गलेखामकोटलाई पर्यटकीय गन्तव्यस्थल बनाउन माग

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारबाट पश्चिममा रहेको गलेखामकोटलाई पर्यटकीय गन्तव्यस्थल बनाउन माग गरिएको छ । कन्टारदेखि साँगे हुँदै पुगिने गलेखामकोट सदरमुकाम दमौलीदेखि नजिक रहेर पनि ओझेलमा परेपछि स्थानीयले त्यस्तो माग गरेका हुन् । व्यास नगरपालिका–६ मा अवस्थित गलेखामकोट सदरमुकामबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ ।

कुनै बेला मगर राजाले समेत राज्य गरेको यस ठाउँ ओझेलमा परेपछि स्थानीयवासी यतिवेला यस्को प्रवर्द्धनमा लागि परेका छन् । मगर राजाले शासन गरेको र अन्तिम राजा चक्रधर राना रहेको गलेखामकोट टोल विकास संस्थाका अध्यक्ष बसन्तकुमार श्रेष्ठले जानकारी दिए । उनले भने,‘धार्मिक तथा पर्यटकीय हिसाबले यस ठाउँले प्रचुर सम्भावना बोके पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । यस ठाउँको विकास र प्रचारप्रसारका लागि स्थानीयवासी कस्सिएका छन् ।’

श्रेष्ठका अनुसार मगर राजाले तनहुँका सेनवंशका राजासँग आत्मसमर्पण गरेको किंवदन्ती छ । पछि सेनवंशले गोरखाका शाह वंशसँग आत्मसमर्पण गरेको इतिहास छ । यो क्षेत्र पर्यटकीय हिसाबले अत्यन्त आकर्षक र तनहुँको तेस्रो अग्लो पहाडको रूपमा परिचित छ । यहाँबाट सदरमुकामको दमौली, शुक्लागण्डकी नगरपाकिालस्थित थप्रेक, व्यास नगरपालिकास्थित कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुइपिप्ले, कास्कीको फेवाताल, बेगनास ताल तथा विभिन्न ठाउँको रमणीय दृश्यहरु देख्न सकिने स्थानीयवासी मुनिराज गुरुङले बताए ।

प्रचुर सम्भावना बोकेर पनि यस ठाउँको विकास हुन नसकेको उनको भनाइ छ । उनले भने,‘यहाँबाट देखिने मनोरम दृश्यले जो कोहीलाई लोभ्याउँछ । तर यस ठाउँको पर्याप्त प्रचारप्रसार हुन सकेन । हामी अब यसको प्रवर्द्धनमा जुटेका छौं ।’ गुरुङका अनुसार यस ठाउँमा शनिबार र बिदाका दिन फ्याट्टफुट्ट आन्तरिक पर्यटकको आगमन हुन थालेको छ । गलेखामकोटमा नेवार समूदायको बाहुल्यता छ । यहाँ भ्युटावर समेत बनेको छ । विसं २०७६ सालमा १६ लाखको लागतमा भ्युटावर निर्माण भएको थियो ।

तीन तल्लाको दृश्यावलोकन स्तम्भबाट एकैपटकमा २० भन्दा बढी पर्यटकले दृश्यावलोकन गर्न मिल्नेछ । यहाँबाट कास्कीको फेवाताल, माछापुच्छ्रे, धवलागिरी, अन्नपूर्ण, मनास्लु लगायतको हिमश्रृखला देख्न सकिन्छ । समुन्द्र सतहबाट दुई हजार २०७ मिटरको उचाइमा रहेको गलेखामकोट बाइसे चौबिसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको ठाउँ हो । यहाँ रहेको कोटभैरव मन्दिरमा दशैंको बेला विशेष पूजाआजा हुने गरेको छ ।

बडादशैंको नवमीको दिन मन्दिरमा पञ्चबली दिने प्रचलन रहेको स्थानीयवासी मनिता गुरुङले जानकारी दिइन् । मन्दिरमा राना जातिले पूजारी र ब्राम्हण जातिले पुरोहितको रूपमा काम गर्दै आएका छन् । यस ठाउँमा राजाको पालामा युद्धमा प्रयोग गरिएको हातहतियार सुरक्षित रूपमा राखिएको छ । गलेखामकोटको प्रवर्द्धन र विकासका लागि नगरपालिकाले पहल थालेको वडाध्यक्ष जीवन गुरुङले बताए ।


Facebook Comment


No ads found for this position