कालिञ्चोकमा हिउँ परेपछि पर्यटक बढे

दोलखा– यो बर्षको पहिलो पटक हिउँ परेपछि कालिञ्चोकमा आन्तरिक पर्यटक बढेका छन् । माघको सुरुवातसँगै कालिञ्चोक क्षेत्रमा हिउँ परेको छ । हिउँ परेको खबर सुन्नासाथ चरिकोट, काठमाडौं र तराईका क्षेत्रबाट हिउँ खेल्नकै लागि पर्यटक कालिञ्चोक पुगेका छन् । कालिञ्चोक क्षेत्रमा मंगलबार आधा घण्टा हिउँ परेको थियो । बाक्लो हिउँ नपरेपनी कालीन्चोकमा परहेको हिउ केही जमेको थियो ।

विगतमा मंसिरदेखि फागुनसम्म कालिञ्चोकमा हिउँ पर्ने गरेको थियो ।
कालिञ्चोकमा प्राकृतिक मनोरम दृश्यावलोन गर्न र धार्मिक पर्यटक धेरै आउने कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले जानकारी दिए । धार्मिक रुपमा प्रचार गरेरै वर्षेनी हजारौं भारतीय ल्याउन सकिने उनले बताए । कालिञ्चोकमा असोजपछि पर्यटक जाने गर्छन् । भारतको उत्तर प्रदेश, पश्चिम बंगाल, सिक्किम र बिहार राज्यबाट पर्यटक कालिञ्चोक घुम्न आउने गरेका छन् । मुम्बई र दिल्लीबाट समेत कालिञ्चोक आउनेहरू उत्तिकै छन् ।

तराईबाट सिधा सडक यातायात खुलेपछि वर्दिबासबाट ५ घण्टामा चरिकोट आइपुगिन्छ । वर्दिबाससम्म आएका सिधै कालिञ्चोक आएर त्यहाँबाटै काठमाडौं पुग्ने गर्छन् भने कतिपय यतैबाट फर्किने गरेका व्यवसायीहरुको भनाइ छ । साना गाडी र मोटरसाइकलमा भारतीयहरु कालिञ्चोक पुग्छन् । कालिञ्चोक आउने पर्यटकका कारण चरिकोटका होटलको समेत व्यापार बढेको छ ।

केही वर्षयता भारतीयसँगै बंगलादेशी पर्यटकसमेत स्थलमार्गबाट कालिञ्चोक आउँछन् । फूलबारी राजमार्ग प्रयोग गरेर झापाबाट बंगलादेशी पर्यटक कालिञ्चोक आउने गरेको उनीहरूको भनाइ छ । कालिञ्चोकमा आन्तरिक पर्यटकको चहलपहल पनि राम्रै छ । चरिकोटसम्म आएका पर्यटक कालिञ्चोक पुग्न १७ किलोमिटर सडक यात्रा गर्नुपर्छ । देउरालीसम्म सडक कालोपत्रे छ ।

त्यसभन्दा माथि पनि तीन किलोमिटर जति ढलान छ । थप ढलान र कालोपत्रेको काम पनि जारी छ । विगतका तुलनामा सडक सुधार धेरै भएकाले ढुक्कले कालिञ्चोक आउन पर्यटन व्यवसायीहरु आग्रह गर्छन् । ३ हजार ८४२ मिटर उचाइमा रहेको कालिञ्चोक मन्दिर छ । हिउँ परेका बेला पर्यटकहरुले सास्ती नपाउन भनेर व्यवसायीले ठाउँ ठाउँमा गाडीको सुविधासमेत दिने गरेका छन् ।


Facebook Comment


No ads found for this position