पर्यटकीयस्थल जितगढी सर्वसाधारणका लागि खुला

बुटवल– बुटवलको ऐतिहासिक तथा पर्यटकीयस्थल जितगढी सञ्चालन र व्यवस्थापनका लागि कार्यविधि बनेको छ । बुटवल उपमहागनरपालिको पछिल्लो नगर कार्यपालिकाको बैठकले जितगढी किल्लाको संरक्षण, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत गरेको हो ।

जितगढी २०७ वर्षअघि युद्धमा नेपालले अंग्रेजलाई पराजित गरेको ठाउँ हो । विसं १८७२ साल वैशाख ७ गते तत्कालीन इष्ट इण्डिया कम्पनी अर्थात् अंग्रेजसँगको युद्धमा कर्नेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले विजयी हासिल गरेको थियो । अंग्रेजलाई जितेको ठाउँ भएकाले बुटवलको मुख्य बजारबाट तिनाउ पारि रहेको यो ठाउँलाई जितगढी भनिन्छ ।

ऐतिहासिकस्थल भएर पनि लामो समय ओझेलमा र जीर्ण रहेको जितगढी किल्लाको नेपाली सेनाले मर्मत सम्भार गरेको थियो । मर्मत सम्भार र युद्धसँग सम्बन्धित संरचना निर्माण गरेको नेपाली सेनाले गत पुस २० गते राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

उपमहानगरले स्वामित्व लिएपछि यसको सञ्चालन र व्यवस्थापनका लागि कार्यविधि बनाएको हो । कार्यविधिअनुसार जितगढी किल्लाको संरक्षण, सञ्चालन र व्यवस्थापनका लागि व्यवस्थापन समिति बन्नेछ । जितगढी किल्ला व्यवस्थापन समितिको संरक्षकमा नेपाली सेनाका प्रधान सेनापति रहने व्यवस्था छ । बुटवल उपमहानगरपालिका प्रमुख व्यवस्थापन समितिको अध्यक्ष रहनेछन् ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी, सेनाका पृतनापति वा तोकिएको प्रतिनिधि, २२ नम्बर बाहिनी प्रमुख, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रहरी प्रमुख, इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, बुटवल १ र २ का वडाध्यक्ष व्यवस्थापन समितिको सदस्य रहनेछन् । उपमहागर प्रमुखले इतिहासकार प्रतिनिधि दुईजना र बुद्धिजिवी तथा समाजसेवी मध्येबाट एक महिलासहित तीनजनालाई सदस्य मनोनित गर्नेछन् ।

बुटवल उपमहानगरपालिकाका सहरी विकास महाशाखाका प्रमुख सदस्य सचिव रहने व्यवस्था छ । व्यवस्थापन समितिको बैठकमा आवश्यकता अनुसार स्वदेशी तथा विदेशी इतिहासविद जितगढी किल्लासँग सम्बन्धित विशेषज्ञलाई समेत आमन्त्रण गर्न सकिने कार्यविधिमा उल्लेख छ । बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधि नभएको अवस्थामा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले जितगढी किल्लाको व्यवस्थापन समितिको अध्यक्षको रुपमा काम गर्नेछन् ।

जितगढी किल्ला व्यवस्थापन समितिले किल्लाको दैनिक सञ्चालन, व्यवस्थापन नियमन गराउने र अन्य आवश्यक विषयमा उपमहानगरपालिकालाई सिफारिस गराउने अधिकार छ । त्यस्तै किल्लाको योजना तर्जुमा गर्ने, आर्थिक स्रोत व्यवस्थाका लागि उपमहानगरपालिकालाई सुझाव दिने, किल्ला भित्रका विभिन्न कक्षहरु सजावट गरि शैक्षिक र पर्यटकीय दृष्टिकोणबाट आकर्षक तुल्याउने लगायतका कार्य गर्ने कार्यविधिमा उल्लेख छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले अर्को कार्यपालिकाको बैठक बसेर कार्यविधिको कार्यन्वयन सुरु गरिने जानकारी दिए । ‘किल्लाको व्यवस्थित रुपमा सञ्चालन गर्न र अझ धेरै पर्यटकलाई आकर्षित गर्न कार्यविधि बनाएका हौं,’ उनले भने, ‘वैशाख ७ जितगढी दिवस अर्थात् विजयोत्सव पनि छ । त्यसकै अवसरमा कार्यविधि कार्यान्वयन सुरु हुन्छ ।’ कार्यविधि बनेपछि जितगढीमा पर्यटक आकर्षणका लागि विभिन्न गतिविधि अघि बढ्ने उपमहानगर प्रमुख पाण्डेले बताए ।

कार्यविधि कार्यान्वयनमा आएपछि जितगढी किल्लाको अवलोकन गर्न अब प्रवेश शुल्क लाग्ने भएको छ । कार्यविधिअनुसार सर्वसाधारण नेपाली नागरिकले जितगढी किल्ला अवलोकन गर्न २० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ । विद्यार्थीका लागि १० रुपैयाँमात्र शुल्क कायम गरिएको छ । विदेशी पर्यटकको लागि भने एक सय रुपैयाँको टिकट काट्नुपर्ने छ । चलचित्रको सुटिङ र म्युजिक भिडियोको लागि एक हजार रुपैयाँ लाग्ने छ । सयभन्दा बढीको उपस्थितिमा फिल्म सुटिङका लागि भने २५ सय रुपैयाँ तिर्नुपर्ने छ ।

विद्यालय लगायत शैक्षिक भ्रमणको शिलसिलामा आएका समूहलाई प्रतिबस एक सय रुपैयाँ, अन्य अवलोकन भ्रमणमा एक मुष्ट आउने समूहले पनि एक सय रुपैया शुल्क लाग्ने छ । अनुसन्धानका लागि आउने अनुसन्धानका लागि ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । त्यसका लागि उमेर खुल्ने परिचयपत्र देखाउनुपर्ने छ ।

नेपाली सेनाका बहालवाला सैनिक, सेनासँग सम्बन्धित तालिम अवलोकन तथा सेमिनारमा आउने व्यक्ति, किल्लाको डिजाइन तथा निर्माण कार्यमा संलग्न व्यक्तिले पनि नि:शुल्क प्रवेश पाउने छन् । सरकार तथा कुनै संघसंस्थाद्वारा जितगढीको प्रचारप्रसार गर्न निर्माण गरिने गैर व्यावसायिक वृत्तचित्रका लागि पनि प्रवेश गर्न शुल्क तिर्नुपर्ने छैन ।

अपांगता भएका, ह्विल चेयर प्रयोगकर्ता र यौनिक अल्पसंख्यकलाई पनि नि:शुल्क प्रवेश पाउने कार्यविधिमा उल्लेख छ । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले छिट्टै कार्यविधिअनुसार प्रवेश शुल्कको व्यवस्था कार्यान्वयन हुने जानकारी दिए ।


Facebook Comment


No ads found for this position