पर्यटन क्षेत्रले फड्को मार्ने गरी नयाँ कार्ययोजना ल्याउने : पर्यटनमन्त्री किराती

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रले फड्को मार्ने गरी नयाँ कार्ययोजना ल्याउने बताएका छन्।

मन्त्रालयमा नेतृत्वको आफ्नो एक वर्षको कार्य विवरण आयोजना गरेर सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।

सन् २०२३ मा सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गरेको बताउँदै उनले पर्यटक दशक पूरा गर्दा वार्षिक ३५ लाख पर्यटक पुर्‍याउने गरी अब चाँडै नयाँ कार्ययोजना ल्याइने बताएका हुन्।

त्यस्तै मन्त्री किरातीले नेपाल वायुसेवा निगमको क्षमता बढाउँदै जहाज थप्ने कार्य प्रक्रियामा पुगेको समेत बताए। उनले राष्ट्रिय ध्वजावाहकलाई विस्तार गर्नका लागि जहाज थप्नै पर्ने भन्दै उनले दुर्गम क्षेत्रमा उड्ने र अवतरण गर्ने जहाज खरिद गर्न प्रकाशित टेण्डर अन्तिम चरणमा रहेको बताए।

उनका अनुसार सन् २०१२ बाट ग्राउन्डेड रहेको ट्विनअटर जहाज मर्मत गरी सञ्चालनमा ल्याउन मर्मतसम्भार भइरहेको छ। ‘क्षेत्रीय विमानस्थलहरूमा उडान अवतरण गर्ने तीन र अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने न्यारोबडी जहाज लिने लिज प्रक्रिया अघि बढिसकेको छ,’ कार्यक्रममा बोल्दै मन्त्री किरातीले भने।

मन्त्री किरातीले हाल सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदार (पिपिपी)मोडलमा सञ्चालनको प्रक्रिया अघि बढेको उनले बताए।

मन्त्री किरातीले एक वर्षभरिमा एक सय एक वटा काम गरेको बताएका छन्। साथै आगामी दिनमा पर्यटन तथा हवाइ नीति/ऐन तथा आवश्यक कार्यविधिहरू संशोधनको गरिने उनको भनाइ छ।


Facebook Comment


No ads found for this position