विश्वका उत्कृष्ट होटलमा पर्यो मुस्ताङको सिन्तामणि होटल एन्ड रिसोर्ट, एक रात बिताउन २ लाख ७३ हजार रुपैयाँ

काठमाडौं । अमेरिकाको नेशनल जियोग्राफिक म्यागजिनले तयार पारेको विश्वका उत्कृष्ट होटलको सूचीमा नेपालको मुस्ताङस्थित सिन्तामणि पनि परेको छ । जहाँ एक रात बिताउन करसहित २ लाख ७३ हजार रुपैयाँ तिर्नुपर्छ ।

यो सूचीमा एसिया महादेशबाट तीनवटा होटल पर्न सफल भएका छन् । जसको पहिलो स्थानमा नेपालको सिन्तामणि परेको हो । स्थानीय ढुंगा प्रयोगबाट निर्मित यो रिसोर्ट दुई वर्षअघि मात्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । पदयात्रा, स्थानीय परिकार र संस्कृतिका कारण यो रिसोर्ट उत्कृष्ट सूचीमा परेको हो । यहाँ शताब्दिऔं पुराना बौद्ध गुम्बाको अनुभूति गर्न सकिन्छ ।

हिमाली याककाे मोमो, तिब्बती थुक्पा जस्ता परिकारको समेत नेशनल जियोग्राफिकले प्रशंसा गरेको छ । यो सूचीमा श्रीलंकाबाट कुरुलु बे र भुटानको इन्ड बियोन्ड पुनाखा रिभर लजसमेत परेका छन् ।

नेशनल जियोग्राफिकका सम्पादक, लेखक, फोटोग्राफर र अन्वेषकले यो सूची तयार पारेको यसको अनलाइन साइटले जनाएको छ ।

‘नेपालको हिमालयको दुर्गम स्थानदेखि लक्स लन्डन क्र्यास प्याडसम्म मन पराइएका उत्कृष्ट होटलमा परेका छन्,’ नेशनल जियोग्राफिकले लेखेको छ ।

नेशनल जियोग्राफिक अमेरिकाबाट सन् १८८८ देखि निरन्तर प्रकाशित हुँदै आएको मासिक म्यागाजिन हो । यसको मासिक सर्कुलेसन १८ लाख प्रति छ ।

सिन्तामणि कसको हो ?

सिन्तामणि होटल एन्ड रिसोर्ट शेर्पा हस्पिटालिटी ग्रुपअन्तर्गत सञ्चालनमा छ । यो रिसोर्ट सम्भवतः नेपालकै सबैभन्दा महँगोमध्ये पर्छ । यो २८ साउनबाट सञ्चालनमा आएको हो ।

यती समूहको शेर्पा हस्पिटालिटीको यो रिसोर्टमा २९ कोठा छन् । यसमा बास बस्न स्वदेशी वा विदेशी जो भए पनि कम्तीमा पाँच दिनसम्मको बुकिङ गर्नुपर्छ ।

सिन्तामणिमा बास बस्ने रातको १ हजार ८ सय अमेरिकी डलर भाडा तिर्नुपर्छ। यो भाडामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र २ प्रतिशत लक्जरी कर जोडिएको छैन । दुई जनाका लागि बनाइएको यो प्याकेजमा कोठा, वेलनेस प्रोग्राम, खाना र पेय उपलब्ध गराइएको रिसोर्टले जनाएको छ ।


Facebook Comment


No ads found for this position