सगरमाथा राष्ट्रिय निकुञ्ज भ्रमण गर्नेको संख्यामा वृद्धि

माघ, सल्लेरी (सोलुखुम्बु) :सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । गत आव २०७९/८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा एक हजार चार सय ४१ ले वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार गत आवको साउनदेखि पुस मसान्तसम्ममा २६ हजार नौ सय ४९ जना पर्यटकले भ्रमण गरेका थिए भने चालु आवको सोही अवधिमा २८ हजार तीन सय ९० ले निकुञ्ज भ्रमण गरेका छन् ।

साउनमा दुई सय आठ, भदौमा एक हजार तीन सय २४, असोजमा नौ हजार आठ सय दश, कात्तिकमा १३ हजार २५, मङ्सिरमा दुई हजार छ सय ९४ र पुसमा एक हजार तीन सय २९ जना रहेका कार्यालयका सूचना अधिकारी मण्डलले जानकारी दिए ।

उनका अनुसार सार्क मुलुकका पर्यटक दुई हजार सात सय १९, अन्य विदेशी मुलुकका २२ हजार ८८ र नेपाली तीन हजार पाँच सय ८३ जना रहेका छन् ।

‘नेपाली पर्यटक अलिक कम आउँछन् । यहाँ घुम्न आउने अधिकांश पर्यटक विदेशी नै हुन्छन्, कुनै हिमाल चड्ने हुन्छन्, भने कुनै घुम्न मात्रै पनि आउने हुन्छन् । त्यसैले सिजनमा निकुञ्जको डिउटी गर्न छुट्टै आनन्द हुन्छ, पर्यटकसँग रमाउँदै काम गर्दाको मज्जा बेग्लै हुन्छ’, सूचना अधिकारी मण्डलले भने । उनका अनुसार यस क्षेत्रमा वर्षको छ महिना पर्यटकीय सिजन हुने र छ महिना अफसिजन हुने गर्दछ ।

फागुन १५ गतेदेखि जेठ १५ सम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ ।सिजनमा दैनिक नौ सय जनासम्म पर्यटक प्रवेश हुने गरेकामा अहिले मुस्किलले पाँच/सात जना हुने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।


Facebook Comment


No ads found for this position