त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ आगमन टर्मिनल भवन सञ्चालनमा

काठमाडौं– आन्तरिक हवाई यात्रुको संख्या बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ आगमन टर्मिनल भवन सञ्चालनमा ल्याएको छ । २०७९ जेठ २९ मा शिलान्यास गरिएको आगमन टर्मिनल भवन मंगलबारबाट सञ्चालनमा ल्याइएको हो ।

एक वर्षभित्र भवन निर्माण पूरा गर्ने लक्ष्य लिइएको भवन करिब ७ महिनामै तयार भएको छ । पाँच करोडको लगानीमा नयाँ आगमन कक्ष बनेको हो । आन्तरिक हवाई यात्रुको चाप बढेसँगै प्राधिकरणले आन्तरिकतर्फको टर्मिनल भवन नयाँ बनाएको हो । आन्तरिक ट्याक्सी पार्किङ स्थलमा नयाँ आगमन टर्मिनल भवन निर्माण भएसँगै हालको टर्मिनल भवनलाई प्रस्थान भवनका रुपमा विकास गरिएको छ ।

आन्तरिक टर्मिनल भवनमा भीआईपी कक्ष, शौचालय, यात्रु प्रतीक्षालय र ज्इेष्ठ नागरिकलाई बस्न कुर्सीको व्यवस्था रहेको छ । सो नयाँ टर्मिनल हल ४० मिटर लामो, २४ मिटर चौडाइ र ३५ मिटर लामो ब्यागेज कन्भेयर (दुईतर्फी ब्याग लिन मिल्ने) बेल्ट रहेको छ ।

यो भवनबाट प्रतिघण्टा चार सय यात्रुलाई सेवा दिन सकिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । उनले भने, ‘पछिल्लो समय आन्तरिक यात्रुको संख्या बढीरहेकाले नयाँ आगमन भवनले आन्तरिक यात्रुलाई यात्रा गर्न सहज हुनेछ ।’

विमानस्थलको गुरु योजनामा ४० अर्बको लागतमा आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने उल्लेख छ । तर गुरु योजना अगाडी बढ्न समय लाग्ने भएपछि आन्तरिक हवाई यात्रुको बढ्दो चाप व्यवस्थापन गर्न प्राधिकरणले नयाँ टर्मिन भवन बनाएको हो ।

सन् २०२१ मा आन्तरिक हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएर ३५ लाख पुगेको थियो । सन् २०२२ मा ४४ लाख ६६ हजार र सन् २०२३ मा ४१ लाख ५० हजार ३२६ यात्रुले हवाइ यात्रा गरेका थिए । दैनिक १५ हजार हवाई यात्रुले आन्तरिक टर्मिनल प्रयोग गर्ने गरेको बताएको छ ।


Facebook Comment


No ads found for this position