लुम्बिनीमा थाइ पर्यटकहरू बढे

बुटवल– लुम्बिनीमा थाइल्याण्डका पर्यटकहरूको चहलपहल बढेको छ । गत जनवरीको तथ्यांक अनुसार थाइल्याण्डको पर्यटक आगमन कोभिडअघिकै हाराहारीमा पुगेको हो । २०२४ को जनवरीमा ४ हजार ६ जना थाइ पर्यटक आएको लुम्बिनी विकास कोषले जनाएको छ । कोभिडअघि सन २०१९ को जनवरीमा थाइल्याण्डबाट ३ हजार ५३१ पर्यटक आएका थिए ।

लुम्बिनीमा रहेको थाइ गुम्बाले विभिन्न कार्यक्रम आयोजना गरेकाले पछिल्लो समय थाइल्याण्डका पर्यटक बढेको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरि राईले बताए । ‘पछिल्लो समय थाइ टेम्पलको तर्फबाट विभिन्न स्वास्थ्य शिविरहरू र अन्य कार्यक्रम पनि भए । शिविरमा स्वास्थ्यकर्मीहरू पनि आएका थिए’, उनले भने,‘यहाँ भएको कार्यक्रमले थाइल्याण्डमा पनि चर्चा हुने नै भयो । त्यसैले पर्यटक बढेका छन् ।’

लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले अहिले थाइ पर्यटकहरूको सिजन भएको बताए । गत वर्षभन्दा अहिले अलि बढी चहलपहल देखिएको छ । लुम्बिनीमा रहेको थाइ गुम्बाले पनि विभिन्न गतिविधि गरिरहेका कारण पर्यटकको आगमन बढेको ज्ञवालीको भनाइ छ । पछिल्लो समय मात्र थाइल्याण्डका भिक्षुहरू भारतको बोधगयाबाट पैदल लुम्बिनी आएका छन् । २० जना जति भिक्षुहरू रामग्राम हुँदै लुम्बिनी आएका हुन् । थाइल्याण्डबाट जति पर्यटक आएका छन् ।

त्यस अनुसारको फाइदा पनि व्यवसायीहरूले लिन नसकेको लुम्बिनी होटल संघका निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठले बताए । उनले भने,‘भारतबाट आउने भएकाले त्यतैका ट्राभल एजेन्सीले लिएर आउने र लुम्बिनी देखाएर सोही दिन फर्काउने गर्छन् । यसले पर्यटन व्यवसायीहरूलाई सोचे जस्तो फाइदा हुँदैन ।’ लुम्बिनीमा आउने तेस्रो मुलुकका पर्यटकमध्ये सबै भन्दा बढी श्रीलंकाको र त्यसपछि थाइल्याण्डका रहेका छन् । २०२३ मा थाइल्याण्डबाट कुल १५ हजार ७२१ पर्यटक लुम्बिनी आएका थिए ।

कोभिड अघि सन् २०१९ मा २८ हजार ३६४ थाइ पर्यटक लुम्बिनी आएका थिए । गत जनवरीको तथ्यांकले थाइल्याण्डका पर्यटक यो वर्ष अझ बढ्न सक्ने अनुमान गरिएको छ । सन २०२४ को जनवरीमा लुम्बिनीमा तेस्रो मुलुकका कुल पर्यटकको आगमन अघिल्लो वर्षको भन्दा धेरै सुधार देखिएको छ । यो वर्ष जनवरीमा भारत बाहेक तेस्रो मुलुकबाट ९ हजार ६१० पर्यटक लुम्बिनी आएका छन् ।


Facebook Comment


No ads found for this position