लुम्बिनीमा पर्यटक दोब्बर

भैरहवा– लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढेको छ । २०२३ को जनवरीको तुलनामा यो वर्षको जनवरीमा लुम्बिनी भ्रमणमा आउने पर्यटकको संख्या दोब्बरले वृद्धी भएको लुम्बिनी विकास कोष सूचना शाखाले जनाएको छ ।

शाखाका कर्मचारी दिलीप कुलुंगका अनुसार गत वर्षको जनवरीमा ३ हजार ९८७ विदेशी पर्यटक लुम्बिनी आएकामा यस वर्षको पहिलो महिना जनवरीमै ९ हजार ६१० पर्यटक आएका छन् । पर्यटक आगमन वृद्धी दोब्बरभन्दा बढी भएको उनले बताए । कुलुंगका अनुसार जनवरीमा सबैभन्दा बढी थाइल्याण्डका पर्यटक ४ हजार ६ जना आएका छन् । जनवरीमा थाईहरू बैंककबाट प्लेन चार्टड गरेर समेत आएका थिए ।

त्यसैगरी सोहि महिनामा दक्षिण कोरीयाका १ हजार ३६६, म्यानमारका १ हजार ४५, चीनका ८ सय, भुटानका ४८७ , भियतनामका २५०, श्रीलंकाका २४० पर्यटक आएका छन् । जनवरीमै भारतीय पर्यटकहरू १९ हजार ३६ जनाले लुम्बिनी भ्रमण गरेका छन् । गत वर्षको जनवरीमा १८ हजार ११५ जना भारतीय पर्यटक लुम्बिनी पुगेका थिए । त्यसैगरी आन्तरिक पर्यटकहरू ५५ हजार ९५३ जना लुम्बिनी भ्रमणमा पुगेका छन् ।

आन्तरिक पर्यटक गत वर्षको जनवरीको तुलनामा केही घटेका छन् । गत वर्षको जनवरीमा ६२ हजार ५५३ नेपाली लुम्बिनी भ्रमणमा पुगेको थिए । लुम्बिनीको प्रचारप्रसार, विभिन्न आध्यात्मिक गतिविधिलगायतका कारणले पर्यटकहरू गत वर्षभन्दा वृद्धी भएको लुम्बिनी बिकास कोषका सूचना अधिकृत हरीध्वज राईले बताए । लुम्बिनी भ्रमणमा आउने पर्यटक विस्तारै बढदै छन् ।

यो वर्षको पहिलो महिनामा गत वर्षको तुलनामा विदेशी पर्यटक दोब्बर आउनु भनेको राम्रो संकेत भएको राईले बताए । लुम्बिनी भ्रमणमा आउने बिदेसी पर्यटकहरू अधिकांस स्थलमार्गको बेलहिया नाका हुदै नेपाल आउने गर्छन् । विदेशी भारतीय तथा नेपालीहरूको लागि लुम्बिनीमा आकर्षणका रुपमा मुख्य गरी बुद्धजन्मस्थल मायादेबी मन्दिर, अशोक स्तम्भ, पबित्र पुष्करणी कुण्ड, विश्व शान्तिद्धिप, त्यहाँका विभिन्न स्वदेशी एवं विदेशी बिहार एवं नहर रहेका छन् ।

पर्यटक आगमन बढनु सकारात्मक रहेको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए । तर पर्यटक बढे पनि पर्यटन व्यवसाय फस्टाउन सकेको छैन । लुम्बिनीमा बढीभन्दा बढी समय व्यतीत गर्ने आध्यात्मिक गतिविधिलगायतका कामहरू बढीभन्दा बढी भए पर्यटकको बसाई अवधि बढ्न सक्ने ज्ञवाली बताउँछन् ।


Facebook Comment


No ads found for this position