निरन्तर जलवर्षा गुफाभित्र छन् लड्केश्वर महादेव (भिडियोसहित)

काभ्रे जिल्लाको बल्थली गाउँमा गुफाभित्र छन् लड्केश्वर महादेव। खोला किनारको गुफामा जलहरिसहितका शिवलिंग छन्। छतबाट निरन्तर जलवर्षा भइरहन्छ।

मन्दिर नजिकै धर्मद्धार गुफा पनि छ। यहाँ विशेषतः ठूलो एकादशीमा मेला लाग्छ। अहिले यहाँ १०८ फिटको त्रिशुल बनेको छ।

पौराणिक कथाअनुसार उहिल्यै समुद्र मन्थन गर्दा विष निस्कियो। त्यसबाट जगतलाई बचाउन महादेवले विष पिए। बिषले उनलाई डाहा भयो। शितल ठाउँको खोजीमा महादेव यहाँको खोला किनारमा आएर बसे।

लड्केश्वर (१,१०० मिटर) आध्यात्मिक धाम त हुँदै हो, समग्र बल्थली नै पर्यटकीय गन्तव्य हो। बल्थली (१,७०० मिटर)मा चारैतिर हरियाली देखिन्छ। डाँडाबाट हेर्दा डोलबाट सर्लक्क माथि उठेका खेतका हरिया गरा देखिन्छन्। बस्ती नजिकै जंगल छ। हरपल चराको चिरबिर सुनिन्छ।

 

गाउँमा तामाङ, नेवार, बाहुन, क्षेत्री र सन्यासीलगायत मिलेर बसेका छन्। कृषि कर्म, सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्य अवलोकन गर्न पाइन्छ। आकाश उघ्रेका बेला उत्तरदेखि पूर्वसम्म गणेश, लाङटाङ, दोर्जेलाक्पा, गौरीशंकर, रोल्वालिङदेखि सगरमाथासम्म देखिन्छ।

गाउँलेहरु पशुपालन र कृषिमा निर्भर छन्। गाउँमा आलु, सुन्तला र दुध उत्पादन हुन्छ।

डाँडैडाँडाको बीचमा अबस्थित बल्थलीलाई केन्द्र मानेर धेरैतिर हाइकिङ गर्न सकिन्छ। यहाँबाट तीन घन्टामा नमोः बुद्ध र पनौती पुगिन्छ भने चार घन्टामा कामीडाँडा।

बल्थली गाउँमा केही रिसोर्ट खुलेका छन् भने होमस्टे सुविधा पनि छ।

कसरी पुग्ने ?
काठमाडौं–बल्थली ४० कि.मि., बसमा। काठमाडौंबाट बनेपा, पनौती हुँदै खोपासीसम्म बस चल्छन्। खोपासीबाट, सल्मेटार, न्यौपाने गाउँ हुँदै लड्केश्वर महादेव (१,१०० मिटर) र त्यहाँबाट कोलभन्ज्याङ, बल्थली ईको हिल रिसोर्ट, लड्कु खोलाको तिरैतिर हुँदै सल्मेटार, खोपासी पुलसम्म पदयात्रा। दूरी १२ किलोमिटर, समय ६ घण्टा। जिप र मोटरबाइक गाउँमै पुग्छन्।


Facebook Comment


No ads found for this position