लुम्बिनीमा थाई पर्यटक बढदै, श्रीलंकन पछ्याउँदै

मनोरञ्जन शर्मा

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने थाई पर्यटक बढदै गएका छन् । सन् २०२४ को पहिलो तीन महिना (जनवरी, फेब्रुअरी र मार्च) मा लुम्बिनी भ्रमणमा आउने तेश्रो मुलुकका पर्यटकमा थाईहरु अग्रपंतिमा रहेका छन् । लुम्बिनी विकास कोष सूचना शाखाका अनुसार तीन महिनामा ११ हजार ८२२ थाई पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

शाखाका अनुसार तीन महिनामा ४२ हजार ४७४ विदेशी पर्यटकले लुम्बिनी भ्रमण गर्दा २७ प्रतिशत भन्दा बढी थाइल्याण्डका पर्यटक मात्रै छन् । जनवरीमा ४ हजार ६, फेबु्रअरीमा ३ हजार ९८१ र मार्चमा ३ हजार ८३५ थाई पर्यटक लुम्बिनी आएको कोषले जनाएको छ । लुम्बिनीभित्र रहेको रोयल थाई मोनाष्ट्री (थाई राजकीय विहार) ले विभिन्न समयमा आध्यात्मिक कार्यक्रम आयोजना गरिरहँदा थाई पर्यटक बढेका हुन् ।

अघिल्लो महिना मात्रै थाइल्याण्डको धम्मकाया फाउन्डेशनले लुम्बिनीमा धम्मयात्रा कार्यक्रम आयोजना गरेको थियो भने थाई विहारले अर्डिनेशनलगायतका कार्यक्रम आयोजना गर्दा थाईहरु सहभागी हुन आउने गरेको कोषका सूचना अधिकृत डा. हरिध्वज राईले बताए । थाइल्याण्डबाट हवाईजहाज चार्टर गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएर लुम्बिनी जान समेत थाइहरुले सुरु गरेका छन् । थाइल्याण्डको जनसंख्या ७ करोड १८ लाख बढी छ ।

त्यहाँ बुद्ध धर्म मान्नेहरु ९२ प्रतिशत भन्दा बढी छन् । बुद्ध धर्म मान्नेहरु आफ्नो जीवनमा एक पटक बुद्ध जन्मस्थल लुम्बिनी पुग्नै पर्ने पवित्र स्थानका रुपमा लिने गरेका कारण पनि लुम्बिनीमा थाई बुद्धिष्ट पर्यटक आउने क्रम बढेको हो । थाइ पर्यटकहरु प्राय स्थलमार्गको बेलहिया नाका हुँदै लुम्बिनी आउने गरेका छन् । उनीहरु भारतको बोधगया, सारनाथ, कुशिनगर हुँदै अन्तिममा लुम्बिनी आउने गरेका छन् । थाइपछि लुम्बिनी भ्रमणमा आउने पर्यटकमा श्रीलंकन छन् ।

 

२०२४को पहिलो तीन महिनामा ८ हजार ४६२ श्रीलंकन लुम्बिनी पुगेका छन् । त्यसै गरी बर्मिजहरु (म्यान्मारी) ६ हजार ३५०, चिनियाँ ३ हजार ४३५ जना भियतानामी २ हजार ८१५, दक्षिण कोरियाका २ हजार ५७१ लगायत विभिन्न देशका छन् । तीन महिनामा ७० हजार १९५ भारतीय पर्यटक लुम्बिनी पुग्दा १ लाख ७० हजार १३९ नेपालीले लुम्बिनीलाई आफ्नो गन्तव्य बनाएका थिए ।

समग्रमा वर्ष २०२४ को पहिलो तीन महिनामा नेपाली, भारतीय र तेश्रो मुलुकका गरी २ लाख ८२ हजार ८०८ पर्यटक लुम्बिनी पुगेका छन् । लुम्बिनी भ्रमणमा आउने पर्यटकको मुख्य गन्तव्य मायादेवी मन्दिर, पवित्र पुष्करणी कुण्ड, अशोक स्तम्भ, त्यहाँका पुरातात्विक महत्वका वस्तु, विश्व शान्ति दीप, विश्व शान्ति घण्ट, केन्द्रिय नहरका साथै त्यहाँका विभिन्न स्वदेशी एवं विदेशी विहार छन् ।

पर्यटन व्यवसायी बेखुसी
गएको ३ महिनामा २ लाख ८२ हजार भन्दा बढी पर्यटक लुम्बिनी पुगे पनि त्यहाँको पर्यटन व्यवसाय फस्टाउन नसकेको व्यवसायीले गुनासो गरेका छन् । बास बस्ने गरी आउने विदेशी पर्यटक सबै लुम्बिनी भित्रका विहारमा बस्छन् ।

नेपाली र भारतीय प्राय एकै दिनमा फर्कने गरेको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । ‘जति पर्यटक आए पनि हाम्रा होटल खाली छन्, हामी निराश छौं’ ज्ञवालीले भने । विहारहरुले पर्यटक राख्ने क्रम झनै बढेपछि हामी आन्दोलनमा उत्रन बाध्य भयौं, १५ दिनमा अध्ययन गरी राय दिन समिति बनाइएको छ, हेरौ के राय आउँछ’ उनले भने । साभार कारोबार दैनिक


Facebook Comment


No ads found for this position