदेशिक रोजगारी र भिजिट भिसाबारे चेतनामूलक कार्यक्रम गर्न, राष्ट्र र जनताको हितमा काम गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।