ढोरपाटन उपत्यका चिसोका कारण सुनसान

माघ, ढोरपाटन (बागलुङ) । पुस पहिलो हप्तासम्म पर्यटकले भरीभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ । प्रचारप्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै चहलपहल बढ्ने छ ।

पर्यटक आउन छाडेपछि होटल व्यवसाय पनि ठप्प भएको छ । चिसो नसकिएसम्म पर्यटक भित्र्याउन नसकिने ढोरपाटन नगरपालिका–९ पाखाथरका होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले बताए । चिसोका कारण अधिकांश स्थानीय बोबाङ, अधिकारीचौरलगायत तल्लो क्षेत्रमा झरेको उनको भनाइ छ ।

अहिले फाटफुट पर्यटक आए पनि बास नबस्ने भण्डारीले बताए । कतिपय होटल व्यवसायी पनि चिसोका कारण बेँसी झरेको उनी बताउँछन् । विगतको तुलनामा यस वर्ष उल्लेख्य पर्यटक ढोरपाटन आएको भन्दै यो बेमौसम भएको हुँदा पर्यटकको सङ्ख्या न्यून रहेको उनको भनाइ छ ।

यो याममा हिँउ परेको भए धेरै पर्यटक आउने थिए । ‘हिँउ परेपछि धेरै आउने थिए, अहिले हिँउ पनि परेन, अब फागुन लागेपछि आउँछन्, त्यस बेलासम्म चिसो घट्छ’, भण्डारीले भने, ‘यहाँ वरपर बस्नेहरु पनि चिसो बढेको हुँदा तल बेँसीतिर गएका छन्, गर्मी मौसम सुरु भयो भने बल्ल आउँछन् ।’

दुई वर्ष अगाडिसम्म ढोरपाटन पुग्ने पर्यटकले व्यवस्थित बास बस्ने ठाउँ पाउँदैनथे । अहिले ढोरपाटन उपत्यकामै ३३ होटल र घरबास सञ्चालनमा आएको हुँदा धेरै सहज भएको छ । बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनसम्म कच्ची सडकका कारण यात्रा भने त्यति सहज छैन । पुस पहिलो सातासम्म दैनिक करिब तीन सय पर्यटक दैनिक आउने गरेको अर्का होटल व्यवसायी श्यामलाल घिमिरेले बताए ।

चिसोका कारण धारोमै पानी जम्ने गरेको र पाहुना पनि नआउँदा खाली रहेको उनको भनाइ छ । पाहुना नआएपछि आफू पनि बेँसी झर्ने र बेला–बेला ढोरपाटन उक्लिने गरेको घिमिरे बताउँछन् ।

‘अहिले होटल बन्द गरे जस्तै भएको छ, मेरो पनि घर बेँसीमै भएको हुँदा चिसो छल्नलाई बेँसीतिर झर्ने गरेको छु, पाहुना आएर फोन गरे भने माथि (ढोरपाटन) उक्लिने गरेको छु’, उनले भने ।


Facebook Comment


No ads found for this position