करिब डेढ खर्ब ऋण तिर्न र नयाँ जहाज किन्न नेपाल एयरलाइन्सको तयारी

माघ, काठमाडौं । जहाज खरिद गर्न लिएको पुरानो ऋण तिर्न र नयाँ जहाज किन्न नेपाल एयरलाइन्स (वायुसेवा निगम) ले १ खर्ब ३५ अर्ब रुपैयाँबराबर ऋण लिने भएको छ ।

सो प्रयोजनका लागि निगमले अन्तर्राष्ट्रिय आशय पत्र निकालेको हो । निगमले मंगलबार आशय पत्र निकालेको जानकारी बुधबार विज्ञप्तिमार्फत दिएको हो ।१ सय ५८ सिट क्षमताका ‘ए३२०’ र २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०’ जहाज किन्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको चर्को ब्याजदरको ऋण तिर्न र नयाँ जहाज खरिद प्रयोजनसहित कम ब्याजदरको ऋण लिन आशय पत्र निकालिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

यसरी लिइने रकमले ऋण तिर्ने, १० वर्षे व्यावसायिक योजनाअनुसार आन्तरिक तथा वाह्य सेक्टरमा उडान गर्न जहाज किन्ने र अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मत गर्ने ह्यांगर निर्माणमा प्रयोग गर्ने योजना रहेको पौडेलले बताए ।

यस्तो ऋण एकैपटक नलिई व्यावसायिक लगानीको आवश्यकताअनुसार पटक–पटक लिइने र यस्तो ऋण प्राप्त भएपछि वार्षिक साढे ३ अर्ब रुपैयाँबराबर ब्याज रकम कम तिर्नुपर्ने देखिएको समेत पौडेलले जानकारी दिए ।


Facebook Comment


No ads found for this position