बागलुङको थामचौर पर्यटकीय गन्तव्य बन्दै

फागुन,  ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिका-७ थामचौर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको यस क्षेत्रको विकासका लागि गाउँपालिकाले निरन्तर लगानी गर्दै आएको छ ।

पछिल्लो समय घुम्ने संस्कृति बढेसँगै थामचौर क्षेत्रमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । उच्च पहाडी क्षेत्रमा रहेको थामचौरमा स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने मनोरम दृश्यावलोकनका लागि पर्यटक पुग्ने गरेका हुन् ।

गाउँपालिकाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसारलाई तीव्रता दिएपछि पर्यटकको सङ्ख्या बढ्न थालेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बताए ।

थामचौरमा पालिकाले मन्दिर र शौचालय निर्माण गरेको भन्दै खानेपानी व्यवस्थापन र वनभोज स्थल (पिकनिक) बनाउन थालिएको उनले बताए । पहिले पैदल यात्रामार्फत पुग्ने पर्यटक हिजोआज मोटरगाडीमा सहजै पुग्न सक्ने उनको भनाइ छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने भिमगिठे बजारदेखि १३ किलोमिटर उत्तरपट्टी रहेको थामचौरको विकासका लागि हालसम्म करिब रू ४० लाख बढी लगानी भइसकेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

मोटरबाटोले जोडिएपछि पछिल्लो समय बस र ट्याक्सीसमेत यहाँ पुग्न थालेका उनको भनाइ छ । अध्यक्ष अधिकारीले भिमगिठे बजारबाटबाट गाडीमा ४० मिनेट लाग्ने हुँदा बिदाको समय र विभिन्न चाडपर्वमा बाहिरी जिल्लाबाट समेत पर्यटक आउने गरेका बताए ।

आगन्तुकको सहजताका लागि ठाउँठाउँमा बस्ने चौताराको व्यवस्थापन तथा वन्यजन्तुका लागि वरपर पोखरीसमेत निर्माण भएको उनले जानकारी दिए ।

‘थामचौर बडिगाड गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्र हो, यसको विकासका लागि हामीहरु निरन्तर लागि रहेका छौँ । हरेक वर्ष बजेट व्यवस्थापन गरेर पर्यटकीय संरचना बनाउने र प्रचारप्रसारलाई तीव्रता दिएका छौँ’, अध्यक्ष अधिकारीले भने, ‘यहाँ धेरै मानिस वनभोजका लागि आउने हुँदा खानेपानीको समस्या छ, यसको समाधानका लागि अहिले काम भइरहेको छ ।’

वनभोजका लागि छुट्टै स्थल बनाउने योजना रहेको भन्दै उनले सडक पूर्वाधारको विस्तार भएकाले पर्यटकको सङ्ख्यामा थप वृद्धि हुने बताए । चालू आर्थिक वर्षमा पालिकाले सडक विस्तारका लागि रू २० लाख विनियोजन गरेको छ ।

बडिगाड-७ का पूर्ववडाध्यक्ष कृष्ण गुरुङले पिकनिकको सिजनमा बागलुङसहित अन्य जिल्लाबाट आउनेको भिड हुने बताए । खास गरी नयाँ वर्ष, होली पर्व (पूर्णिमा) का बेला पर्यटकले थामचौर भरिभराउ हुने उनको भनाइ छ ।

यहाँबाट बागलुङको विभिन्न स्थानसहित गुल्मीको रेसुङ्गा, तम्घास बजार, प्यूठान लगायतका ठाउँ एकै पटक देख्न सकिने गुरुङले बताए । धौलागिरीसहित दर्जन हिमाल नजिकैबाट अवलोकन गर्न सकिने हुँदा धेरै पर्यटक आकर्षित हुँदै गएको उनको भनाइ छ ।

‘थामचौरमा पालिकाबाट निरन्तर लगानी भएको छ । यसअघि यहाँ सडकको समस्या भएपछि अहिले सडक स्तरोन्नति भएको छ । सडक व्यवस्थित भएपछि पर्यटक बढेका छन्’, गुरुङले भने, ‘अग्लो स्थानमा यति सुन्दर ठाउँ छ, जहाँ पुग्यो भने धेरै पर्यटक लोभिन्छन् । केही वर्ष यता पूर्वधार थपिने क्रममा छन् । अहिले बिदा तथा विभिन्न पर्वमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।’


Facebook Comment


No ads found for this position